काठमाडौं- सांसद रामनारायण विडारीले शुल्कको नाममा अबैध ढंगले रकम असुल्ने मेडिकल कलेज सञ्चालकलाई कानुन बमोजिम कारबाही गरी विद्यार्थीलाई उचित रातहको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
राष्ट्रिय सभामा विशेष समय लिएर बोल्दै सांसद विडारीले विद्यार्थी ठग्ने कलेज सञ्चालकलाई मुलुकी फौजदारी संहिता अन्तर्गत सजाय गर्नु पर्ने बताएका हुन्।
दोहोरो शिक्षा प्रणालीको मार अहिलेसम्म नेपालीले भोग्दै आउनुपरेको भन्दै उनले शिक्षामा व्यापार गर्नेलाई कारबाही गर्नुपर्ने आवश्यकता औंल्याए।
'गरिबका, मध्यम वर्गका छोराछोरी मेडिकल कलेजमा पढ्ने भनेर भर्ना हुन गए। अबैध शुल्क लियो। त्यो शुल्क लिएर ५१ दिनसम्म त्यसको विवादमा पढाई अस्तव्यस्त भयो। कलेज बन्द भयो। यो एक प्रकारको कानुन विपरीतको काम थियो। यो एक प्रकारको घुमाएर ठगी गर्ने काम पनि थियो। कानुनी परिभाषामा यो एक प्रकारको ठगी नै हो' उनले भने, 'यस्तो ठगी काम गर्ने बेइमानी काम गर्ने मध्यम वर्गीय छोराछोरीहरुलाई पढ्न बाधा र अड्चन उत्पन्न गर्ने यिनीहरुलाई के मुलुकी फौजदारी संहिता अन्तर्गत सजाय गर्नुपर्दैन? अब उनीहरुको पैसा फिर्ता दिने भनेर पुग्छ?'