धनगढी– सेती अञ्चल अस्पतालमा उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्त र अस्पताल प्रशासनबीच ५ बुँदे सहमति भएको छ।
सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएकी धनगढी जुगेडाकी २२ वर्षिया रेखा थापाको बिहिबार मृत्यु भएको थियो। उनको मृत्युपछि आफन्तले अस्पतालमा प्रदर्शन गरेका थिए।
थापालाई ४ गते अस्पतालमा भर्ना गरिएको थियो। सामन्य रुपमा बच्चा जन्माउन नसकेपछि उनको शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि बच्चाको अवस्था सामान्य छ। तर, थापाको अवस्था भने गम्भिर बन्दै गएको थियो।
उनको अवस्था गम्भिर बन्दै गएपछि अस्पतालले उनलाई थप उपचारका लागि नेपालगन्ज रेफर गरेको थियो। उनको नेपालगन्ज जाने क्रममा बाटोमा नै मृत्यु भएको हो।
अस्पतालले समयमा नै उपचारको प्रक्रिया अगाडि नबढाएको र उपचारका क्रममा लापरवाही गरेको मृतक थापाको आफन्तको आरोप छ। मृतकका श्रीमान जयले शल्यक्रियापछि डाक्टरले दुई दिनसम्म उनको उपचारमा वेवास्ता गरेको बताए।
उनको मृत्युभएपछि आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका हुन्।
मृतकका आफन्तले प्रदर्शन गरेपछि धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर ओडको रोहबरमा आज शुक्रबार दुई पक्षबीच छलफल चलेको थियो। छलफलपछि ५ बुँदे सहमति भएको छ।
सहमति अनुसार उपचारका क्रममा के भएको हो भन्ने विषयमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने निर्णय भएको छ। छानबिन समितिका लागि बरिष्ठ स्त्रीरोग विशेषज्ञ पठाइदिन संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुरोध गर्ने निर्णय भएको छ।
यस्तै, नवजात शिशुको निशुल्क उपचार गर्ने, बच्चको शिक्षाको व्यवस्था सामाजिक विकास मन्त्रालयले गर्ने, बच्चाको पालनपोषणका लागि मन्त्रीपरिषद्मा प्रस्ताव लैजाने, बच्चा २४ वर्ष हुँदासम्म अस्पतालमा निशुल्क उपचार गर्ने सहमति पनि भएको छ।
हेरौं सहमतिका बुँदा

