रुपन्देही– प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल मेडिकल कलेज पूर्वाधार विकास निर्माण आयोजनाको उद्घाटन गरेका छन्। सरकारकाे 'एक प्रदेश एक मेडिकल कलेज' कार्यक्रमअन्तर्गत प्रदेश ५ का लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा साे कलेज निर्माण हुन लागेकाे हाे।
उद्घाटन कार्यक्रममा बाेल्दै प्रधानमन्त्री ओलीले मेडिकल कलेज सुविधासम्पन्न र स्तरीय सेवा प्रदान गर्ने किसिमले स्थापना गर्न जरुरी रहेकोमा जाेड दिए। प्रधानमन्त्री ओलीले रोगको निदान र उपचारका लागि अन्धविश्वास हटाई वैज्ञानिक पद्धति अपनाएर अघि बढ्नुपर्ने बताए। भौतिक पूर्वाधार विकास निर्माणमा सरकार गम्भीर ढङ्गले लागेकाे उनकाे भनाइ थियाे।
'जनता सधैँ पीडामा बस्ने होइन, अब खुसी र सुखी बन्न पाउनुपर्छ, अब त्यो आत्मविश्वास लिएर सरकार अघि बढेको छ', ओलीले भने। प्रधानमन्त्री ओलीले सरकारले गरेको राम्रो कामको प्रचार गर्नुको साटो केही मिडियाले गलत प्रचार गरेको दाबी गरे। उनले भने, 'आँखा चिम्लेर सरकारको विरोध गरिएको छ, आँखा खोल्दा जताततै विकास र समृद्धि देखिन्छ, यसमा केही मिडिया र केही बुद्धिजीवी सहभागि छन्।'
'राउतसँगको सहमतिले विखण्डनको अन्त्य भयो भनेर समेत विरोध भयो, अरुको के कुरा?', प्रधानमन्त्री ओलीले भने, 'त्यसकारण सरकारविरुद्ध भएका गलत प्रचार र भ्रममा नपराैं।'
सो अवसरमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जनतालाई स्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि सरकारले ‘एक प्रदेश एक मेडिकल कलेज’को अवधारणा अगाडि सारेको बताए। 'सरकारकाे एउटा सन्तानका रुपमा तिलोत्तमाको आँगनमा निर्माण हुँदैछ, यसलाई सबैले आफ्नो सन्तानका रुपमा माया गर्नु जरुरी छ', पौलेलले भने।
प्रदेशमै स्वास्थ्योपचारका क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति तयार गर्न मेडिकल कलेज महत्वपूर्ण सावित हुने पौडेललको दाबी छ।
तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको काम समयमै पूरा गर्नतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए।