काठमाडौं– संघीयता कार्यान्वयनपछि कर्मचारी व्यवस्थापनसहित अन्य प्राविधिक विषयको अन्यौलताका कारण स्वास्थ्यका कार्यक्रमको रिर्पोटिङ प्रभावित बनेको छ।
कार्यक्रम कार्यान्वयनको अवस्थाको प्रभाव राष्ट्रिय क्षयरोग कार्यक्रममा पनि देखिएको छ। क्षयरोग कार्यक्रममा बार्षिक रुपमा कति बिरामी कुन जिल्लामा बढे, कतिले औषधि खाइरहेका छन्, कति दोहोरिए, कहाँ औषधि पुगेन? लगायतका सम्पूर्ण कार्यक्रमको रिर्पोट जिल्ला हुदैँ केन्द्रसम्म आइपुग्थ्यो।
तर, संघीयता पछि भने स्वास्थ्यका कार्यक्रम प्रदेश र स्थानीय तहमा गएपछि कसले कसरी रिर्पोट गर्ने भन्ने अलमल भएको हो।
विश्व क्षयरोग दिवस २०१९ को अवसरमा राष्ट्रिय क्षयरोग केन्द्रद्वारा आयोजित कार्यक्रममा केन्द्रका निर्देशक डा भीमसिंह तिंकरीले अझैपनि केही गाउँपालिकाबाट गत वर्षको क्षयरोगीको तथ्यांक आउन बाँकी रहेको बताए।
उनले भने, ‘पहिले स्वास्थ्य मन्त्रालयको एकद्वार प्रणालीबाट काम हुने भएकाले जनशक्ति सजिलै काम गर्थे तर अहिले सबै स्थानमा पर्याप्त जनशक्ति नहुने र कसले कसरी गर्ने भन्ने अन्योल भएको हो।’
क्षयरोग कार्यक्रमको क्षयरोगका बिरामी पत्ता लगाइ उपचारमा ल्याउने लक्ष्यलाई यो विषय प्रभावित पार्न सक्ने चुनौति सरकारलाई छ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक वर्ष क्षयरोगका ४५ हजार नयाँ बिरामी थपिने गर्छन्। निर्देशक तिंकरी भन्छन्, ‘नयाँ र पुराना गरी नेपालमा करिब ६० हजार बिरामी छन्। गत आर्थिक वर्षमा ३२ हजार ४७४ नयाँ बिरामी पत्ता लगाई उपचारमा राखिएको छ।’
गत आर्थिक वर्षमा १ लाख ९६ हजार ३६२ जना क्षयरोग आंशका गरिएका व्यक्तिको विभिन्न विधिबाट खकार परीक्षण गरिएको थियो।
क्षयरोगको उपचारले पूर्णरुपमा निःशुल्क गरिएको भएपनि सबै बिरामीलाई उपचारमा ल्याउन सकिएको छैन। सरकारीका साथै निजी स्वास्थ्य संस्थामा पनि क्षयरोगीको उपचार हुने गर्छ।
निजी स्वास्थ्य संस्थामा करिब १५ देखि २० प्रतिशत बिरामीको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयको अनुमान छ। यद्यपी यसबारे आधिकारीक अध्ययन भएको छैन।
सरकारले निजी स्वास्थ्य संस्थाबाट उपचार गराइरहेका बिरामीलाई पनि प्रतिवेदन बनाई बुझाउनुपर्ने रोगको सूचीमा सूचीकरण गर्ने तयारी गरेको छ।
निर्देशक तिंकरीले क्षयरोग अनिवार्य रुपमा प्रतिवेदन गर्नुपर्ने रोग सूचीमा परेपछि निजीमा उपचार गराइरहेका बिरामी पनि राष्ट्रिय कार्यक्रमको प्रणालीमा आउने बताए।
गतवर्ष सम्पन्न संयुक्त राष्ट्रसंघको बैठकले सुसुप्त रुपमा रहेको क्षयरोगको व्यवस्थापन गर्नुपर्ने विषयलाई उठाएको थियो । सोहीअनुरुप स्वास्थ्य मन्त्रालयले सुसुप्त क्षयरोग व्यवस्थापनको नीति तयार गरेको छ।
हाल एकीकृत स्वास्थ्य प्रणाली मार्फत ४ हजार ३२३ उपचार केन्द्रबाट डट्स उपचार सेवा, ६०४ प्रयोगशाला, ५६ वटा जीन एक्सर्पट केन्द्र र २ वटा राष्ट्रिय प्रषण प्रयोगशालाबाट क्षयरोगको निदान सेवा उपलब्ध हुदैँ आएको छ ।
क्षयरोग कार्यक्रममा थालिएका अन्य कार्यक्रम
बिरामीले नियमित रुपमा उपचार केन्द्रमा आइ औषधि सेवन गर्नुपर्ने भएकोले बिरामीको घरमै औषधि खुवाउन समुदायमा आधारित बहऔषधि प्रतिरोधी क्षयरोग व्यवस्थापन कार्यक्रम नमुनाको रुपमा चालु आर्थिक वर्षबार्ट सुरु हुने बताइएको छ।
क्षयरोगीले २० महिनासम्म लामो समय औषधि सेवन गर्नुपर्ने झन्झटिलो उपचार अवधि घटाउदैँ ९ देखि १२ महिनाको समयमा झार्न नमुनाको रुपमा ६ उपचार केन्द्रमा सुरु गरेको छ । यो नमुनाको मूल्यांकन सकारात्मक भए यो कार्यक्रम देशभर गर्ने सरकारको योजना छ । त्यसका साथै, विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको दीर्घकालिन क्षयरोग निवारण रणनीति अबलम्ब गरी पञ्चवर्षिय राष्ट्रिय रणनीति योजना (२०१६—२०२१) कार्यान्वयनमा ल्याएको छ । त्यसबाहेक केन्द्रियस्तरको छाती रोग अस्पताल पनि निर्माणको क्रममा छ।
क्षयरोगीको संख्या पत्ता लगाउन सर्भेक्षण
यसबाट नेपालमा क्षयरोगको अवस्था कस्तो छ, बिरामी निको हुने दर कस्तो छ, नयाँ बिरामी थपिने दर कस्तो छ, नयाँ र पुराना क्षयरोगी कति छन्, उपचार विधिमा सुर्धानुपर्ने लगायतका कुरा पत्ता लगाउन राष्ट्रिय क्षयरोग सर्वेक्षण थालिएको छ। केन्द्रले सन् २०१७ बाट सर्भे सुरु गरेको हो।
देशभरका हिमाल, पहाड र तराईलाई समेट्ने गरी ५५ जिल्लाका ९९ वटा क्लस्टर छुट्याई करिब ५७ हजार ६१० जनाको प्रत्यक्ष टोलमै पुगेर अत्याधुनिक डिजिटल प्रविधिद्धारा रोग निदान र परीक्षणको माध्यमबाट क्षयरोगको वास्तविक अवस्था आँकलन गर्न सर्वेक्षण भएको छ।
नेपाल सरकारको रु २३ करोड, ग्लोबल फण्डको रु १७ करोड, नर्वेको लङ हेल्थ फाउण्डेसनको रु ३ करोड गरी रु ४३ करोडको लागत र जापान आइटिएको प्राविधिक सहयोगमा सर्वेक्षण गरिरहेको छ।
क्षयरोग केन्द्रका सर्वेक्षण संयोजक अनिल थापाले ५८ जिल्लामा हुने सर्वेमा का लागि करिब रु ६० हजारको छातीको एक्सरे, खकारलगायतको परीक्षण हुन बताए।
सर्वेक्षणमा विशेषज्ञ टोली खटाइएको छ । यसमा आउनेको छातीको एक्सरे गरिने, क्षयरोगका लक्षण देखिएकाको खकार लिने र केन्द्रको ल्याबमा लगेर परीक्षण गरिनेछ।
१५ वर्षमुनिका बालबालिकामा हुने क्षयरोगको संख्या कति छ भन्ने अनुमानित तथ्यांकसमेत आउनेछ । साथै क्षयरोगका शंकास्पद व्यक्तिको आर्थिक, सामाजिक अवस्था कस्तो छ, उनीहरु कस्ता स्वास्थ्य संस्थामा उपचारमा जाने गरेका छन् भन्ने तथ्यांकसमेत आउने बताइएको छ।
हरेक वर्ष मार्च २४ लाई विश्व क्षयरोग दिवसको रुपमा मनाउने गरिन्छ। सन् १८८२ मार्च २४ मा डा रोर्वट कोचले क्षयरोगको किटाणाु पत्ता लगाएका थिए। त्यसको सय वर्षपछि १९८२ मार्च २४बाट यो दिवस मनाउन थालिएको हो।