काठमाडौं– संसदको शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजमा देखिएका बेथितिहरु छानबिन गर्नका लागि उपसमिति गठन गर्ने भएको छ।
समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले उपसमिति गठन गर्ने अधिकार सभापति जयपुरी घर्तीलाई दिएको हो।
समितिको बैठकमा कांग्रेस सांसद गगन थापाले उपसमिति गठन गरेर मेडिकल कलेजका बेथितिहरु छानबिन गर्न माग गरेका थिए।
'मेडिकल कलेजको शुल्कको विषय प्रत्येक साल आउँछन्। शुल्क सरकारले निर्धारण गरेको छ। मेडिलक कलेजले त्यसअनुसार काम गर्न मान्दैनन्', थापाले बैठकमा भने, 'शुल्कको विषय बाहिर आए पनि बाहिर नआएका धेरै कुराहरु छन्। समितिले एउटा छानबिन समिति बनाएर मेडिकल कलेजहरु जाने, हेर्ने, गर्यो भने धेरै कुराहरु पत्ता लाग्छ। बन्दै गरेको चिकित्सा शिक्षा आयोगलाई पनि हाम्रो छानबिन समितिको 'फाइन्डिङ' बताउन सकिन्छ। यसले सरकारलाई मद्दत गर्छ।'
उनले अहिलेसम्म सार्वजनिक भएका विषय सञ्चारमाध्यमबाट आएको भन्दै उपसिमिति नै गठन गरेर छानबिन गर्ने हो भने अझ धेरै कुरा बाहिर आउने बताए। उपसमिति बनाएर त्यसको अध्ययनको आधारमा हाम्रो समिति पनि सूचित र सरकारसँग पनि सँगसँगै काम गर्न सकिने उनको तर्क थियो।
नेकपा सांसद खगराज अधिकारीले शुल्क, पढाइ जस्ता विषयको कार्यादेश दिएर आफैंले तत्काल उपसमिति गठन गर्न सभापतिलाई आग्रह गरेका थिए। 'हामी सबै उपसमिति गठन गर्न सहमत छौं भने त्यतिका लागि अर्को बैठक किन कुर्नु?', अधिकारीले आग्रह गरेका थिए।
सभापति घर्तीले अर्को दिन बैठक बसेर उपसमिति गठन गर्ने बताएका थिएन्। उनले उपसमिति गठन गर्ने विषयमा नहतारिन सदस्यहरुलाई आग्रह गरिन्।
तर अधिकारीले अर्को दिन गणपुरक संख्या नै नपुग्न सक्ने भन्दै आजै उपसमिति गठन गर्न आग्रह गरेका थिए।
अधिकारीको तर्कमा थापाले पनि जोड दिएका थिए। 'उपसमिति गठन गर्नुपर्छ भन्नेमा सबैजना सहमत भइसकेपछि सभापतिले गठन गरे भइहाल्यो नि', थापाले भने।