काठमाडौं– देशको आर्थिक विकासका लागि भन्दै सरकारले चैत १५ र १६ गते अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने भएको छ। सम्मेलनमा ३८ देशका ६ सयभन्दा बढी लगानीकर्ता सहभागी हुनेछन्।
सम्मेलनमा सरकारका तर्फबाट ४६ ओटा परियोजना अगाडि सार्ने तयारी भएको छ। उक्त परियोजनामध्ये स्वास्थ्य क्षेत्रका लागि बनाइएको प्रस्ताव हो, धुलिखेल मेडिसिटी।
सरकारले यो परियोजनाका लागि ८ अर्ब १४ करोड लगानी लाग्ने लक्ष्य राखेको छ। उक्त परियोजनामा लगानी गर्न सरकारले सम्मेलनमा सहभागि हुने लगानीकर्तालाई आह्वान गर्नेछ।
सरकारले गरेको प्रस्ताव अनुसार उक्त परियोजनामा लगानी गर्न कुनै देशका लगानीकर्ता इच्छुक भएमा धुलिखेलमा कम्तिमा ३ सय शय्या क्षमताको नसर्ने रोगको उपचार केन्द्रित शिक्षण अस्पताल निर्माण हुनेछ।
सरकारको योजना अनुसार उक्त परियोजना अन्तर्गत ट्रमा सेन्टर, नसर्ने रोगको अनुसन्धान केन्द्र, योगा तथा आयुर्वेद केन्द्र लगायतका सेवा सुविधा हुनेछन्।
उक्त परियोजना अनुसार पूर्वाधार निर्माण ३ वर्षभित्र सकिने प्रस्ताव गरिएको छ।
उक्त परियोजनामा लगानीगर्नेले ३० वर्षको सम्झौता सरकारसँग गर्ने प्रस्ताव पनि छ।