काठमाडौं– संघीय संरचना अनुसार कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्वास्थ्यको ११ औं तहको समायोजनमा असफल भएको छ।
स्वास्थ्य सेवा अन्तर्गतको ११ औं तहको समायोजन मिलाउन नसक्ने भएपछि मन्त्रालयले उक्त तहका कर्मचारीको समायोजन मिलाउन स्वास्थ्य मन्त्रालयलाई नै जिम्मा दिएको छ। संघीय मन्त्रालयले उक्त फाइल संघीय मन्त्रालयबाट गर्न असफल रहेपछि स्वास्थ्यमा नै फिर्ता गरेको हो।
संघीय मामिला मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले अरु तहका कर्मचारीको पनि समायोजन मिलाउने प्रयास जारी राखे पनि सफल भने हुन सकेको छैन। ‘११ औं तहको त मिलाउन कठिन भएपछि स्वास्थ्यमा नै पठाइएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘यस्तै हो भने स्वास्थ्यका अरु तहको पनि मिलाउन कठिन हुन्छ।’
सरकारले स्वास्थ्य सेवाका १ सय ५० जना ११ औं तहका कर्मचारीको बरिष्ठताका आधारमा सूची सार्वजनिक गरेको थियो। तर, उक्त सूची सार्वजनिक भएको केही समयपछि सरकारले पाँच अस्पताललाई संघमा राख्ने निर्णय गरेको थियो। पाँच अस्पताल संघमा आउने निर्णयपछि स्वास्थ्यले समायोजनको सूची संशोधन गर्न पत्र पठाएको थियो।
यसका साथै समायोजनका क्रममा सरकारी डाक्टरले आन्दोलन समेत गर्दै आइरहेका छन्। उनीहरुले सरकारले अहिले गर्न लागेको समायोजनको विरोध गर्दै देशकार अस्पतालको सेवा ठप्प समेत पारेका थिए।
संघीय संरचना अनुसार स्वास्थ्य मन्त्रालयले फेरि नयाँ संगठन संरचना बनाउने काम अगाडि बढाएको छ। नयाँ संरचना बनाउने काम अगाडि बढेका कारण अरु तहको समायोजन पनि केही समय रोकिने सम्भावना भएको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।