काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोशी अञ्चल अस्पतालको विषयमा गरिएको अध्ययन सहित प्रदेशको स्वास्थ्य अवस्था, समस्या र भावी कार्यदिशासम्बन्धी प्रतिवेदन बुझाएका छन्।
सामाजिक विकास मन्त्री घिमिरेले आइतबार स्वास्थ्य मन्त्रालयमा मन्त्री यादवलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्। उक्त प्रतिवेदनमा प्रदेश १ को जनताको भरोसाको कन्द्रका रुपमा रहेको कोशी अञ्चाल अस्पतालको अवस्था, समस्या र सामाधानका उपायहरु रहेका छन्।
यसका साथै प्रतिवेदनमा प्रदेश १ को समग्र स्वास्थ्य अवस्था, समस्या, भावी कार्यदिशा र संघीय स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने सहयोग समेत छ।
प्रतिवेदन बुझ्दै मन्त्री यादवले गुणस्तरीय स्वास्थ्य सेवाको विकास र विस्तारका लागि मन्त्रालय सहयोग गर्न तयार रहेको बताए। उनले आगामी बजेटमा यी विषयहरु समावशे गर्ने जानकारी पनि दिए।
सामाजिक विकास मन्त्री घिमिरेले कोशी अञ्चल अस्पताल प्रदेशकै ऐना भएकाले यसलाई प्रादेशिक स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपाम विकास गर्न लागिएको जानकारी दिए। उनले अस्पतालको संरचना र अवस्था कमजोर रहेकाले यसको विकास र विस्तार तत्कालै अगाडि बढाउनु पर्नेमा जोड दिए।
प्रतिवेदनसँगै स्वास्थ्य मन्त्री यादवलाई प्रदेश १ को समग्र स्वास्थ्य अवस्थाका विषयमा प्रदेशको स्वास्थ्य निर्देशनालयका प्रमुख भोगेन्द्र डोटेलले पावर पोइन्ट प्रस्तूतीकरण समेत गरेका थिए।
उक्त प्रस्तूतीकरणमा प्रदेश १ मा कोशी अञ्चलसहित मेची अञ्चल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका गरी तीन ठूला अस्पताल, १२ वटा जिल्ला अस्पताल, ४ वटा स्थानीय अस्पताल, ४४ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ६ सय ४६ वटा स्वास्थ्य चौकी, ३ वटा अञ्चल आयुर्वेद औषधालय, ११ वटा जिल्ला आयुर्वेद केन्द्र र ५० वटा आयुर्वेद औषधालय रहेको जानकारी दिइएको थियो।