काठमाडौं– रुपेन्देहीमा प्रसूति अस्पताल खोल्न सरकारले लगानी सम्मेलन २०७५ मा प्रस्ताव राख्ने भएको छ । गौतम बुद्ध इन्टरनेसनल म्याटरनिटी प्रोजेक्ट नाम दिइएको उक्त अस्पताल ‘मेडिकल टुरिजम’का लागि सञ्चालनमा ल्याउने प्रस्ताव गर्न लागिएको हो। नेपाल सरकारको तर्फबाट प्रस्ताव गर्न लागिएका ५० परियोजनामध्ये यो पनि एक हो।
दश एकड क्षेत्रफलमा बनाइने प्रस्ताव गरिएको अस्पताल पाँच वर्षभित्र निर्माण पूरा हुनेछ । अस्पतालका लागि झन्डै साढे चार अर्ब प्रस्ताव गरिएको छ।
शान्तिका प्रतिक गौतम बुद्ध जन्मेको ठाउँमा सन्तान जन्माउने अवसर उक्त अस्पतालले दिने भनिएको छ । अस्पतालमा प्रसूति तथा स्त्रीरोग, बालारोग, आइभीएफ, कार्डियोलोजी, न्युरोलोजी, पल्मानोलोजी, अर्थोपेडिक्स, युरोलोजी, प्याथोलोजी, रेनल साइन्सेज, साइकोथेरापी, इमर्जेन्सी ट्रमा सेन्टर रहने बताइएको छ।
उक्त अस्पतालमा एन्टरनेटल र नियोनेटल केयर युनिटमा केन्द्रीत हुनुका साथै प्राकृतिक विधिबाट गरिने उपचार सेवाका लागि मायादेवी वेलनेस एन्ड मेडिटेसन सेन्टर रहेनछ ।
अत्याधुनिक उपचार सेवा हुने अस्पतालमा ल्याब, ब्लड बैंक, डायग्नोष्टिक सेवा हुनेछन्। सँगै एउटा अपार्टमेन्ट र गेस्ट हाउसको परिकल्पना गरिएको छ । जहाँ लामो समय उपचार सेवामा रहनुपर्ने आमा र बच्चाका साथै उनीहरुका आफन्त बस्ने व्यवस्था हुनेछ।