धनगढी- कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालको प्रसुतिगृह तीन दिन यता सुनसान भएको छ।
बिहिबार धनगढी उपमहानगरपालिका-१२ बस्ने रेखा थापाको मृत्युपछि अञ्चल अस्पतालमा बिरामीको चहलपहल छैन। सुत्केरी हुन आउने महिलाहरु अन्यत्रै जान थालेका छन्।
गत ४ गते अञ्चल अस्पतालमा सुत्केरी भएकी थापाको बिहिबार कोहलपुर अस्पतालमा मृत्यु भएको थियो। सेती अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै शुक्रबार आफन्तहरुले आन्दोलन गरेका थिए।
सोमबार स्वास्थ्य खबरको टिम अस्पताल पुग्दा प्रसुति गृहका एक बेडबाहेक अन्य सबै खाली थिए। प्रसुति गृहमा नर्स र स्वास्थ्यकर्मीबाहेक बिरामीको उपस्थिति ह्वात्तै घटेको छ।
‘तीन दिन यता प्रसुति गराउन महिलाहरु आएका छैनन्। सोमबार तीन जना महिला प्रसुति गृहमा भर्ना भएका छन्,’ सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले भने, ‘अस्पतालबारे गलत प्रचारका कारण प्रसुति गराउन महिलाहरु आएका छैनन्।’
उनले शुक्रबारकोे घटनाले अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी तथा नर्सहरुको मनोबल पनि घटेको बताए।
डाक्टर पाण्डेले भने, ‘अहिले जटिल प्रकारका प्रसुति गराउने महिलाहरुलाई डाक्टरले पहिचान गरेर रिफर गर्ने गरिएको छ।’
सुदूरपश्चिमको सुविधा सम्पन्न अस्पतालका रुपमा अञ्चल अस्पताललाई लिइने गरेको छ।
अञ्चल अस्पतालमा दैनिक २५ महिला प्रसुति गराउने गरेका थिए।
२५ प्रसुति मध्ये २० सामान्य र पाँच जनाको अप्रेसनमार्फत प्रसुति गराइने गरेको थियो।
अञ्चल अस्पतालको प्रसुति गृहमा ७० वटा बेड छन्। जसमध्ये तीन वटा अप्रेसनका लागि छुट्याइएको छ।