जनकपुर- प्रदेश २ को जनकपुरमा सुरक्षित मातृत्व र नवजात शिशु स्याहारसम्बन्धि नीति संवाद कार्यक्रम सम्पन्न भएको छ।
प्रदेश २ का सबै आठ जिल्लाका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीसँग गरिएको छलफलको आधारमा अब गर्नुपर्ने कार्यक्रम तथा हालका कमजोरीबारे छलफल भएको थियो।
सेभ द चिल्ड्रेन तथा पब्लिक पोलिसि पाठशालाको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीले सानो प्रदेशमा ठुला समस्या भएको उल्लेख गर्दै संघीयताका सुरूवाती दिनमा काम गर्न अप्ठ्यारो भएको बताए।
'तिनै सरकार बन्यो तर कसको क्षेत्र कुन हो भन्ने अहिले पनि अन्योल भइरहन्छ,' उनले भने। सम्पूर्ण कानुन नबनेर पनि समस्या भएको भन्दै कानुन बनेपछि धेरै हल हुने उल्लेख उनले गरे।
सामाजिक विकास मन्त्रालयका सचिव देवीराम भण्डारीले कतिपय स्वास्थ्य कर्मचारीले तलब नपाएको अवस्था रहेको बताए। 'पब्लिक प्राईभेट पार्टनरसिपमा अघि बढ्नुपर्छ,' भण्डारीले भने, 'स्वास्थ्यक्षेत्रलाई राम्रो बनाउन प्रदेश निर्देशनालयलाई दिएका छौं। प्रदेश, स्थानीय तहले किन्ने औषधि किन्ने त्यो प्रष्ट हुनुपर्छ। हामीले बजेट निर्देशनालयमा पठाएका छौं। मन्त्रालयले स्वास्थ्य ऐन, नीति बनाउन छलफलमा छौं।'
प्रदेश निर्देशनालयका प्रमुख डा प्रमोद यादव, प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झा, क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पंजियार, सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक डा अञ्जना केसी थापालगायतले सुरक्षित मातृत्वलाई प्राथमिकता नदिने हो भने सरकारले हासिल गरेका सूचक गुम्ने खतरा रहेको बताए।
पब्लिक पोसिलि पाठशालाले सेद द चिल्ड्रेनको सहयोगमा प्रदेश २ का आठ जिल्लाका १ सय ३६ वटै स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता भएका कार्यशालाबाट प्राप्त सुझावसहितको अवधारणा पत्र प्रदेशका प्रमुख सचिवलाई बुझाएको थियो । अवधारणा पत्र बुझ्दै प्रमुख सचिव सुवेदीले आगामी बजेट, नीति कार्यक्रममा कार्यक्रम बनाउन सहयोगी हुने बताए।
कार्यक्रममा जनस्वास्थ्यविद् पर्शुराम श्रेष्ठले प्रदेश २ का स्वास्थ्य अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए।