काठमाडौं – संघीय संरचना अनुसार कर्मचारी समायोजन कार्य अगाडि बढाइरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै कर्मचारीको समायोजन सकिएको दावी गरेको छ।
मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै कर्मचारी समायोजन टुंगिएको घोषणा गर्न लागेको हो। यो घोषणासँगै स्वास्थ्यका कर्मचारीको समायोजन सूची पनि सार्वजनिक हुने बताइएको छ।
तर, स्वास्थ्यका कर्मचारीको समायोजनमा भने विवाद आउने सम्भावना रहेको सामान्य प्रशासनका कर्मचारी बताउँछन्। उनीहरुका अनुसार स्वास्थ्यका कर्मचारीको पद र तहगतका विषयलाई स्पष्ट रुपमा समाधान नगरी समायोजन टुंग्याएका कारण विवाद आउने खतरा बढेको हो।
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उपलब्धि देखाउन हतार गरेका कारण स्वास्थ्यका कर्मचारीको समायोजनमा समस्या देखिएको एक कर्मचारीले जानकारी दिए। ‘उहाँले समायोजनको विषय सकियो भनेर उपलब्धि देखाउने हतार गर्नुभयो,’ ती कर्मचारीले भने, ‘जसका कारण स्वास्थ्यका धेरै विषयमा विवाद आउने खतरा छ।’
उनका अनुसार दुई दिनको अवधिमा रातभरी बसेर भए पनि स्वास्थ्यका कर्मचारीको धेरै विषय मिलाउने प्रयास भएको थियो।
स्वास्थ्यमा करिब २८ हजार कर्मचारी कार्यरत छन्। अहिले समायोजनको सूची सार्वजनिक हुँदै स्वास्थ्यका ४, ५, ६ र ७औं तहमा सबैभन्दा बढी विवाद आउने देखिएको हो।
सामान्यले ११ बजे पत्रकार सम्मेलन गरेर कर्मचारी समायोजन सकिएको घोषणा गर्न लागेको हो।