काठमाडौं- सरकारले संघीय संरचना अनुसार कर्मचारीको समायोजन सकिएको घोषणा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै कर्मचारीको समायोजन सकिएको घोषणा गरेको हो।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य, निजामति सहित सबै सेवाका कर्मचारीको समायोजन सकिएको घोषणा गरिएको हो। तर, उक्त घोषणा हुँदासम्म स्वास्थ्यका कर्मचारीको समायोजन सूची भने सार्वजनिक भएको छैन।
मन्त्रालयका अनुसार स्वास्थ्यका सहित एक लाख ३१ हजार कर्मचारी समायोजन भएका हुन्। जसमध्ये स्वास्थ्यका २७ हजार ३ सय २ जना कर्मचारी समायोजन भएको तथ्यांक सार्वजनिक गरिएको छ।
कर्मचारी समायोजनका क्रममा स्वास्थ्य सेवाका ६ सय ५७ जना कर्मचारी भने फाजिलमा परेका छन्। स्वास्थ्य सेवा अन्तर्गत स्थानीय तहमा २२ हजार १ सय ७६, प्रदेशमा २ हजार ३ सय ९४ र संघमा २ हजार ७५ जना कर्मचारी समायोजन भएका छन्।