डडेल्धुरा- डडेल्धुरा अस्पतालले आइतबार बेलुका अनसनरत प्राडा. गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै एक प्रेस विज्ञप्ति जारी गर्यो। केसीको स्वास्थ्य बिग्रिएपछि थप उपचारका लागि स्थानान्तरण गर्न डडेल्धुरा अस्पतालले आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो।
विगत ८ दिनदेखि डडेल्धुरामा डा. केसी अनसन बसिरहेका छन्। निजी घरबाट डडेल्धुरा अस्पताल सारिएका डा. केसीको ब्लड प्रेसर घट्न लागेको, मुटुको चालमा वृद्धि भई समस्या देखिएको, रगतमा अक्सिजनको मात्रा घटेको, मिर्गौलामा समस्या देखिएको अस्पतालले जानकारी दिएको छ। शारीरिक अवस्था बिग्रँदै गएको भन्दै अस्पतालले भौतिक सुविधासम्पन्न स्थानमा स्थानान्तरण गर्न आवश्यक भएको बताइससकेको छ।
‘अस्पतालमा थप उपचारका लागि आवश्यक पर्ने आइसियू सेवा, एबिजी सेवा, दक्ष जनशक्ति उपलब्ध नभएकाले केसीको स्वास्थ्य स्थितिको गाम्भीर्यतालाई मध्यनजर गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक देखिएको छ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो।
बिहानै डडेल्धुरा पुग्यो हेलिकोप्टर
केसीको स्वास्थ्य अवस्था बिग्रिएकाले सुविधा सम्पन्न अस्पतालमा लैजानुपर्ने भन्दै अस्पतालले विज्ञप्ति निकालेपछि जिल्ला प्रशासन कार्यालयले सेनाको हेलिकोप्टर पठाइदिन गृह मन्त्रालयमा अनुरोध गरेको थियो।
प्रशासनको अनुरोधलाई स्वीकार गर्दै गृहले सोमबार बिहान नेपाली सेनाको एनए-०५५ हेलिकोप्टर डडेल्धुरा पठायो।
बिहान ८ बजेपछि अमरगढी नगरपालिका–१ दहमा रहेको नेपाली सेनाको रणबम गण ब्यारेकमा सो हेलिकोप्टर अवतरण गर्यो। हेलिकोप्टर सुर्खेतबाट आएको थियो।
हेलिकोप्टर डडेल्धुरा पुगेसँगै प्रहरी प्रशासनले डा.केसीलाई लैजान बल प्रयोग गर्न खोज्यो। तर त्यो प्रयास असफल भयो। डा.केसीले काठमाडौं नजाने अडान राखे।
‘प्रहरी-प्रशासनको गुन्डागर्दी चल्दैन’
आफूले अघि सारेका माग पूरा नभएसम्म डडेल्धुराबाट अन्यत्र नजाने अडान केसीको छ। सोमबार बिहान प्रहरी प्रशासनले बल प्रयोग गरेर काठमाडौं लैजाने प्रयास गरेपछि केसीले प्रहरी–प्रशासनको ‘गुन्डागर्दी चल्दैन’ भन्ने अभिव्यक्ति दिए।
‘म ठीक छु। यहाँ प्रहरी प्रशासनको गुन्डागर्दी चल्दैन। ओलीको पनि गुन्डागर्दी चल्दैन यहाँ,’ उनले भने, ‘प्रहरी जनताको सेवक हुनुपर्नेमा ओलीको सेवक?’
‘म यहाँबाट जाँदै जान्नँ। यहाँका जनताले मेरो उपचार गर्नुपर्छ भनेपछि मात्रै जान्छु होला। नत्र म जाँदैजाँदिनँ,’ अन;नरत केसीले थपे, ‘मलाई अप्ठ्यारो भएपछि त म भनिहाल्छु नि लैजानु भनेर।’
टायर बालेर चक्काजाम
‘हेलिकोप्टरमाफर्त केसीलाई काठमाडौँ लगिँदै छ’ भन्ने खबर पाएसँगै डा केसीका समर्थकहरु डडेल्धुरामा बिहानै चक्काजाम गरे। ८ बजेपछि १२ बजेसम्म यातायात ठप्प पारियो डडेल्धुरामा।
डडेल्धुरा अस्पतालदेखि करिब तीन सय मिटरको दुरीमा रहेको तुफानडाँड चोकमा टायर बालेर चक्काजाम गरिएको थियो।
बन्दका कारण डडेल्धुरा भएर तराइ जाने र बैतडी, दार्चुला, बझाङ जाने यात्रुहरु मारमा परे। लगभग चार घन्ठाको चक्काजाम पछि यातायात संचालनमा आयो।
केसीले जान नमानेपछि सर्वदलीय बैठक
अनसनरत डा.केसीले काठमाडौं नजाने अडान राखेपछि प्रमुख जिल्ला अधिकारी राजप्रसाद पौडलेले सर्वदलीय/सर्वपक्षीय बैठक आह्वान गरे। दिउँसो जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा सर्वदलीय/सर्वपक्षीय बैठक बस्यो।
स्थानीय जनप्रतिनिधि, जिल्लास्थित राजनीतिक दलका प्रमुख, नागरिक समाज, सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य संघ, पत्रकार महासंघलगायतको उपस्थितिमा बैठक बस्यो।
प्रहरीले बैठकको सुरुमा केसीलाई लैजान हेलिकोप्टर जिल्लामा आएको जानकारी गराए। त्यसपछि बैठकमा सहभागी प्रतिनिधिहरुले केसीलाई काठमाडौँ लैजाने/नलैजाने विषयमा धारण राख्न भने। पालैपालो सबैले धारणा राखे।
जिल्ला प्रशासन कार्यालयको पहलमा बोलाइएको सर्वपक्षीय बैठकले ‘डा.केसीलाई इच्छाविपरीत लान मिल्दैन’ भन्दै उनको माग सम्बोधनका लागि सबैले पहल गर्नुपर्ने निष्कर्ष निकाल्यो। अनसनको आठ दिन बित्दासमेत सरकारले कुनै प्रतिक्रिया नजनाएको प्रति बैठकमा सहभागीहरुले आक्रोश व्यक्त गरेका थिए। उनीहरुले केसीका माग तत्काल सम्बोधन गर्न सरकार अग्रसर हुनुपर्ने धारणा राखेका थिए।
सोमबारसम्म पनि डा केसीलाई भेट्न नपुगेका प्रमुख जिल्ला अधिकारी सुरक्षा प्रमुखसहित अनसनस्थल डडेल्धुरा अस्पताल पुगे। 'बाहिर सिडिओ साप् आउनु भा'छ' भन्ने खबर डा.कसीलाई दिइयो। उनीले सिडिओसँग नभेट्ने बताएपछि फिर्ता भए।
बैठकको बीचैमा मुख्यमन्त्रीको फोन
मुख्यमन्त्री त्रिलोचन भट्टले फोनमार्फत सर्वदलीय बैठकमा सम्बोधन गरेका थिए। उनले केसीले उठाएका मागप्रति आफू सकारात्मक रहेको बताए।
केसीको स्वास्थ्य मुख्य कुरा भएकाले सहज वातावरणमा उनलाई काठमाडौं पठाउन सहयोग गरिदिन सर्वदलीय बैठकमा आग्रह गरे मुख्यमन्त्री भट्टले। उनले उठाएका माग सम्बोधनका लागि प्रदेश सरकारले पहल गरिरहेको समेत उनले बताए।
‘डा. केसीले सुदूरपश्चिका समेत माग उठाउनु भएको छ। उहाँका माग सकारात्मक छन्,’ सर्वदलीय बैठक चल्दै गर्दै फोन गरेका मुख्यमन्त्री भट्टले भने, ‘उहाँका मागहरु सम्बोधनका लागि सम्बन्धित मन्त्रालय, प्रधानमन्त्रीज्यूसँग पनि कुरा गर्नेछु।’
'मुख्यमन्त्रीले डा.केसीसँग पनि फोनवार्ता गर्न खोजेका थिए,' डा. केसीलाई उद्धृत गर्दै डा तोसिमा कार्कीले भनिन्, ‘मुख्यमन्त्रीले हाम्रो माग पूरा गर्ने सक्दैनन्। उनीसँग किन कुरा गर्ने?'
रित्तै फर्कियो हेलिकोप्टर
डा केसीको नफर्कने अडान र सर्वपक्षीय बैठकको निर्णयपछि अनसनरत डा केसीलाई लिन डडेल्धुरा आइपुगेको नेपाली सेनाको हेलिकोप्टर रित्तै फर्कियो। स्वास्थ्यमा समस्या र अस्पतालमा आवश्यक उपचारका सामग्री नभएको अस्पतालले जनाएपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको थियो। त्यसका लागि सोमबार बिहान सेनाको हेलिकोप्टर डडेल्धुरा पुगेको थियो।
आठ दिनदेखि डडेल्धुरामा आमरण अनशनरत डा गोविन्द केसीलाई सुविधासम्पन्न अस्पताल पठाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराले गरेको पहल विफल भयो। डा.केसीलाई काठमाडौं लैजाने सरकारको प्रयास पनि सफल हुन सकेन।
डा.केसीको जीवनरक्षाका लागि आफूले सुविधासम्मन्न अस्पतालमा लैजान प्रयास गरे पनि उनका समर्थकले असहमति जनाएपछि सेनाको हेलिकोप्टर फिर्ता पठाइएको प्रजिअ पौडेलले बताए। गृह मन्त्रालयबाट निर्देशन आएपछि हेलिकोप्टर फर्किएको हो।
कात्तिक १८ गतेदेखि डडेल्धुरा अस्पताल नजिकै एक निजी घरमा अनसन बसेका डा केसीको स्वास्थ्यमा समस्या देखिन थालेपछि पाँचौ दिनमा डडेल्धुरा अस्पताल सारिएको थियो। सोमबार आठौं दिन पनि केसीले अस्पतालमै आफ्नो अनसन जारी राखेका छन्।