लगातारको अविरल वर्षाले ल्याएको बाढी र पहिरोले इलाम जिल्लाको जनजीवनमा गम्भीर असर पारेको छ। जिल्लाका विभिन्न स्थानमा घर, सडक, विद्यालय र स्वास्थ्य संस्था बगाउँदा जनजीवन अस्तव्यस्त बनेको छ। अहिलेसम्म ३९ जनाको मृत्यु भएको र ४ जना बेपत्ता रहेको जानकारी प्राप्त भएको छ।यस प्राकृतिक विपद्को प्रत्यक्ष असर जनस्वास्थ्य क्षेत्रमा पनि गहिरो रूपमा परेको छ। बाढी र पहिरोका कारण खानेपानीका मुहानहरू दूषित, बाटोघाटो अवरुद्ध र स्वास्थ्य सेवा पहुँचमा अवरोध हुँदा विभिन्न रोगहरूको जोखिम बढेको देखिएको छ।
दूषित खानेपानी र सरसफाइको अभाव
पहिरोले खानेपानीका पाइप र मुहानहरू भत्काएपछि धेरै बस्तीहरूमा सुरक्षित पानी आपूर्ति बन्द भएको छ। मानिसहरू असुरक्षित खोलाको पानी प्रयोग गर्न बाध्य भएका छन्।
जनस्वास्थ्यका दृष्टिले यस्तो अवस्थामा हैजा, झाडापखाला, टाइफाइड, र हेपाटाइटिस ‘ए’ जस्ता रोग फैलिन सक्ने जोखिम उच्च रहन्छ।
यसकारण पानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र पिउनु, अस्थायी शौचालय निर्माण गर्नु र फोहर व्यवस्थापनमा सचेत रहनु अत्यावश्यक छ।
बाटो अवरुद्ध र सेवा पहुँचमा कठिनाइ
पहिरोले मुख्य सडकहरू र ग्रामीण बाटोहरू अवरुद्ध हुँदा बिरामीहरू स्वास्थ्य संस्थामा पुग्न सकेका छैनन्। गर्भवती महिला, दीर्घ रोगी तथा आकस्मिक बिरामीहरू उपचारबाट वञ्चित हुने अवस्था देखिएको छ।
जनस्वास्थ्य दृष्टिले मोबाइल स्वास्थ्य टोली, स्वयंसेवक र सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत सेवा पुर्याउने व्यवस्था गर्नुपर्ने आवश्यकता छ।
खोप सेवा र बालस्वास्थ्यमा असर
खोप केन्द्रहरूमा पहुँच नहुँदा बालबालिकाको नियमित खोप कार्यक्रम प्रभावित भएको छ। यदि खोप सेवा लामो समय रोकिएमा पोलियो, डिप्थेरिया, टिटानस, र मिजल्सजस्ता रोग पुनः देखा पर्न सक्छन्।
जनस्वास्थ्यका हिसाबले outreach खोप केन्द्र सञ्चालन, मोबाइल टोली परिचालन र कोल्ड चेन सुरक्षित राख्न विशेष प्राथमिकता दिनुपर्छ।
क्षयरोग, श्वासप्रश्वास र छालासम्बन्धी रोगको जोखिम
अस्थायी टहरामा भीडभाड र नमीका कारण क्षयरोग, निमोनिया, स्केबीज र अन्य सर्ने रोग फैलिने सम्भावना बढेको छ।
जनस्वास्थ्य दृष्टिले संक्रमित पहिचान (Active Case Finding), औषधि निरन्तरता र स्वास्थ्य शिक्षा कार्यक्रमलाई सशक्त रूपमा अघि बढाउन जरुरी छ।
मच्छरजन्य रोगको सम्भावना
थुप्रिएका पानीका गढ्यौला र फोहरले डेंगु, मलेरिया र चिकनगुनियाजस्ता मच्छरजन्य रोग फैलिन सक्ने अवस्था सिर्जना गरेको छ।
यसकारण सरसफाइ, पानी थुप्रिन नदिनु र मच्छर नियन्त्रण अभियान सञ्चालन गर्न जरुरी छ।
मानसिक स्वास्थ्य र सामुदायिक पुनःस्थापना
बाढी–पहिरोले शारीरिक मात्र होइन, मानसिक क्षति पनि पारेको छ। घर र परिवार गुमाएका व्यक्तिहरूमा तनाव, चिन्ता र निराशा बढेको देखिन्छ।
जनस्वास्थ्य दृष्टिले मनोसामाजिक सहयोग, सामुदायिक परामर्श र आत्मबल पुनःस्थापनाका कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ।
दिगो स्वास्थ्य सुरक्षातर्फ कदम
यी चुनौतीहरूले दिगो जनस्वास्थ्य प्रणालीको आवश्यकता झन् प्रष्ट पारेका छन्। सुरक्षित बस्ती निर्माण, मुहान संरक्षण, सडक र खानेपानी पूर्वाधार मजबुत बनाउन दीर्घकालीन योजना अपरिहार्य छ। साथै, आपतकालीन तयारी, प्राथमिक उपचार तालिम र सामुदायिक सचेतना अभिवृद्धि भविष्यका लागि आवश्यक छन्।
ईलाममा आएको बाढी र पहिरोले जनस्वास्थ्यका जिम्मेवारीहरूलाई अझ गम्भीर बनाएको छ। दूषित पानी, अवरुद्ध बाटो, सर्ने रोग, खोप अवरोध र मानसिक समस्या—यी सबै जनस्वास्थ्यका चुनौती हुन्।
यस संकटलाई सामना गर्न समयमै योजना, सही सूचना, र समुदायको सहभागिता अपरिहार्य छ। सामूहिक प्रयास र सचेततामार्फत मात्र ईलाम पुनः स्वस्थ र सुरक्षित बस्तीका रूपमा उभिन सक्छ।
(कालाखेती स्वास्थ्य कार्यालय इलाममा बागमती सेवा समाजद्वारा सञ्चालित राष्ट्रिय क्षयरोग कार्यक्रमको जिल्ला कार्यक्रम संयोजक हुन् ।)