काठमाडौं - बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पेइङ सेवा लिएका बिरामीहरुलाई आगामी दिनमा थप अतिरिक्त शुल्कहरु नलिने भन्दै सुचना जारी गरेको छ। अस्पतालका निर्देशक डा जगत नारायण प्रसादको हस्ताक्षरसहित सोमबार उक्त सूचना एवं सर्कुलर जारी गरिएको हो।
जारी सूचनाअनुसार आगामी कार्तिक १ गतेदेखि लागु हुने गरी बिरामीले पेइङ सेवा लिदा शल्यक्रिया शुल्क मात्र पेइङको दररेटमा यथावत रहने भएको छ। त्यसबाहेकका सम्पुर्ण अतिरिक्त सेवाहरुको शुल्क नलिने र सामान्य अस्पताल दररेट अनुसार लाग्ने प्रतिष्ठानले जनाएको छ ।सामान्य वार्डमा भर्ना भएर पेइङ सेवामार्फत शल्यक्रिया गर्दा वेड चार्ज, ल्याबलगायत सेवा शुल्क सामान्य सेवा अनुसार लिने निर्णय भएपनि पेइङ वार्डमा भर्ना भएका विरामीहरुको हकमा भने ती शुल्कहरु यथावत नै रहने प्रतिष्ठानले जनाएको छ।
यस्तै, शल्यक्रिया अघि र पछि नर्सिङ तथा अन्य सेवाको पनि दैनिक शुल्क तिर्नुपर्छ भने डाक्टरहरुले दैनिकरुपमा विरामीलाई हेर्न आउदाको पनि अतिरिक्त स्वास्थ्य सेवाको नाममा महंगो शुल्क तिर्नुपर्छ ।
कार्तिक १ गतेदेखि पेइङ सेवा लिएका बिरामीहरुले अप्रेशन शुल्कबाहेक अन्य विभिन्न जनरल सेवाहरु अस्पताल सेवाकै दररेटमा पाउनेछन् । ‘अब उप्रान्त कुनै पनि विरामी सामान्य वार्डमा भर्ना भई शल्यक्रिया वा प्रक्रियाको लागि इएचएस स्किम अन्तर्गत बिलिङ गर्दा बेड चार्ज, रेडियोलोजी, ल्याब परीक्षणलगायत अन्य सेवाहरुको शुल्क सामान्य अस्पताल दररेड अनुसार लागू हुनेछ,’ अस्पताल निर्देशक डा जगत नारायण प्रसादले जारी गरेको सूचनामा भनिएको छ ।
