काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ औं तहको बढुवा प्रक्रिया अगाडि बढाएको छ। बढुवाको प्रक्रिया अगाडि बढेसँगै मन्त्रालयमा यतिबेला सम्भावित व्यक्तिहरुका विषयमा चर्चा र चासो बढेको छ।
स्वास्थ्यमा १२ औं तहका लागि तीन वटा पद रहेको छ। तीनवटै पद लामो समयदेखि रिक्त छ। तीनवटा पदका आकांक्षी धेरै भएकाले पनि मन्त्रालयमा यतिबेला यही विषयमा बढी चर्चा हुने गरेको छ।
१२ औं तहको बढुवा जेष्ठता आधारमा हुन्छ वा राजनीतिक आस्था र पहुँचका आधारमा हुन्छ भन्ने विषयमा मन्त्रालयमा धेरै चर्चा चल्न थालेको छ।
बढुवा प्रक्रिया अगाडि बढेलगत्तै उक्त पदका आकांक्षीमध्येका एक डा गुणराज लोहनी कोशी अस्पतालबाट मन्त्रालयमा काजमा तानिएका छन्। डा लोहनी काजमा काठमाडौं आएपछि उनीभन्दा वरिष्ठ कर्मचारीहरुमा चिसो पसेको छ। १२ औं तहका आकांक्षीमा डा लोहनीभन्दा ४ जना वरिष्ठ छन्। वरिष्ठताका आधारमा डा लोहनी ५औं नम्बरमा छन्।
यतिबेला मन्त्रालयमा एकथरी कर्मचारी पहिलो नम्बरमा डा गुणराज लोहनी, दोस्रोमा डा दीपेन्द्ररमण सिंह र तेस्रोमा डा भिमसिंह टिंकरी वा महेन्द्रप्रसाद श्रेष्ठलाई १२औं तहमा बढुवा हुने सम्भावनाका रुपमा लिइरहेका छन्।
अर्काथरी कर्मचारी भने जेष्ठताका आधारमा हुनुपर्ने भन्दै कुराकानी गरिरहेका छन्। उनीहरुका अनुसार जेष्ठताका आधारमा बढुवा हुने हो भने डा रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह र डा भीमसिंह टिंकरी १२औं तहमा बढुवा हुनेछन्।
विगतका वर्षमा पनि राजनीतिक पहुँचका आधारमा जेष्ठताको आधारलाई मिच्दै १२औं तहमा बढुवा भएका थिए। यो पटक पनि विगतकै नजिरलाई आधार मानेर स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आफू निकटकालाई बढुवा गर्ने सम्भावना रहेको केही कर्मचारीहरु बताउँछन्।
तर, मन्त्री ढकालले मन्त्रालयमा कार्यभार सम्हालेदेखि नै नियम र प्रक्रियामा रहेर नै काम गर्ने र कर्मचारीहरुलाई पनि त्यही अनुसार व्यवहार गर्ने बताउँदै आइरहेका छन्। अब मन्त्री ढकालले यो प्रक्रियामा कसरी काम गर्छन् त्यो भने हेर्न बाँकी नै छ।
१२औं तहमा बढुवा हुनका लागि ११औं तहमा प्रवेश गरेको समय, उक्त तहमा पाँच वर्षभन्दा बढी काम गरेको, राजधानी बाहिर बसेर काम गरेको, कार्यसम्पादन मुल्यांकनलगायत विषयले निर्धारण गर्नेछ।
वरिष्ठताको आधारमा को अगाडि?
मन्त्रालयले केही समयअघि निकालेको सूची अनुसार जेष्ठताका आधारमा डा दीपेन्द्ररमण सिंह, डा रोशन पोखरेल, डा भीमसिंह टिंकरी, महेन्द्रप्रसाद श्रेष्ठ र गुणराज लोहनी छन्।
डा दीपेन्द्ररमण सिंह र रोशन पोखरेल ११औं तहमा प्रवेश गरेको समयमा १३ दिनको मात्र फरक छ। डा सिंह २०६६ पुस ९ गते ११ औं तहमा प्रवेश गरेका हुन्। डा पोखरेल भने पुस २२ गते ११औं तहमा प्रवेश गरेका हुन्।
डा सिंह र डा पोखरेल ११औं तहमा जागिर खाएको ११ वर्ष पुगेको छ।
काठमाडौं बाहिर काम गरेको आधारमा बढुवामा नम्बर थप हुनेछ। यो आधारमा हेर्ने हो भने १२औं तहका लागि पहिलो नम्बरमा डा रोशन पोखरेल पर्नेछन्।
डा पोखरेले केही महिनाअघि मात्र विराटनगरबाट काठमाडौंमा सरुवा भएर आएका हुन्। डा सिंह भने धेरै वर्षदेखि मन्त्रालय र विभिन्न महाशाखामा काम गर्दै आएका थिए। अहिले डा पोखरेल स्वास्थ्य सेवा विभागको महानिर्देशक छन् भने डा सिंह मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख छन्।
डा पोखरेल यस अघिको १२औं तह बढुवा हुने सूचीको पनि पहिलो नम्बरमा नै थिए। तर, उक्त समयमा उनलाई मिच्दै डा तरुण पौडेललाई बढुवा गरिएको थियो। डा पौडेलको अवकाश हुन एक दिन मात्र बाँकी रहेको भन्दै उनलाई बढुवा गरिएको थियो।
डा पोखरेल र डा सिंहपछि वरिष्ठताका आधारमा डा भिमसिंह टिंकरी तेस्रो नम्बरमा पर्छन्। त्यसपछि महेन्द्र श्रेष्ठ र डा लोहनी पर्छन्।
डा टिंकरी २०६८ फागुन २२, श्रेष्ठ २०६८ फागुन २४ र डा लोहनी २०६९ वैशाख १४ गते ११औं तहमा प्रवेश गरेको देखिन्छ। त्यसपछि डा केदारप्रसाद सेन्चुरी २०६९ वैशाख ३१ गते ११औं तहमा प्रवेश गरेको मन्त्रालयको सूचीमा उल्लेख छ।
अबको प्रक्रिया के?
मन्त्रालयको बढुवा समितिले रिक्त रहेका तीनवटै पदमा नाम सिफारिस गर्नेछ। उक्त सिफारिसलाई मन्त्रिपरिषदमा पेस गर्नुपर्ने हुन्छ। मन्त्रिपरिषदले निर्णय गरेपछि तीन जना १२औं तहमा बढुवा हुनेछन्।
केही दिन अघि स्वास्थ्य सचिव खगराज बरालले बढुवा समितिको बैठक माघ पहिलो साता बस्ने सम्भावना रहेको अनौपचारिक रुपमा बताएका थिए। समितिको बैठक बसेपछि समितिले नाम सिफारिस गर्नेछ।
२८ जनाले बुझाए विवरण
मन्त्रालयले बढुवाका लागि ११औं तहका कर्मचारीको विवरण माग गरेको छ। मन्त्रालयले पुस १० गते सुचना जारी गर्दै २०७६ असार मसान्तसम्म ५ वर्ष सेवा अवधि पुरा भएका स्वास्थ्यका विभिन्न समुह र उपसमुहका ११औं तहका कर्मचारीको विवरण पठाउन भनेको थियो।
सोही आधारमा मन्त्रालयमा २८ जनाले आफ्नो विवरण बुझाएका छन्। ११औं तहमा रहेर ५ वर्ष काम गरेका ३५ जना कर्मचारी बढुवाका लागि योग्य रहेको मन्त्रालयको भनाई छ। तर, २८ जनाको मात्र विवरण आएपछि मन्त्रालयको बढुवा शाखाले आएको विवरणलाई सूचीकृत गर्ने काम गरिरहेको छ।
स्वास्थ्य मन्त्रालयमा १२औं तहको प्रमुख विशेषज्ञ पद सचिव सरहकै मानिन्छ। संघीयता अनुसारको नयाँ संरचनामा स्वास्थ्यमा तीन वटा १२ औं तहको पद छ। यसअघि ४ वटा पद थियो।
मन्त्रालयमा अहिले तीन वटै पद खाली छ। स्वास्थ्य सेवा ऐनमा प्रमुख विशेषज्ञ पदमा रिक्त भएको १५ दिनमै बढुवा प्रक्रिया शुरु गर्नुपर्ने व्यवस्था छ।
तर, गत भदौमा प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेलले अवकाश पाएपछि ३ वटै पद खाली भएका हुन्। ०७४ साल मंसिरमा डा तरुण पौडेल र फागुनमा डा विनोदमान श्रेष्ठले अवकाश पाएपछि सो पदमा अर्को व्यक्ति बढुवा भएको छैन।
स्वास्थ्य सेवा ऐन २०५३ को दफा २५(२) मा १२औं तहको पदमा बढुवाको सिफारिस गर्ने प्रयोजनका लागि बढुवा समितिको यही पुस २ गते बसेको बैठकले विवरण माग गर्ने निर्णय गरेको थियो।
मन्त्रालयमा रहने दुई जना प्रमुख विशेषज्ञमध्ये एक जनाले नीति योजना तथा अनुमगन महाशाखा र गुणस्तर मापन तथा नियमन महाशाखा हेर्ने छन् भने अर्का प्रमुख विशेषज्ञले जनसंख्या व्यवस्थापन तथा सूचना महाशाखा र स्वास्थ्य समन्वय महाशाखा हेर्ने गरी जिम्मेवारी तोकिएको छ। अर्का एक जना भने स्वास्थ्य सेवा विभागको महानिर्देशक हुने प्रावधान छ।