भान्सामै औषधी

स्वास्थ्यका लागि रामबाण माइक्रो ग्रिन्स

आरबी बुढाथोकी 

माइक्रो ग्रिन्स सातदेखि १५ दिनमा उत्पादन हुने खानयोग्य साना–साना मुना (बिरुवा) लाई चिनिन्छ। संसारभर निकै प्रसिद्ध मानिने माइक्रो ग्रिन्सको खेती नेपालमा पनि सुरु भएको छ। विभिन्न बोटानिकल फार्ममा यसको खेती सुरु भएको छ। यसको मुख्य खपत भने विभिन्न तारे होटल, रेस्टुरेन्ट र उच्च घरानामा हुन्छ।

माइक्रो ग्रिन्स खाना सजाउन अति नै उपयोगी र स्वास्थ्यवद्र्धक जडिबुटी हो। माइक्रो ग्रिन्सलाई ब्रासिकेसी, ऐसटिरेसी, एपिएसी, अमर्यल्लिदासए, अमारन्थेसी, क्युकरबिट्स गरी ६ फेमेलीमा विभाजन गरिएको छ। यी प्लान्टहरु फेमेलीअनुसार पहिलोमा काउली, बन्दा, ब्रोकाउली, पक्चोय, तोरी, मुला, फापर, वाटर क्रेस, अरुगला, वासबी पर्छन् भने दोस्रो फेमेलीमा लेटुस, चिकोरी, इन्डुप्स, राडिसियो पर्छन्। त्यस्तै तेस्रो फेमेलीमा दिल (सोप), सेलरी, गाजर र फिनेल पर्छन्। चौथो फेमेलीमा लसुन, प्याज, लिक पर्छन्। पाँचौ र छैटौंमा क्रमशः पालक, चुकन्दर, किनोवा र फर्सी, काक्रो, मेलन पर्छन्।

सन् १९८० मा संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको एक रेस्टुरेन्टमा सर्वप्रथम माइक्रो ग्रिन्सको पहिलो प्रयोग गरिएको थियो र त्यही समयदेखि यो विश्वभर प्रख्यात हुँदै गयो। अत्यन्त सुगन्धित, मुलायम, रंगिन हुने हुँदा खानामा अतिरिक्त स्वाद र शोभा बढाउनुको साथै स्वास्थ्यका हिसाबले पनि यो निकै फाइदाजनक मानिन्छ।

यसको लोकप्रियतासँगै नेपालमा पनि व्यापक प्रयोग र निर्यात गर्न थालिएको छ। एकदेखि तीन इन्चको साइजमा हुने यस्ता कलिला मुना–टुसा तरकारीलाई ठाउँअनुसार बेबी ग्रिन्स, बेबी प्लान्ट, स्प्राउट भनेर चिनिन्छ। हुन त स्प्राउट वा टुसाको पात हुँदैन र दुईदेखि सात दिनमा तयार हुन्छ भने माइक्रो ग्रिन्सको हरिया, पहेंला वा राता पात हुन्छन् र सातदेखि २१ दिनमा तयार गरिन्छ। उत्पादनपछि प्याकेट बनाई या मुठा पारेर बेचिने यी ग्रिन्सहरु तीनदेखि पाँच डिग्री सेल्सियसको फ्रिजमा भन्डारण गर्दा पाँचदेखि सात दिनसम्म प्रयोग गर्न सकिन्छ। उल्लेखित फेमेली बाहेक गहँु, जौ, मकै, धान, चना, राजमा, मुग, मुसुरोको पनि माइक्रो ग्रिन्स उत्पादन गर्न सकिन्छ र विभिन्न खानामा मिसाएर खान सकिन्छ। माइक्रो ग्रिन्स विभिन्न स्वादमा उपलब्ध हुन्छ। यसको स्वाद पिरो, अमिलो, तितो र प्राकृतिक तबरको पनि हुन्छ।

अनुसधानले देखाएअनुसार परिपक्व ग्रिन्सभन्दा ९ गुणा ज्यादा पोषक तत्व माइक्रो ग्रिन्समा पाइने साबित भएको छ। माइक्रो ग्रिन्समा परिपक्व ग्रिन्समा भन्दा अतिरिक्त भिटामिन्स, मिनेरल्स र ऐन्टिआक्सिडेन्ट पाइन्छ। सागपात नियमित खानु नै सबै रोगबाट धेरै हदसम्म टाढा रहनु मानिन्छ। तसर्थ नियमित रुपमा माइक्रो ग्रिन्स आफ्नो भोजनमा समावेश गर्नाले धेरै फाइदा पुग्नेमा दुईमत छैन।

यदि माइक्रो ग्रिन्स घरमै उत्पादन गर्ने हो भने बीउको दाना किन्दा एकदमै स्तरीय पसलमा मात्र किन्नुपर्छ। एक पटक कृषि विशेषज्ञको सल्लाह लिएर खरिद गर्दा राम्रो हुन्छ। यसो गर्नाले विभिन्न संक्रमण हुनबाट जोगिन्छ र माइक्रो ग्रिन्समा हुने साल्मनेला, इकोली जस्ता ब्याक्टेरियाबाट अग्रिम सुरक्षित रहन सकिन्छ।
  
माइक्रो ग्रिन्सका फाइदा
–    मुटुसम्बन्धी समस्या हुनबाट जोगाउँछ। 
– कोलस्टोर लेबल मिलाउन मद्दत गर्छ। 
–    मेथीको माइक्रो ग्रीन्स खाँदा सुगरका रोगीलाई धेरै फाइदा पु¥याउँछ। 
–    क्यान्सर जस्तो भयानक रोग लाग्नबाट जोगाउँछ। 
–    ब्रोकाउलीको माइक्रो ग्रिन्सले ब्रेन फङ्सनमा मद्दत पु¥याउँछ। 
–    पुदिनाको माइक्रो ग्रिन्सले खाना पचाउन पर्याप्त मद्दत गर्छ। 
–    स्प्राउट तथा माइक्रो ग्रिन्सले रगत सर्कुलेसनमा विशेष भूमिका खेलेको हुन्छ। 
–    एसिडिटी कम गर्न मद्दत पु¥याउँछ। 
–    स्वस्थ र सिल्की कपालका लागि पनि माइक्रो ग्रिन्स राम्रो मानिन्छ।
–    लसुनको माइक्रो ग्रिन्सले स्किनलाई मुलायम गर्नुका साथै चिसोबाट जोगाउँछ र कलेजोलाई दीर्घ जीवन दिन्छ। 
–    जौको माइक्रो ग्रिन्सले भोक कम लाग्न मद्दत गर्छ र मटोपन घटाउन सजिलो हुन्छ। 
– मकैको माइक्रो ग्रिन्सले आँखाको भिजन राम्रो र तेज हुनमा मद्दत गर्छ साथै स्वस्थ कपालका लागि उपयोगी मानिन्छ।  

केमा प्रयोग गर्ने, कसरी खाने?
माइक्रो ग्रिन्स खाने विभिन्न तरिका छन्। यसलाई सुपमा हालेर खान सकिन्छ। जुस बनाएर खान सकिन्छ। त्यस्तै सलाद बनाएर खाँदा अति उपयोगी मानिन्छ। माइक्रो ग्रिन्स त्यत्तिकै खाँदा पनि फाइदा पु¥याउँछ। स्यान्डिच बनाउँदा पनि माइक्रो ग्रिन्स प्रयोग गर्न सकिन्छ र विभिन्न खाना सजाउँदा खानाको माथिल्लो भागमा राख्दा अझ शोभायमान देखिन्छ।
बिहानको ब्रेकफास्टमा पनि माइक्रो ग्रिन्स अति नै स्वास्थ्यवद्र्धक मानिन्छ। अन्डाको अम्लेट या पास्तामा पनि माइक्रो ग्रिन्स राम्रो देखिन्छ र स्वादिष्ट बनाउँछ, ताजा देखाउँछ। मुख्यतयाः होट– रेस्टुरेन्टमा माइक्रो ग्रिन्सलाई खाना सजावटका लागि व्यापक प्रयोग गरिन्छ। पिज्जा बनाउँदा पनि माइक्रो ग्रिन्स मिसाउनाले अत्यन्त राम्रो र ताजा देखाउँछ।

कसरी उमार्ने माइक्रो ग्रिन्स 
घरायसी अर्गानिक कम्पोस्ट मल मिसाइएको माटोमा मिलाएर विभिन्न दानाद्वारा माइक्रो ग्रिन्स सजिलै उमार्न सकिन्छ। जसका लागि प्वाल भएको प्लास्टिकको बाकेट या काठको मुडामा मिलाएर मल सहितको माटो सम्याउने। कुन माइक्रो ग्रिन्स उमार्ने हो, राम्रो दाना किनेर ल्याउने र राम्ररी भिजाएर पखाली माटोमा मिसाउने। त्यसपछि पानी छर्केर हावा छिर्नेगरी कार्टुनले छोप्ने। दिनहुँ हल्का पानी छकिर्ने। लगभग बिरुवा र सिड्सको प्रकृति हेरेर सातदेखि बढीमा १५ दिनमा यो तयार हुन्छ। विस्तारै काटेर प्लास्टिक या कागजको प्याकेटमा राखेर फ्रिजमा स्टोर गर्न सकिन्छ र तत्काल प्रयोग पनि गर्न सकिन्छ। व्यावसायिक रुपमा खेती गर्नु छ भने कृषि विशेषज्ञसँग पूर्ण परामर्श लिएर पनि सुरु गर्न सकिन्छ।

केके उमार्न सकिन्छ?
ब्रोकाउली, मुला, हरियो केराउ, रातो मुला,  वासबी, पालक, धनिया, तोरी, मेथी, फापर, स्विस कार्ड, फिनेल, बन्दा, चिया, सन फ्लावर, चम्सुर, सौंफ     र लासुन, प्याज या छ्यापी  लगायतका दानाबाट माइक्रो ग्रिन्स उमार्न सकिन्छ। यी सबै दानालाई छुट्टाछुट्टै बकेटमा राखेर उमार्दा राम्रो मानिन्छ।

(बुढाथोकी सोल्टी क्राउन प्लाजाका सुसेफ हुन्)
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने