आदरणीय अग्रज चिकित्सक सरहरु,
नमस्कार! सरकारलाई लेख्नुपर्ने चिठ्ठी तपाईंहरुलाई लेख्दैछु। सरकारले मेरो आक्रोश त सुन्दैन। तपाईंहरुको आवाज त सुन्छ, सुनिराखेकै छ, त्यसैले।
खोज पत्रकारिता केन्द्र (खोपके)ले गरेको अनुसन्धानमुलक रिपोर्टिङ पछि म यो खुला पत्र लेख्न बाध्य भएँ। भनिहालौं, त्यो समाचारसंग मेरा असहमति भन्दा सहमतिहरु धेरै छन्, शीर्षकमा बाहेक। तर त्यसले छुटाएका एक दुइवटा कुरा नलेखी बस्न सकिनँ। अँ, सुरुमा त तपाईँहरुका व्यक्तिगत इमेलमा लेख्न भनेर अँग्रेजीमा लेखेको थिएँ तर लेखिसक्दा पठाउने आँट हराइसकेको थियो, मेरो आक्रोश सेलाइसकेको थियो। फेरी सार्वजनिक बहस/छलफलबाट छुट्ला भनेर पनि इमेल नगरेर खुला पत्र लेख्दैछु।
तपाईंहरुलाई त थाहै छ, नेपालमा चिकित्सा वा स्वास्थ्यसंग सम्बन्धित हुने छलफलले डाक्टरहरुलाई खलनायक (भिलेन) बनाउने गरेकै छ। यो पटक पनि “चिकित्सक बाहिरिने गरेको” समाचार अपवाद बन्न सकेन। डाक्टरलाई गाली गर्ने पत्रकार वा सामाजिक सन्जाल प्रयोगकर्ताहरुले ताली/स्यावासी पाएकै छन्। आवाज निकाल्न नसक्ने चिकित्सकहरु फेरि पनि लाचार भएर आवाज दवाउन बाध्य भए, एकाध सामाजिक सन्जालका भँडासबाहेक। म पनि त्यही भँडास पोख्न यो पत्र लेख्दैछु।
तर सुरुमै भनिहाल्छु, स्वीकार गरिहाल्छु, यो पेशा दुषित हुनुमा डाक्टरहरुका पनि केहि दोष छन्। हजारौं आलु भएका ठाऊँमा एक-दुई आलु कुहिनु त स्वभाविक नै होला नि ? तर डाक्टरहरुकै मात्र दोष छ भनेजसरी मिडिया, राज्य र आम नागरिक समेत हामीमाथि खनिनु चाहिँ आपत्तिजनक छ।
खोपकेको रिपोर्ट सार्वजनिक भएपछि धेरै टिकाटिप्पणी भए। अधिकांश आम नागरिकले डाक्टरलाई “फटाहा” “राज्यका सम्पत्ति दोहन गरेर गएका भगौडा” आदि दरकार गरे। तर त्यही स्टोरी भित्र रहेको “अन्यत्र पढेर फर्केका न्युरोसर्जनले ३५००० तलबमा काठमान्डौंमा काम गरिरहेको” खबरले हाम्रा आम नागरिकहरुलाई उद्वेलित बनाउदैन। छलफल सिर्जना गराउँदैन। ६ वर्ष स्नातक तह अध्ययन गरेर त्यसपछिको ६ वर्ष न्युरोसर्जरी अध्ययन गरेर प्रदान गरिने विशिष्टिकृत सेवाको मुल्य जम्मा ३५ हजार प्रति महिना। सम्झेरै विरक्त लाग्छ। आइओएम (IoM) का एकै व्याचका ८७% सम्म बिद्यार्थी विदेशिएको आँकडाले जति छाती पोल्छ, यो समाचारले नि उत्तिकै छाती पोल्नुपर्ने होइन ? हामी उनका लागि बोलिदिनुपर्ने होइन? हामी हाम्रैलागि बोल्नुपर्ने होइन?
म स्वयं अहिले Institute of Medicine (IoM) माMBBS अध्ययन सकेर दुई वर्ष अनिवार्य करार सेवाको उत्तरार्धमा छु। पहिलो वर्ष कपिलवस्तु जिल्लाको भित्री मधेशमा अवस्थित एक विकट गाउँ, महाराजगन्जमा गएर काम गरें, अहिले काठमान्डौं नजिकैको टोखा प्राथमिक स्वास्थ्य केन्द्रमा काम गर्दैछु। सरकारको गाउँगाउँसम्म चिकित्सक पुर्या्उने कार्यक्रम लोकप्रिय सुनियो। तर गाउँमा खाली डाक्टर मात्रै पुगे। दुवै ठाउँमा न एक्सरे सेवा थियो/छ, न गतिलो ल्याब। मैले अन्तिमपटक आफैंले अनुरोध गरेर बिरामीको छातीको एक्सरे र रगतमा क्रियाटिनिनको जाँच गरेर हेरेको त्रि. वि. शिक्षण अस्पतालमै इन्टर्नशीप गर्दा हो। र फेरी मैले MD/MS गरिसकेपछिको अनिवार्य करारमा (छात्रवृत्तिमा पढें भनें) त्यही दुर्गतिको पुनरावृत्ति हुन्छ कि भन्ने लागेर तर्सिंदै मैले USMLE को बाटो रोजें भने त्यो के मेरो मात्रै गल्ती हुन्छ? म लगायत थुप्रै युवा चिकित्सकहरुलाई निराश पार्ने र हाम्रो नैराश्यताको मुकदर्शक भएर बस्ने मेडिकल कम्युनिटिको दोष हुन्न? यो नालायक सरकारको दोष हुन्न?
विगत फर्केर हेर्दा, मेरो आफ्नै विद्यालय, कलेज र विश्वविद्यालयको प्रस्तुति हेर्दा म आफुलाई औसतभन्दा थोरै माथिको विद्यार्थी ठान्दछु।छात्रवृत्तिपछिको अनिवार्य करार सेवाका कारण मेरो वृत्ति विकास अहिले आएर ठप्प रोकिएको छ। विदेश गए त म भागुलाँ रे, ठीकै छ, तर नेपालभित्र पनि म थप उच्च शिक्षा (MD/MS) लिनबाट बन्चित छु। ग्रामीण भेगमा सेवा गर्दैगर्दा यहीँ नेपालको MD/MS प्रवेश परीक्षामा सामेल हुन दिएको भए सायद नाम निकाल्न पो सक्थें कि ?छात्रवृत्तिमा MD/MS मा नाम निकाल्ने चिकित्सकहरुको करार अवधिमा कटौती गरेर वा पछि अध्ययन सकेर पुर्ण गर्न मिल्ने गरि मिलाइदिएको भए, हामी मध्ये केहीको वृत्ति विकास त रोकिने थिएन नि। करार सकाएर अमेरिकामा MD गर्न जानुभन्दा तिनै चिकित्सकलाई करार सकिनु अगावै नेपालमा स्नातकोत्तर गर्ने वातावरण भइदिएको भए? नेपालमा MD/MS गरिसकेपछि नेपालमै बस्ने सम्भावना ह्वात्तै बढ्थ्यो भन्ने त मलाई भन्दा राम्ररी तपाईंहरुलाइ थाहै छ। यत्ति गर्दा नेपालमै बसेर चिकित्सा पेशा अँगाल्ने वितृष्णा स्वतः कम हुन्थ्यो। मेरो वृत्ति विकास नरोक्दिनुस्, बाँकी पढाइ पनि पढ्न दिनुस् भनेर इच्छा राख्नु हामी देशद्रोही हुनु हो र?
तपाईंहरुपछिको अबको पुस्ताले नेपालमै जटिल र आधुनिक शल्यक्रिया (जस्तै मुटु प्रत्यारोपण) वा प्रविधि भित्र्याउलान् भन्ने पक्कै अपेक्षा राख्नु भएकै होला। म दावा गर्छु, नेपालमा अब सम्भव छैन। पहिलो त बाहिर जानै बन्द गरेपछि बाहिर सिकेर आउलान् कि भन्ने सवाल नै भएन। दोस्रो, नेपालमै पढ्नेहरु ६ वर्ष MBBS, ३ वर्ष MD/MS (विशेषज्ञ डिग्री)र फेरी ३ वर्षDM/MCh (विशिष्टिकृत डिग्री) अध्ययन र प्रत्येक अध्याय पछिको दुई-दुई वर्ष अनिवार्य करारले ४०-४५ वर्षको उमेरमा आफ्नो अध्ययन पुरा गरेर युवा जोश सकिइसकेपछि नेपालमा नवीन पद्दति भित्र्याउलान् भन्नु मुर्खता हो। वृत्ति विकासमै अंकुश लगाउनु न्याय हो? स्कुल वा प्लस टु सकेपछि पनि अंकुश लगाइदिएको भए? सर एकचोटि उनीहरुको खुट्टामा उभिएर हेरिदिनुस् न भन्नु, के बढी बोल्नु हो र ?
मैले मेरो विद्यालय शिक्षा रुपेन्देही जिल्लाको कुनै गाउँको एक सरकारी स्कुलबाट पुरा गरें। निम्न मध्यम वर्गीय परिवार भएकाले मेरो बुवाले आफ्ना चार सन्तानलाई “ईङ्लिस बोर्डिङ्ग स्कुल” मा पढाउन मुस्किल हुने देखेर अरुलाई जस्तै मलाई पनि “माध्यमिक विद्यालय” मा पढाउनुभयो। पछि छात्रवृत्तिमा IoM मा नाम पनि निकालें। मसंग पनि अथाह सम्पत्ति भएको भए पैसा तिरेर MBBS पढ्थें र ३०-३२ वर्षको उमेरमा चिकित्साका सबै औपचारिक पढाई सकाउँथे। मेरा “धनी साथीहरु” ले त्यसो गर्न सक्छन्। तर मसंग पैसा छैन भनेर सरकारले मेरो विकासमा अंकुश लगाउँदै मलाई हेप्न मिल्छ? राज्यले आफ्ना प्रतिभाहरुलाई यसरी नै हो व्यवहार गर्ने? मलाई मेरो जीवनभर यही देशका नागरिकको उपचार गर्न मन्जुर छ, प्रतिबद्ध छु तर म तपाईंहरुले जस्तै पहिला मेरो अध्ययन सकाउन चाहन्छु। मलाई कुनै बाटो छोडेको छ यो राज्यले? के यत्ति प्रश्न गर्नु हामी स्वार्थी हुनु हो ?
आदरणीय अग्रज,
मेरो आवेश तपाईंहरुलाई पट्यारलाग्दो र लामो लाग्यो होला। तर हाम्रो पीडा र आक्रोश त्यो भन्दा लामा छन्। बिरामीले पिट्ने गरेको कुरा त तपाईंहरुलाई के भन्नु, तपाईंहरुलाई नि दुर्व्यवहार गरिरहेकै छन्। बरु हाम्रो सुरक्षाको लागि संगै लडौं न ? अर्को एउटा कुरा भनूँ? ५.५ वर्षको MBBS कोर्ष त्रि. वि. को लापरवाहीले ६.५ वर्षमा सकियो। अब आउने वैशाखको सुरुमा करार अवधि सकिन्छ तर चिकित्सा शिक्षा आयोगले चैतमै प्रवेश परीक्षा लिएर हाम्रो अर्को एक वर्ष खेर फाल्दिदै छ रे। पहिले IOM ले खेर फालिदिन्थ्यो, अब आयोगले खेर फालिदिने। यसको क्षतिपुर्ति चाहीँ कहाँ गएर लिने हो सर?
मलाई थाहा छ, हामी जति अनिश्चितता र अव्यवस्थाबाट गुज्रदै छौं वा गुज्रने छौं, त्यो भन्दा बेसी दिक्कलाग्दो अवस्थाबाट त तपाईंहरु गुज्रनुभयो। प्रा. अर्जुन कार्की सरले भनेको सम्झन्छु, सरहरु IOM प्रवेश गर्दा डिग्रीको नाम MBBS पनि थिएन रे, अर्कै केही थियो रे, डाक्टर बन्ने नबन्ने निश्चित पनि थिएन रे। धन्न कसो गरेर निस्कने बेला कोर्षको नाम MBBS भएछ र वहाँहरु डाक्टर नै भनेर ग्रयाजुएट हुनु भएछ। हो, अवस्था गार्हो थियो तर हामीले सहयोगको झिनो आशामा तपाईंहरुका औंलातिर हाम्रो हात लैजानु हाम्रो गल्ती हो र? हामी जुनियर चिकित्सकले भोली हाम्रा अग्रज चिकित्सकहरु, तपाईंहरुलाई सम्झदा तपाईंहरुले आफुले पाउनुभएको चिकित्सा क्षेत्रको बागडोर कति सुधारेर छोड्नुभयो, त्यसैको आधारमा सम्झनेछौं।
मलाई माफ गर्नुहोला, यो पढ्न लगाएर म तपाईंहरुको बहुमुल्य समयको नाश गरिदिँदै छु। मैले तपाईंहरुले त कम्तीमा एकपटक हाम्रो खुट्टामा उभिएर हेरिदिनुस् न भन्ने अनुरोध गर्न खोजेको हो, किनकी यो राज्यलाई त हाम्रो खुट्टामा उभिने फुर्सदै छैन। खाली हाम्रा कुराहरु राज्यका कानसम्म पुर्यायइदिनुस् भन्न खोजेको हो। तपाईंहरुको आवाज त सुन्छ नि यो राज्यले हाम्रो क्रन्दन वा आक्रोश नसुने पनि। किनकी तपाईंहरुलाई यो राज्य जति चाहिन्छ, त्यति नै त यो राज्यलाई पनि तपाईंहरु चाहिन्छ नि।
मैले चाहिँ USMLE नगरेर यही देशमा बस्ने निधो गरें, यहीं आफ्नो बाटो खोज्ने निश्चय गरें।अनिश्चतता र प्रतिकुल परिस्थितीका बीच। बडो सकसपुर्ण भयो मलाई त्यो निर्णय लिन। अब जे जे आइपर्ला, टर्दै जाला।म अचेल आफैंले आफैंलाई Panglossian भन्ने अँग्रेजी विशेषण प्रयोग गर्ने गरेको छु जसको अर्थ हुन्छ “मुर्खतापुर्ण आशावादी”। तर मेरा साथीहरु जो विदेशिएका छन्, उनीहरु यो देशलाई माया नगरेर वा अमेरिकालाई बढी माया गरेर गएका चाहिँ होइनन्। यहाँ राज्यले थोरै राम्रो वातावरण बनाउने हो भने फर्कन तयार छन् भनेर राज्यको कानसम्म पुर्यानइदिनुहोला कि भनेर यो पत्र लेखेको। अझ डाक्टरलाई कसेर कडाई गर्नुभयो भने अमेरिका नभए बेलायत वा अन्य कुनै देश जान्छन् भनेर भनिदिनु होला है।
चिकित्सकीय पेशालाई पुनः सम्मानित र व्यवसायिक बनाउन हामीले आवाज उठाएनौं भने कसले बोलिदिन्छ? भन्नुस् त !
- डा सुमन आचार्य
मेडिकल अफिसर, टोखा प्राथमिक स्वास्थ्य केन्द्र
यो पनि