डडेल्धुरा– डडेल्धुरा अस्पतालमा दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक आउन थालेपछि बन्द रहेका सेवा सुरु भएका छन्। समायोजनसँगै चिकित्सकविहीन जस्तै बनेको अस्पतालमा विशेषज्ञ चिकित्सक आएसँगै अस्पतालको सेवा–सुविधा विस्तार भएको हो।
अस्पतालमा विशेषज्ञ सेवा पाउन थालेपछि सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरासहित बैतडी, दार्चुला, डोटी, बझाङ लगायतका जिल्लाका बिरामीलाई उपचारका लागि सहज भएको छ।
सुदूरपश्चिम प्रदेशमै संघीय सरकारको मातहत रहेको एक मात्र डडेल्धुरा अस्पतालमा चिकित्सकको अभावका कारण सेवा–सुविधा खस्कँदै गएका बेला नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले छात्रवृत्ति तर्फका चार जना विशेषज्ञ चिकित्सक पठाएको अस्पताल स्रोतले बताएको छ।
अहिले अस्पतालमा हाल ९ जना विशेषज्ञ चिकित्सक रहेका छन्। जसमा दुई जना स्त्रीरोग विशेषज्ञ, एक हाड जोर्नी, एक जनरल फिजिसिएन, एक दन्तरोग, एक एनेस्थेसिया, दुई जना बालरोग र एक जना एम्डिजिपीसहित ९ जना विशेषज्ञ चिकित्सक रहेको स्त्रीरोग विशेषज्ञ डा राजन शाहले बताए।
विशेषज्ञ चिकित्सक आएसँगै हाडजोर्नी, बालरोग, महिला तथा प्रसूति रोग, इन्डोस्कोपीसहित जनरल शल्यक्रिया सेवा सुचारु भइसकेको अस्पतालका निमित्त मेसु जगदीशचन्द्र विष्टले बताएका छन्। उनले भने, ‘बन्द भएका सेवा मात्र हैन, हामीले थप दुई सेवा जो ७ वर्षअघि टिम अस्पताल हँुदा मात्र थिए, यी सेवा पनि सुरु गरेका छौं।’
सुदूरपश्चिमका पहाडी जिल्लामा सबैभन्दा बढी समस्याका रुपमा रहेको हाडजोर्नीका लागि विशेषज्ञ चिकित्सक आइसकेकाले अबका केही दिनमै हाडजोर्नीको शल्यक्रिया सेवा सुरु हुने अस्पतालले जनाएको छ।
आङ खसेका महिलाको योनीबाटै पाठेघर निकाल्ने अपरेसन समेत अहिले डडेल्धुरामा नै सुरु भएको स्त्रीरोग विशेषज्ञ डा शाहले बताए। उनले भने, ‘प्रसूति र स्त्रीरोग विभागमा सुधार गर्न सक्षम भएका छौं, पहाडी ७ जिल्लाका महिलामा यो समस्या धेरै भए पनि यहाँ निःशुल्क नगराई बाहिर ५० हजारसम्म खर्च गरेर गर्ने गरेका छन्।’ अहिले भने धनगढी पुगेर पनि बिरामी डडेल्धुरा अपरेसनका लागि आउने गरेको उनले बताए।
मन्त्रिपरिषद्को गत २०७५ फागुन ३ गतेको निर्णयअनुसार डडेल्धुरास्थित उपक्षेत्रीय अस्ताललाई विशेषज्ञसहितको सुविधा प्रदान गर्नेगरी स्तरोन्नति गर्ने निर्णय गरिएको थियो। हाल डडेल्धुरा अस्पतालमा यस अस्पतालमा २० जना विशेषज्ञ चिकित्सक, १९ जना मेडिकल अफिसर, ३० स्टाफ नर्स गर नेपाल सरकार तर्फबाट १ सय ९ जनाको दरबन्दी रहेको छ।
७ वर्षपछि दक्ष प्रसूति प्रदायक तालिम सुरु
७ वर्षपछि दक्ष प्रसूति प्रदायक तालिम आइतबारबाट सुरु भएको छ। नेपाल सरकारको मातृ मृत्युदर र बाल मृत्युदर कम गर्ने उद्देश्यका साथ स्वास्थ्य तालिम केन्द्र सुदूपश्चिम प्रदेश, धनगढीले दक्ष प्रसूति प्रदायक तालिम सुरु गरेको छ।
यो तालिमको उद्देश्य नर्सिङ कर्मचारीलाई दक्ष प्रसूतिकर्मी बनाई मातृ मृत्युदर घटाउनमा मद्दत गर्नु हो । प्रत्येक बर्थिङ सेन्टरमा २–३ जना दक्ष स्वास्थ्यकर्मी हुनुपर्ने अहिलेको मापदन्ड छ । यो तालिमबाट आमा र बच्चाको अकालमै हुने मृत्युलाई न्यूनीकरण हुने डडेल्धुरा अस्पतालका निमित्त प्रमुख डा जगदीशचन्द्र विष्टले बताए।