डा रविनलाल श्रेष्ठ
स्टिम बाथ/साउना बाथ आजकल फेसन जस्तै भइसकेको छ। सबै हेल्थ क्लबहरुमा यसको प्रयोग बढिरहेको छ। तर स्टिम/साउना बाथ लिँदा अपनाउनुपर्ने सावधानीहरु नअपनाउँदा ज्यान नै जोखिममा पर्न सक्छ। तसर्थ यसको बारेमा बुझ्नु जरुरी छ।
स्टिम/साउना बाथ प्राकृतिक चिकित्सा अन्तर्गत पर्ने हाइड्रो थेरापी चिकित्साको एक अभिन्न हिस्सा हो। प्राकृतिक चिकित्सामा मुख्यत: शरीर शुद्धीकरणको लागि यसलाई प्रयोग गरिन्छ। विभिन्न रोगको उपचारको साथसाथै स्वास्थ्य प्रवर्धनमा पनि यसलाई प्रयोग गरिन्छ।
स्टिम/ साउना बाथ लिनुभन्दा पहिले के गर्ने?
- अनिवार्य रुपमा ब्लडप्रेसर जाँच गर्ने।
- कुनै प्रकारको रोग छ भने प्राकृतिक चिकित्सकसँग परामर्स लिएर बाथ लिने।
- स्टिम/साउना बाथभित्र छिर्नुभन्दा पहिले पानी प्रशस्त पिउने र चिसो पानीको सावोर लिने वा चिसो पानीले शरीर भिजाउने।
- अनिवार्य रुपमा टाउकोमा चिसो पानीमा भिजाएको सुतीको कपडा राख्ने।
स्टिम/ साउना बाथ लिँदै गर्दा के गर्ने?
- आरामसँग नआत्तिई स्टिम/साउना बाथ चेम्बरमा बस्ने।
- टाउकोमा राखेको कपडा सुकेमा पुन: पानीले भिजाउने।
- अलिअलि पानी पिउँदै गर्ने।
- केही गरी अप्ठ्यारो महसुस भएमा तुरुन्त बाहिर आइहाल्ने।
स्टिम/साउना लिइसकेपछि के गर्ने?
- एकछिन आराम गर्ने।
- पसिना सुकिसकेपछि सादा पानीले शरीर पखाल्ने।
- एक ग्लास जीवनजल वा कागती, मह, नुन मिसाएको पानी पिउने।
सावधानी
१. स्टिम/साउना बाथ लिँदा पेट खाली हुनु एकदमै जरुरी छ। खाली पेटमा मात्रै स्टिम/साउना बाथ लिने। नास्ता वा खाना खाएको चार घण्टापछि मात्र स्टिम/साउना लिने।
२. धूमपान, मध्यपान र रक्सी खाएर स्टिम/साउना बाथ कहिले पनि नलिने र स्टिम/साउना बाथभित्र कहिले पनि दुव्यर्सनी नगर्ने।
३. स्टिम/साउना बाथ लिएको १/२ घण्टापछि मात्र कुनै प्रकारको अन्य पेय-पदार्थ वा ठोस पदार्थ खाने।
४. एकदमै थाकेको बेला तुरुन्तै स्टिम/साउना बाथ नगर्ने। अराम भएपछि मात्र लिने।
५. स्टिम/ साउनाभित्र पानी बाहेक अन्य केही पनि नखाने।
६. स्टिम/साउना बाथ चेम्बरभित्र कुनै प्रकारको शारीरिक अभ्यास/कसरत नगर्ने।
७. स्टिम/साउनापछि धेरै चिसो पानीले ननुहाउने।
कसले स्टिम/साउना बाथ लिनु हुँदैन?
- रक्तचाप कम भएका
- पटकपटक ब्लड सुगर कम हुने बिरामी
- अति उच्च रक्तचाप भएका
- रगत आउने र रगत आएर रोकिन धेरै समय लाग्ने रोग भएमा
- छारे रोग भएका
- नसाको समस्या भएर तापक्रम थाहा नपाउने रोग भएमा
- ज्वरो आएको अवस्थामा
- छालामा तीव्र रुपमा फोकाहरु उठ्ने समस्या भएमा
- मधुमेहले गर्दा ज्यान एकदमै कमजोर भएमा
- मुटु एकदमै कमजोर भएमा
- चक्कर लाग्ने समस्या भएमा
- मिर्गौला एकदमै कमजोर भएमा
जुनसुकै रोग भएका व्यक्तिले पनि प्राकृतिक चिकित्सकको सल्लाह वा निगरानीमा मात्र स्टिम वा साउना बाथ लिँदा भइपरी आउने समस्याबाट बच्न सकिन्छ।
(डा श्रेष्ठ प्राकृतिक चिकित्सा विज्ञ हुन्)