डा असीम महत
करिब एक साताअघि चितवनको अस्थायी अस्पतालको आइसोलेसनमा कोरोना शंका गरिएका एक युवकको मृत्यु भयो। त्यसैगरी चैत १६ मा बुटवलको कोरोना अस्पतालमा दुबईबाट आएका कोरोनासँग मिल्दा लक्षण गरेका अर्का युवाको मृत्यु भयो। त्यस लगत्तै चैत १७ मा काठमाडौंका विभिन्न अस्पतालमा त्यस्तै रोगको प्रकृति गरेका ४ जनाको मृत्युको खबर आयो। यीमध्ये ३ जनाको रिपोर्ट आइपुग्दासम्म सबैमा कोरोना नेगेटिव देखियो।
यहाँ प्रश्न कहाँनिर उठ्छ भने माथिका केही बिरामीको रोगको प्रकृति, लक्षण, यात्रा विवरण आदि सबै कुरा कोभिड १९ साग मिलिरहँदा रिपोर्ट कसरी नेगेटिभ? यसले अहिले लकडाउनमा फुर्सदिलो भएर बसेका आम मानिसमा अनगिन्ती शंका, टीकाटिप्पणी र विश्लेषण गर्ने बाटो खोलिदिएको छ। सबैको शंकाको विषय बनेको यी रिपोर्टहरुका केही प्राविधिक पक्षबारे छलफल गर्नु नरुरी देखिन्छ।
खासमा रिपोर्ट नेगेटिभ दुई कारणले आउन सक्छ। या त बिरामीमा कोरोनाको सक्रमण साँच्चिकै नभएमा या त संक्रमण भएर पनि विविध कारणले टेस्टमा नदेखिएमा जसलाई हामी 'फल्स नेगेटिभ' भन्छौं। कोरोनाको सन्दर्भमा फल्स नेगेटिभ हुने कारणहरु यस्ता छन्ः
१. सेन्सिटिभिटी अर्थात् संक्रमण भएको व्यक्तिमा टेस्ट पोजिटिभ हुने सम्भावना। कुनै पनि टेस्टको सेन्सिटिभिटी सत प्रतिशत हुँदैन। कोरोनाको खण्डमा अमेरिकाको प्रतिष्ठित जर्नल “जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसन“ मा प्रकाशित एक अध्ययन अनुसार बिरामीको घाँटी र नाकको भित्रबाट लगिने स्वाबको नमुनाको सेन्सिटिभिटी क्रमशः ३२ र ६३ प्रतिशत मात्र छ। अर्थात् यदि सय जना पक्का कोरोना लागेका व्यक्तिमा यो टेस्ट गरेमा घाँटीको स्वाबद्वारा ३२ जनामा मात्र यो टेस्ट पोजिटिभ आउने छ भने नाकको स्वाबद्वारा ६३ जनामा मात्र पोजिटिभ आउने छ, जुन एकदमै न्यून हो।
अहिले संसारभरि र नेपालमा पनि अपनाइएको तरिका यही नै हो। फरक यति हो, अरु देशमा एक पटक नेगेटिभ आएको बिरामीलाई पुनः टेस्ट दोहोर्याइन्छ र अरु खाले नमुना पनि परीक्षण गरिन्छ, जुन परिपाटी हाम्रोमा भने छैन।
२. नमुना संकलन गरिएको समयले पनि टेस्टको रिपोर्टमा फरक पार्न सक्छ। शरीरमा कोरोना संक्रमणको लक्षण देखिन औसतमा पाँचदेखि सात दिन लाग्न सक्छ। तसर्थ संक्रमित भए तापनि शरीरमा पर्याप्त भाइरसको संख्या नबनिसकेको अवस्था वा संक्रमित भएर पनि आफै विस्तारै निको भइरहेको अवस्थामा टेस्ट नेगेटिभ आउन सक्छ। यो तथ्य लागू हुने भनेको क्वारेन्टाइनमा बसेका, संक्रमित पुष्टि भइसकेकाहरुसँगै विदेशबाट आएका र संक्रमितका नजिक रहने मान्छेहरुमा हो। यी मानिसहरु संक्रमित भइसके तापनि लक्षण देखा नपरिसकेका र उपयुुक्त समयमा नमुना संकलन नहुँदा नेगेटिभ देखिन सक्छन्।
३. कोरोनाको लागि मुख्यतयाः गरिने भनेको नाकभित्र र घाँटी भित्रको स्वाब परीक्षण हो। यी नमुनाको संकलन गरेर पठाउनेदेखि लिएर प्रयोगशालामा टेस्ट गर्ने बेलासम्म अपनाइनुपर्ने धेरै प्राविधिक सावधानीहरु छन्। जस्तैः गुणस्तरीय स्वाबको नमुना संकलन र प्याकिङ, तोकिएको समयावधिमा २-८ डिग्रीको तापक्रम कायम गरेर प्रयोगशालासम्म पठाउने व्यवस्था र अन्त्यमा प्रयोगशालामा त्रुटिरहित परीक्षण। हाम्रो देशमा अहिलेसम्म जम्मा २ वटा प्रयोगशाला (यो लेख तयार हुनेबेला सम्म) मा कछुवाको गतिमा नमुना परीक्षण हुने र जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका बिरामीको नमुना संकलन गरेर काठमाडौं पठाउनुपर्ने परिप्रेक्ष्यमा माथिका सावधानीहरुमा कमी रहने प्रशस्तै बाटा देखिन्छन्।
तसर्थ, यी समस्याहरुलाई न्यूनीकरण गर्न र धेरैभन्दा धेरै संक्रमितलाई सही निदान गरेर पोजिटिभको ट्याग लगाउन हामीले अपनाउन सकिने तरिकाहरु निम्न देखिन्छन्ः
- सातै प्रदेशमा कोरोना परीक्षण गर्न गुणस्तरीय प्रयोगशाला सञ्चालनमा ल्याउने र टेस्ट किटहरुको अभाव हुन नदिने।
- नाक र घाँटीको स्वाब मात्र नभएर बाह्य देशहरुझैं खकार र फोक्सोको तल्लो भागको नमुनाबाट पनि परीक्षण गर्ने र साथसाथै छातीको सिटी स्क्यान पनि सहजै गर्न सकिने परिपाटी मिलाउने।
- शंकास्पद बिरामीलाई एउटा टेस्टको आधारमा मात्र नेगेटिभ भनेर तोक्ने भन्दा पटक पटक दोहोर्याएर निदानको दायरामा ल्याउन खोज्ने।
- संक्रमितहरुको सम्पर्कमा आएका प्रत्येक व्यक्तिलाई कडाइका साथ ट्रेसिङ गरेर परीक्षण गराउने
हुन त तीन महिनाको अवधिमा जम्माजम्मी हजार जनाको मात्र नमुना परीक्षण भएको अवस्थामा माथिका केही सुझावहरु महत्वाकांक्षी लाग्न सक्छन्। तर वास्तविकता यही हो कि कुनै पनि महामारीलाई नियन्त्रण गर्ने मुख्य सिद्धान्त भनेकै समयमै धेरैभन्दा धेरै संक्रमितको पहिचान गर्नु र समयमै उपचार गर्नु हो। अहिले अमेरिकामा धेरै संक्रमित भेटिनुको मुख्य कारण पनि यही नै हो।
विश्वभरि संक्रमितको संख्या ह्वात्तै बढिरहँदा हाम्रोमा निकै थोरैमा सीमित हुनु एकातिर राम्रो मान्न सकिन्छ भने अर्कोतिर यसले धेरै प्रश्न पनि उठाइरहेको छ। तसर्थ हाम्रो अहिलेको अवस्था भनेको वास्तविकताबाट अन्जान रही एउटा अन्धकार कोठामा डर र शंकाबीच बसेको झैं भइरहेको छ। आशा गरौं,जब उज्यालो हुनेछ, धेरै ढिलो भएको हुने छैन।