डा अनुपराज उप्रेती
अमेरिकामा युएसएफडिएले कोरोनाको उपचारार्थ आपतकालीन प्रयोगका लागि क्लोरोकुइन प्रयोग गर्ने अनुमति दिएको छ। त्यसैगरी नेपालमा पनि एक प्रतिष्ठित औषधि कम्पनीले कोरोना भाइरसको उपचारको लागि आवश्यक परेमा प्रयोग गर्न निःशुल्क रुपमा क्लोरोकुइन उपलब्ध गराउने प्रतिबद्धता गरेको छ।
तर, यस औषधिको कोरोना भाइरसविरुद्ध प्रभावकारिताबारे आजसम्म क्लिनिकल ट्रायलबाट पुष्टि भइसकेको छैन। फ्रान्समा २६ जनामा गरिएको एक अनुसन्धानले क्लोरोकुइनको प्रयोग गरिएको केही दिनमा ७० प्रतिशत बिरामीमा करोना भाइरस पिसिआर नेगेटिभ देखिए तापनि यस अनुसन्धानको विश्वसनियतामाथि धेरै वैज्ञानिकले प्रश्न उठाएका छन्।
अनौठो के छ भने यस अध्ययनको क्रममा एक जना बिरामीको मृत्यु समेत भयो, जसको मृत्युका बखत करोना भाइरस पिसिआर नेगेटिभ थियो।
अमेरिकन जनरल एनल्स अफ इन्टरनल मेडिसिनमा प्रकाशित एक लेखले भने क्लोरोकुइन प्रयोगमा चीनमा मध्यम वा ठिकै लक्षण भएको कोरोना संक्रमित बिरामीमा यस औषधिको प्रयोगबाट रिकभरी रेटमा खासै फरक नभएको निष्कर्ष निकालेको जानकारी दिएको छ। यो भनिरहँदा क्लोरोकुइन प्रयोग कोरोनामा अनुचित हुन्छ भनेर ठोकुवा गर्नु पनि उचित हुँदैन। तर कोरोनामा प्रयोग गर्ने हो भने हामीले कोरोना भएका बिरामीलाई क्लिनिकल ट्रायलमा राखेर यअ औषधिको प्रयोग गर्दा अझ बढी उचित र इथिकल हुन्छ भन्ने मलाई लाछ। यसका लगि नेपाल स्वास्थ्य अनुसन्धान पारिषद्ले क्लिनिकल ट्रायल भइराखेको देश वा संघसंस्थासँग समन्व्य गरी क्लोरोकुइनको प्रयोगमा नियमन गर्न अध्ययन गर्नुपर्छ।
औषधि व्यवस्था विभागले भने क्लोरोकुइनको प्रयोग केकस्तो अवास्थामा कोरोनाको उपचारमा गर्न सकिन्छ भनेर नेपाल मेडिकल काउन्सिलसँग बसेर गृहकार्य गरी उपचार विधि बनाउन छलफल जारि गर्नुपर्ने देखिन्छ।
सतर्कता
केही दिन अगाडि मात्र सामजिक सञ्जालमा क्लोरोकुइन औषधिले कोरोना ठिक हुने प्रचारबाजीको कारण औषधि पसलमा समेत यो औषधि किन्नेको भीड देखियो र अभाव समेत सिर्जना भयो।
कतिपय देशमा मानिसहरुले यो औषधि चिकित्सकको बिना निगरानीमा खाँदा मृत्यु समेत भयो। औषधिको नकारात्मक असरबारे जानकारी नलिई जथाभावी सेवन गर्दा फाइदा भन्दा हानि गर्दछ। तसर्थ औषधि व्यवस्था विभागले यस औषधिको प्रयोगमा नियमन गर्नुपर्ने देखिन्छ र जनमानसमा सचेतना फैलाउनुपर्ने देखिन्छ। यो औषधिको प्रयोगबाट केहीलाइ मुटुमा समस्या हुने गरेको समेत पाइएको छ।
(डा उप्रेती क्लिनिकल फार्मासिस्ट हुन्)