डा इन्दिरा पराजुली
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन। सुरुमा चीनको वुहानबाट नेपाल फर्काइएकामध्ये एक व्यक्तिबाट देखिएको यस संक्रमण दिनप्रतिदिन बढ्ने क्रममा रहेको छ। कमजोर स्वास्थ्य व्यवस्था भएको हाम्रो जस्तो मुलुकले अझै पनि रोग फैलने क्रमलाई रोक्नुको विकल्प नभए तापनि संक्रमितको संख्या बढ्ने क्रमसँगै वातावरणीय स्वास्थ्यमा समेत जोड दिन आवश्यक देखिएको छ।
कोरोना भाइरस के हो?
कोरोना भाइरस आरएनए भाइरस भएकोले यसलाई वातावरणीय परिवर्तनले सजिलै म्युटेसन गराउने हुँदा बेलाबेलामा यसका नयाँनयाँ प्रजातिहरुको (मर्स, सार्स कोभ–१, सार्स कोभ–२) विकास भई यिनीहरुले विभिन्न खालका श्वासप्रश्वास सम्बन्धी रोगहरु लगाउने र मानिसको मृत्युसम्म गराउने देखिएको छ। माथि उल्लेखित मानिसको ज्यान लिनसक्ने कोरोना भाइरसको प्रजातिमध्ये अहिले फैलिएको सार्स कोभ–२ एक नयाँ प्रजाति हो, जसलाई नोबेल कोरोना भाइरस पनि भनिन्छ। यसले लगाउने रोगलाई कोभिड–१९ भनिएको छ। जुन जनावरबाट आयातित भए तापनि यो मानिसबाट मानिसमा सर्ने गर्छ।
कोरोना भाइरस कसरी फैलन्छ ?
जब एक संक्रमित व्यक्तिले हाछ्युँ गर्छ वा खोक्छ, यसरी एकपटक हाछ्युँ गर्दा कम्तीमा ३ हजार थोपा निस्कन्छन्। जसमा रहेका भाइरसहरु संक्रमित व्यक्तिको हात वा श्वास हँुदै घरका ढोकाको हेन्डिल, बिजुलीको स्विच बटन, स्कुल, होटल वा क्याफेका भाँडा, खाट, टेबुल लगायतमा अवतरण गर्छ।
यी वस्तुहरु छोएमा जोसुकैमा पनि जुनसुकै बेला भाइरसको संक्रमण हुनसक्छ। यसको संक्रमण दर मौसमी रुघाखोकी भन्दा पनि बढी हुन्छ। मौसमी रुघाखोकी लागेको एकजना बिरामीले १.३ देखि १.५ जनामा फैलाउन सक्छ भने कोभिड–१९ ले २.३ जनामा फैलाउन सक्छ। यसरी नै मौसमी रुघाखोकीले भन्दा कोभिड–१९ को कारण ३० गुणा बढी मृत्युदर देखिएको छ।
कोभिड–१९ को मुख्य २ वटा संक्रमणका माध्यम भनेका श्वाप्रश्वासको माध्यम र सम्पर्कको माध्यमहरु नै हुन्। जब संक्रमित व्यक्तिले हाछ्युँ गर्छ वा खोक्छ, त्यसै बखत निस्कने मसिना थोपाहरु कुनै पनि व्यक्तिमा सोझै प्रवेश गर्न सक्छ वा वस्तुको सतहमा पर्दा सोही सतहमा सक्रिय रहन सन्छ। यसरी संक्रमित व्यक्ति वा वस्तुहरुको सम्पर्कमा स्वस्थ्य व्यक्ति आउँदा रोग सर्ने गर्छ। यसलाई नै सम्पर्कबाट सर्ने माध्यम भनिन्छ।
कोरोना भाइरस कहाँ, कति समय बाँच्छ?
विभिन्न वस्तुका सतहहरुमा कोरोना भाइरसका जिवाणुहरु केही मिनेटदेखि धेरै दिनसम्म बाँच्ने सम्भावना हुन्छ। जसको विवरण यस प्रकार छः
– हाछ्यु गर्दा निस्कने थोपा– ३ घन्टा
– तामाको सतहमा– ४ घण्टा
– प्लाष्टिक तथा स्टिलको सतहमा– २ देखि ३ दिन
– कार्डबोर्ड सतहमा– २४ घण्टा
– काठजन्य सामानमा– ४ देखि ९ घण्टा
– मोबाइल फोन स्क्रिन– ९६ घण्टा
– प्लाष्टर गरेको भित्ता– ३६ घण्टा
– शिशाको सतह– ९६ घण्टा
– हावामा भएको पानीको शूक्ष्म थोपा ९५ माइक्रोमिटर भन्दा सानो०– आधा घण्टा
– हावामा भएको पानीको शूक्ष्म थोपा ६ फिट उचाईबाट जमिन सतहमा आइपुग्न– ३४ मिनेट
– खानेपानी तथा फोहोरपानीमा– २ दिन
कोभिड–१९ नियन्त्रणका उपायहरु
हाल फैलिइरहेकोे कोभिड–१९ रोग नियन्त्रणका निम्ति देहायका उपायहरु अपरिहार्य देखिन्छन्ः
१) मुहान (स्रोत) नियन्त्रण
२) फैलावट नियन्त्रण
३) निदान तथा उपचार
उल्लेखित तीन चरणको व्यवस्थापनमा वातावरणीय स्वास्थ्य व्यवस्थापनको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ। यसरी वातावरणीय स्वास्थ्य व्यवस्थापनका दृष्टिले हेर्दा निम्न उल्लेखित उपायहरुमा ध्यान दिन अति जरुरी देखिन्छ।
१. हातको सफाइ
कुनै पनि चिज वस्तु छुँदा कोरोना भाइरस लगायतका अन्य रोग लगाउन सक्ने जीवाणुहरु हाम्रो हातमा प्रवेश गरेसँगै मानवलाई यसको संक्रमणको जोखिम बढ्दै जाने हुँदा वैज्ञानिक तरिकाले हात सफा गर्नु अति आवश्यक छ। तर हाल हामीले व्यवहारमा चल्दै आएको हात धुने तरिका भने वैज्ञानिक नभएकोले संक्रमणको खतरा रहनेसक्ने हाम्रो वास्तविकता हो। त्यसैले विश्व स्वास्थ्य संगठनले सुझाएको हात धुने तरिकालाई हरेकको अभ्यासमा ल्याउनु अति आवश्यक छ। विश्व स्वास्थ्य संगठनका अनुसार तपसिल बमोजिमको अवस्था हेरि हात धुँदा २० सेकेण्डदेखि ६० सेकेण्ड समयसम्म हत्केलाको अगाडि–पछाडि तथा औंलाहरुको कापामा मिचेर धुनुपर्ने सुझाएको छ।
मैला नभएको हात (२० देखि ३० सेकेण्ड सम्म ७० प्रतिशत अल्कोहल (इथायल अल्कोहल) भएको ह्यान्ड स्यानिटाइजर (५ मि लि), साबुन, ह्यान्ड वास लगाएर मिच्ने)।
धुलो, मैलो भएको हात (४० देखि ६० सेकेण्डसम्म साबुनपानीले मिच्ने)
यस प्रकारको प्रभावकारी हात धुने तरिका देशका दूरदराजमा अवस्थित नेपालीहरुमा पुग्न नसकेको हालको अवस्थालाई मध्यनजर गरी नेपाल सरकारले देशमा हजारौंको संख्या (५२ हजारभन्दा बढी) मा रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम सहित कोभिड–१९ नियन्त्रणको एक माध्यमका रुपमा समुदायमा परिचालन गर्न अपरिहार्य देखिएको छ।
२. श्वासप्रश्वासको सरसफाइ
श्वासप्रश्वासको सरसफाइ भन्नाले शिष्टाचारयुक्त श्वासप्रश्वास भन्ने बुझिन्छ, जस्तैः
क) हाछ्यू गर्दा वा खोक्दाः
- टिस्यु पेपर वा कुइँनाले मुख ढाक्ने।
- आफ्नो टाउकोलाई अन्य व्यक्तिभन्दा कम्तीमा १ मिटरको दूरी राख्ने वा टाउको मोडेर टाढा लैजाने।
ख) प्रयोग गरेको टिस्यु पेपरलाई तत्कालै ढकनी भएको रद्धी टोकरीमा फ्याँक्ने।
ग) तत्काल वैज्ञानिक तरिकाले हात धुने।
घ) माक्सको प्रयोग गर्ने।
३. जीवाणुमुक्त वातावरण बनाउने
क) सरसफाइः यो जीवाणुमुक्त वातावरण सृजना गर्ने पहिलो उपाय हो। जसले बाह्य भौतिक वस्तुहरु जस्तैः धूलो, माटो र जैविक वस्तुहरु जस्तैः रगत, सिंगान, खकार, ¥याल, आदिबाट कुनै पनि सतह (ढोका, झ्याल, टेबुल, सरसामान) मा यी वस्तुहरुसँगै रहेका जीवाणुहरु हटाएर मुक्त गराउँछ।
ख) किटाणुशोधन (डिसइन्फेसन)ः सक्रिय र जीवित जिवाणुको संख्यालाई घटाई कम हानि गर्ने स्तरमा पु¥याउँछ। जसको लागि ०.५ प्रतिशत सोडियम हाइपोक्लोराइड, क्वाटनरी एमोनियाका यौगिकहरु जस्ता बजारमा उपलब्ध प्रमाणित रसायनहरुको प्रयोग गरिन्छ।
ग) निर्मलीकरणः सबै खालका शूक्ष्म जीवाणुहरुलाई निस्तेज पार्ने प्रक्रिया निर्मलीकरण हो। जस्तैः अटोक्लेभिङ्ग, इन्सिनेरेसन (भष्मीकरण) आदि पर्छन्।
४. संक्रमणजन्य वस्तुहरुको उचित सरसफाइ
क) लत्ताकपडाको सरसफाइः संक्रमितले प्रयोग गरेका कपडालाई तातोपानी (६० देखि ९० डिग्री तापक्रम) र सर्फले मेसिनमा धुने। तत्पश्चात्, ०.०५ प्रतिशत क्लोरिन पानीमा आधा घण्टा डुबाउने र घाममा सुकाउने। यदि कपडा धुने मेसिन उपलब्ध नभएमा कपडालाई एक ड्रममा तातो साबुन पानीमा डुबाउने र लठ्ठीको सहायताले छिटा नउछिट्टिने गरी चलाउने। ०.०५ प्रतिशत क्लोरिन पानीमा आधा घण्टा डुबाउने र घाममा सुकाउने। यसरी सफा गरिएका कपडाहरु बन्द झोलामा वा बिर्को भएको सफा भाँडोमा राखी ओसार्ने र बाह्य व्यक्तिको पहुँचभन्दा टाढा स्टोर गरी राख्नुपर्छ।
ख) हातमा लगाउने पन्जा, गाउनको व्यवस्थापनः पन्जा तथा गाउनलाई साबुनपानीले सफा गरी, ०.५ प्रतिशत सोडियम हाइपोक्लोराइडमा पानीमा आधा घण्टा डुबाउने र घाममा सुकाउने। एक पटक मात्र प्रयोग हुने पन्जा तथा गाउनलाई बिर्को भएको भाँडोमा फ्याँक्ने।
ग) पोखिएका संक्रमित तरल पदार्थहरुः बिरामीबाट निस्किएका तरल पदार्थहरु परेको सतहलाई किटाणुशोधनका लागि ०.५ प्रतिशत क्लोरिन झोललाई खन्याई (छरी) १० मिनेटसम्म रहन दिई त्यसपछि सफा पानीले पखाल्नुपर्छ।
५. वातावरणिय सरसफाइ
क) संक्रामक वस्तुहरु (फोहोरको) व्यवस्थापनः एकान्तबास क्षेत्रका सबै वस्तुहरुमा उत्तिकै संक्रमित हुने सम्भावना भएकाले यस्ता वस्तुहरुलाई संक्रमित फोहर विसर्जनकै तरिकाबाट विसर्जन गर्नुपर्दछ। संक्रमित वस्तु विसर्जन गर्ने व्यक्तिले व्यक्तिगत सुरक्षा कवज को प्रयोग अनिवार्य हुन्छ। संक्रमित फोहोरहरुलाई ओसारपसार गर्दा वरपरको वातावरणमा छिटाहरु परी संक्रमित हुनबाट जोगाउन कम चलायमान हुने गरी गर्नुपर्दछ।
संक्रमित वस्तुहरुलाई बिरामीको छेउमा राख्नुपर्दा नचुहिने झोला या बिर्को भएको भाँडोमा राख्ने व्यवस्था मिलाउनु पर्छ। फोहर विसर्जन प्रक्रिया अन्तर्गतका चरणहरुको पालना जस्तैः स्रोतमा घटाउने, छुट्टाउने, सकलन गर्ने, ओसारपसार गर्ने, भण्डारण गर्ने, निर्मलीकरण र विसर्जन गर्नुपर्दछ। तर यस प्रकारको फोहोरलाई नगरपालिकाबाट निस्कने अन्य फोहरसँग भने विल्कुलै मिसाउनु हँुदैन।
यसरी विसर्जन गर्दा संक्रमित फोहर वस्तुहरुको लागि निम्न बमोजिमका विधि प्रयोग गरी निर्मलीकरण गर्न सकिन्छः
- १० प्रतिशतको चुनाको घोल बनाई १० भाग फोहोरमा १ भाग घोल मिसाई हानिकारकत्व निर्मूल गर्न सकिन्छ।
- अटोक्लेभिङ्ग विधिः यो अटोक्लेभ उपकरणको प्रयोग गरेर गरिन्छ, जहाँ १२१ डिल्ग्री सेल्सियस र १५ पाउण्ड प्रेसरमा २० मिनेटसम्म राखी निर्मलीकरण गर्न सकिन्छ।
- भष्मीकरण विधिः यो विधिबाट प्लाष्टिकजन्य वस्तुहरु र क्लोरिन राखिएका वस्तुहरु भने जलाउनु हँुदैन। यो विधि ठूला अस्पतालहरुमा इन्सिनेरेटरमा गर्न सकिन्छ भने ससाना स्वास्थ्य उपचार केन्द्रहरुमा ड्रम या इँटाको च्याम्बरमा जलाएर गर्न सकिन्छ। स्रोतसाधनको अभाव भएको अवस्थामा खाडल खनेर जलाउने र जलाएको ठाउँलाई माटोले पुर्ने पनि गर्न सकिन्छ।
ख) हावाको माध्यमबाट हुने संक्रमणको सावधानीका उपायहरुः “एक व्यक्ति एक कोठा”, पर्याप्त भेन्टिलेसन भएको कोठा जहाँ प्राकृतिक हावा १६० लि. प्रति सेकेण्ड प्रति व्यक्तिका दरले आवतजावत भएको हुनुपर्ने। यदि यान्त्रिक भेन्टिलेसनको प्रयोग गरिएको भएमा कम्तीमा पनि प्रतिघण्टा १२ पटकसम्म कोठाबाट हावा विस्थापन हुने व्यवस्था गरिएको हुनुपर्दछ।
ग) खानेपानीको व्यवस्थापनः हालै गरिएको एक अध्ययनका अनुसार कोरोना भाइरस क्लोरिन नमिसाइएको धाराको पानीमा र अस्पतालबाट निस्कने फोहर पानीमा २० डिग्री सेल्सियस तापक्रममा २ दिनसम्म बाँच्नसक्ने जनाएको छ। त्यसैले खानेपानी तथा फोहोर पानीलाई मापदण्ड अनुसारको क्लोरिन राखी किटाणुसोधन गर्नु पर्दछ। जैविक प्रदुषणमुक्त खानेपानीको सुनिश्चितताको लागि क्लोरिन अवशेष (एफआरसी) अन्तिम धारासम्म ०.२ देखि ०.५ मिलिग्राम प्रति लिटर कायम राख्नुपर्दछ।
घ) फोहरपानी तथा शौचालयको व्यवस्थापनः क्वारेन्टाइन, एकान्तबास तथा उपचार केन्द्रबाट निस्कने फोहरपानीलाई सेफ्टी ट्यांकमा विसर्जन गर्ने गर्नुपर्दछ। शौचालयमा पानीको फोहोरा (फ्लसिङ्ग गर्दा) छिटाहरु फैलन नदिन ढक्कन लगाएर मात्र सफा गर्नु पर्दछ। सार्स कोभ–२ को बिरामीको दिसाबाट रोग सर्ने सम्भावना अत्यन्त न्यून रहन्छ। आजसम्म दिसाको सम्पर्कमा आएर मुखबाट निल्दा– दिसा मुखको माध्यमबाट सर्ने भन्ने प्रमाणित भएको छैन। तर हालैको एक अध्ययनका अनुसार अस्पतालबाट निस्कने फोहर पानीमा २० डिग्री सेल्सियस तापक्रममा यो भाइरस २ दिनसम्म बाँच्नसक्ने जनाएको छ।
यदि संक्रमित व्यक्तिको लागि अलग्गै शौचालय उपलब्ध नभएको अवस्थामा दिनको कम्तीमा २ पटक शौचालय सफा गरी ०.५ प्रतिशत क्लोरिन झोलले किटाणुशोधन गर्ने। यसरी सरसफाइमा संलग्न व्यक्तिले व्यक्तिगत सुरक्षा कवच भने अनिवार्य लगाउनु पर्दछ। पर्याप्त स्रोत, साधन र सुविधा र ठाउँ नभएका ससाना स्वास्थ्य उपचार केन्द्रहरुमा दिसापिसाबबाट वरपरको वातावरणलाई संक्रमित हुनबाट बचाउन खाल्टे चर्पीको प्रयोगलाई महत्व दिनु पर्दछ। यस्तो खाल्टे चर्पी भूमिगत पानीको सतहबाट कम्तीमा १.५ मि. माथि रहेको हुनुपर्दछ साथै भूमिगत पानीको स्रोतबाट कम्तीमा ३० मि. को दूरीमा निर्माण गर्नु पर्दछ।
तर, भूमिगत पानीको सतहको गहिराइ कम भएका ठाउँहरुमा नचुहिने ट्यांकीलाई पिटको रुपमा प्रयोग गनुपर्दछ। यस प्रकारको ट्यांकी भरिएपछि उक्त ट्यांकीमा १० प्रतिशतको चुनाको घोल बनाई १० भाग फोहोरमा १ भाग घोल मिसाई हानिकारक तत्व निर्मूल गर्न सकिन्छ।
ङ) हानिकारक रसायन तथा औषधिजन्य वस्तुहरुको व्यवस्थापनः हानिकारक रसायन तथा औषधिजन्य वस्तुहरुलाई छुट्टै संकलन गरी अम्लीय तथा क्षारीय तटस्थता विधि अपनाउनु पर्दछ र बनेको थेग्रोलाई अटोक्लेभिङ्ग विधिबाट निर्मलीकरण गर्नुपर्दछ।
अन्त्यमा, उल्लेखित वातावरणीय स्वास्थ्य व्यवस्थापनका सावधानीहरु अपनाउन सकेको खण्डमा कोभिड–१९ संक्रमणको चक्रलाई टुटाउन सकिन्छ। जसले गर्दा यस घातक रोग फैलावटमा कमी भई यसको नियन्त्रणमा टेवा पुग्न सक्ने देखिन्छ।
(डा पराजुली वातावरण स्वास्थ्य विज्ञ हुन्)