काठमाडौं- कपनमा बस्ने १८ वर्षीया युवतीमा कोरोना पोजेटिभ देखिएको समाचार आइतबारमात्रै फैलियो। किनभने आइतबार अबेरतिर बुढानिलकण्ठ नगरपालिकाका प्रतिनिधी र उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधी त्यहाँ पुगे। युवती बसिरहेको क्षेत्रलाई सिल गरे। धेरैलाई लाग्यो, 'नयाँ केस थपियो।'
स्थानीय नगरपालिकाले त्यहाँ कोरोना पोजेटिभ देखिएको पुष्टि गरेपनि स्वास्थ्य मन्त्रालय उक्त ठेगानामा कोरोना संक्रमित देखिएकोबारे मौन रह्यो।
मन्त्रालयले आइतबारको नियमित पत्रकार सम्मेलनमा समेत उक्त विषयमा नबोलेपछि धेरैलाई कपनमा बस्ने ती युवती कोरोना पोजेटिभ भएको खबर पत्याउन मुस्किल देखियो।
शनिबार सार्वजनिक उक्त केसबारे बुझ्दै जाँदा पत्ता लाग्यो, स्वास्थ्य मन्त्रालयले त शनिबार बिहान १० बजे नै प्रेस विज्ञप्ति जारी गरेर ती युवती कोरोना पोजेटिभ भएको सूचित गरिसकेको रहेछ। मन्त्रालयले उनीबारे विवरण प्रस्तुत गर्दै लेखेको छ, 'सर्लाही रामनगर ४ निवासी १८ वर्षीया महिला।'
कपन बस्ने ती युवती स्वास्थ्य मन्त्रालयका अनुसार सर्लाही 'निवासी' रहिछन्। सर्लाही निवासी भनेपछि उनलाई काठमाडौंमा खोजिने कुरा पनि भएन। सर्लाहीको स्थानीय तहले खोजी गर्यो र उनी काठमाडौंमै रहेको पत्ता लगायो।
मन्त्रालयले विवरण प्रस्तुत गर्दा सर्लाही भनेपनि त्यो उनको स्थायी ठेगानामात्रै रहेछ। उनले कोरोना परीक्षणका लागि स्वाब समेत काठमाडौंमै दिएकी रहिछन्।
कपनमा फर्निचर उद्योग चलाउँछ उनको परिवार। उनी केही आफन्तसहित केही दिनअघि सर्लाहीबाट काठमाडौं आएकी थिइन्। मोटरसाइकलबाट सर्लाहीदेखि काठमाडौं आएका उनीहरुको कोरोना परीक्षण गर्न स्थानीयले माग गरेपछि प्रहरीले उनीहरुको परीक्षण गराएको थियो।
टेकुमा पिसिआर परीक्षण भएकी उनी त्यहीँको आइसोलेसन वार्डमा उपचाररत छिन्। तर स्थानीय नगरपालिका भने ढिलो गरी खबर प्राप्त भएपछि आइतबारदेखि सक्रिय भयो। शंकास्पद ठानेर स्वाब लिएदेखि नै थाहा दिने प्रणाली भएको भए उनीसँग सम्पर्कमा आएका व्यक्तिबारे जानकारी पनि रिपोर्ट आउनेबित्तिकै पत्ता लाग्थ्यो। त्यसो नहुँदा ती युवतीको कन्ट्र्याक्ट ट्रेसिङदेखि सिलसम्मका काम आइतबारमात्रै गरियो।
त्यही प्रेस विज्ञप्तिमा अर्को व्यक्तिको ठेगाना छ- बर्दिया नार्खु ११ र उमेर २८ वर्षीया महिला। तर आइतबार थाहा लागेको छ, ती महिला नभइ पुरुष हुन्। उनको स्थायी ठेगाना पनि नार्खु नभइ लालपुर रहेछ। बस्ने काठमाडौंमै रहेछन् र स्वाब पनि काठमाडौंमै परीक्षण भएको हो।
उनलाई कोरोना पुष्टि भएपछि बर्दिया लालपुर शनिबार दिउसोदेखि बन्द गरिएको छ। तर उनी काठमाडौंको कालीमाटीमा राँगाको मासु व्यापार गर्दै आएका बुझिएको छ। उनी गत वैशाख २९ गते लालपुरबाट ट्रक चढेर काठमाडौं आइपुगेका थिए।
उनी चढेको ट्रक धनगढीको रहेको र सोही ट्रकमा उनी काठमाडौं फर्केको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख गोकर्ण गिरीले बताएका छन्।
संक्रमितका परिवारमा २२ जना छन्। सबैको आज पिसिआर परीक्षण गर्ने तयारी भइरहेको छ। तर, काठमाडौंमा उनको कन्ट्र्याक्ट ट्रेसिङ हुने क्रममै छ।
यसअघि दाङ तुलसीपुर भनिएका एक कोरोना संक्रमित पनि काठमाडौंमै रहेको पाइएको थियो। उनको स्थायी ठेगाना र उमेर समेत गलत पर्दा दाङको तुलसीपुर- ७ र शिक्षण अस्पतालमा त्रास फैलिएको थियो।
स्वास्थ्य मन्त्रालय सहप्रवक्ता डा समीरकुमार अधिकारी पनि स्थायी ठेगानाका कारण केही समस्या उत्पन्न भएको स्वीकार्छन्। तर, स्वाब संकलन गर्ने क्रममा ठेगाना सोध्दा उनीहरुले स्थायी ठेगाना बताउने र फिल्डमा रहेका कर्मचारीले त्यही टिपेर मन्त्रालयको सिस्टममा पठाउने गरेको बताउँछन्।
उनी भन्छन्, 'यस विषयमा हामीले छलफल चलाएका छौं।' तर यसले कन्ट्र्याक्ट ट्रेसिङमा खासै असर नपर्ने उनको दाबी छ। भन्छन्, 'स्वाब संकलन गर्ने कर्मचारीलाई पोजेटिभ आउनेबित्तिकै थाहा हुन्छ र सम्पर्कमा ल्याएर काम सुरु भइहाल्छ।'
यो पनि :