सबिना पन्त
गत पुस अर्थात् डिसेम्बर ३१ मा चीनबाट सुरु भएको कोभिड–१९ अहिले संसारभरि महामारीको रुपमा फैलिसकेको छ। चीन र अमेरिकामा देखिएको प्रवृत्ति अनुसार अन्य उमेर समूहको तुलनामा बच्चामा यो भाइरसको संक्रमण दर कम देखिएको छ।
विश्वका अन्य मुलुकमा बच्चामा कोरोना भाइरसको संक्रमण २.४ प्रतिशत मात्र देखिए पनि नेपालमा भने २९२ जना संक्रमित हुँदा ६५ जना २० वर्षभन्दा कम उमेर समूहका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो। अर्थात् नेपालमा बच्चामा संक्रमण दर २२.२६ प्रतिशत रहेको थियो। यसलाई आधार मानेर हेर्दा नेपालमा बच्चामा संक्रमण अन्य देशको तुलनामा केही उच्च हुने अनुमान लगाउन सकिन्छ।
संक्रमण सँगसँगै हाल विश्वका ६० प्रतिशत बालबालिका अांशिक वा पूर्ण लकडाउन झेल्न बाध्य छन्। सम्पूर्ण स्कुल र कलेज बन्द छन्। यसले प्रत्यक्ष र अप्रत्यक्ष असर बच्चाको चौतर्फी विकासमा परेको छ। ती असर यसप्रकार छन्ः
पोेषण
कोभिड–१९ को संक्रमणले आर्थिक हिसाबले सबल र दुर्बल देशबीच गहिरो खाडल सिर्जना गरेको छ। आर्थिक हिसाबले सबल देश र परिवारका बच्चाहरुमा मोटोपनाको समस्या देखापरेको छ। जसले भविष्यमा नसर्ने रोगहरु निम्त्याउने सम्भावनालाई अझ बढावा दिएको छ। अर्कोतिर आर्थिक हिसाबले कमजोर (अफ्रिकी, दक्षिण एसियाली) देशहरु जहाँ स्कुलमा दिने खाजा नै बच्चाको पोषणको मुख्य स्रोत थियो, त्यहाँका बच्चामा कुपोषणको सम्भावना बढेर गएको छ।
शिक्षा
लकडाउनसँगै सुरु भएका अनलाइन, रेडियो तथा टेलिभिजन क्लासमा एकातर्फ सबै वर्गका बच्चाको पहुँच छैन भने अर्कोतिर यस्ता कक्षाबाट हुने सिकाइले शिक्षाको गुणस्तरमा पनि गम्भीर प्रश्न चिन्ह्न खडा गरेको छ।
खोप
लकडाउनसँगै धेरै देशले आफ्ना नियमित खोप सेवाहरु बन्द गरेका छन्। जसले खोपबाट न्यूनीकरण गर्न सकिने रोगहरुको जोखिमलाई बढाएको छ।
साइबर अपराध
दिनभरि घरमा बस्दा बच्चाहरु इन्टरनेटका विभिन्न साइटमा जान्छन्। कुन साइट सही र कुन गलत छुट्याउन नसक्दा विभिन्न आतंक, यौन शोषण जस्ता समस्याको जोखिम बढेर गएको छ।
मानसिक असर
कोभिड–१९ सँगै बढेको सामाजिक दूरी, आइसोलेसन आदिले बच्चामा एक्लोपनाको महसुस गराएको छ। बुबाआमाको रोजगारी गुम्दा पारिवारिक–आर्थिक संकटले बालबच्चाको मानसिकतामा अझ बढी असर गरेको देखिन्छ। स्कुल, साथीभाइ, परिवारसँग छुट्टिनु पर्दा सेपरेसन इन्जाइटी रोगबारे उचित जानकारी प्राप्त नहुनु, संक्रमणको डर, मृत्युको भय आदिले बच्चाको मानसिक स्वास्थ्यमा नकारात्मक असर गरेको छ।
असर न्यूनीकरण गर्न के गर्ने?
— बच्चालाई सन्तुलित आहार खुवाउने
— बच्चाको उमेर अनुसार उपयुक्त व्यायाम गर्न लगाउने
— दैनिक कार्यतालिका बनाएर यसलाई नियमित पालना गर्न लगाउने
— हालको अवस्थामा अभिभावक नै बच्चाको शिक्षक, साथी भएकाले अभिभावकले आफ्नो बहु भूमिकालाई सहि तरिकाले निर्वाह गर्ने।
— कुपोषणलाई मल्टिसेक्टरल एप्रोचबाट निवारण गर्ने
— इ–लर्निङको पहुँच सबैमा पु¥याउने र यसको गुणस्तर बढाउन सरकारी स्तरबाट नै नीति तथा कार्यक्रम बनाउनु जरुरी छ।
— सरकारी स्तरबाट नै सामाजिक दूरी कायम गरी र उचित व्यक्तिगत कवच (पिपिई) प्रयोग गरी नियमित खोप सेवा सञ्चालन गर्न लगाउने।
— विभिन्न सञ्चार माध्यम (रेडियो, टेलिभिजन) बाट साइबर अपराध बारेमा चेतना फैलाउने। अभिभावकले आफ्नो निगरानीमा मात्र बच्चालाई इन्टरनेट चलाउन दिने।
— कोभिड–१९ बारे बच्चालाई सही सूचना र जानकारी उनीहरुले बुझ्ने गरी दिने।
— विभिन्न सञ्चार माध्यमबाट बाल मनोविज्ञानसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्ने।