काठमाडौं– जेठ ३ गते बाँके नरैनापुरको क्वारेन्टाइनमा रहेका २५ वर्षे युवाले स्वास्थ्यमा समस्या आएको ३ घन्टापछि ज्यान गुमाए।
सुविधासम्पन्न अस्पतालहरु रहेको नेपालगञ्ज सहरबाट ३५ किलोमिटरको दूरीमा ती युवा ज्वरो, झाडाबान्ताले छट्पटाउँदा पनि उपचारका लागि अस्पताल पुग्न सकेनन्। मृत्यु भएपछि आएको परीक्षण रिपोर्ट उनलाई कोरोना संक्रमण पोजेटिभ भएको पृष्टि गरिएको थियो।
दैलेखको दुल्लु नगरपालिकामा क्वारेन्टाइनमै एक युवकको ज्यान गयो। गत ७ जेठमा भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका युवकको त्यहीँ ज्यान गएको थियो। क्वारेन्टाइनमा बसेको १० दिनसम्म पनि ती युवकको कोरोना परीक्षण हुन सकेको थिएन। मृत्यु भएपछि मात्र स्वाब परीक्षण गरिएका उनको रिपोर्ट पोजेटिभ आएको थियो।
क्रिमसन अस्पताल भैरहवामा उपचाररत पुरुषबाहेक अन्य ७ जना व्यक्तिको पनि मृत्युपछि मात्रै कोरोना परीक्षण भएको र संक्रमण रहेको मन्त्रालयले जानकारी दिएको छ।
सरकारले हरेक क्वारेन्टाइन स्थलमा एक स्वास्थ्यकर्मी र एम्बुलेन्स २४ घण्टा तयारी अवस्थामा राख्ने कागजी व्यवस्था गरेको छ। तर पछिल्लो समयमा नेपालका क्वारेन्टाइनको अवस्थाले सरकारको गैरजिम्मेवारीपन दर्शाइरहेको छ। चिकित्सक र एम्बुलेन्सको त कुरै छोडौँ, खाने, बस्ने व्यवस्था समेत दयनीय छ।
नेपालको अस्तव्यस्त क्वारेन्टाइनमा मापदण्डभन्दा बढी मानिसहरु कोचेर राखेका कारण संक्रमण तीव्र रुपमा फैलिएको आशंका गर्न थालिएको छ।
नेपालमा देखिएका कोरोना संक्रमितमध्ये ८० प्रतिशत क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ। मृत्यु भएका व्यक्ति पनि अधिकांश क्वारेन्टाइनमा उपचार नपाएर मृत्यु भएको खबर आइरहेको छ।
शुक्रबार बिहानसम्मको मन्त्रालयको तथ्यांक अनुसार देशभर २६३४ संक्रमित देखिएका छन्। जसमध्ये, २९० जना निको भइसकेका छन् भने ११ जना संक्रमितको मृत्यु भइसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा सरकारले बनाएको मापदण्ड अनुसार क्वारेन्टाइन भए–नभएको अनुगमन गर्ने, नभए सोही अनुसार गर्न सुरक्षा निकाय र स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताउँछन्।
उनले भने, ‘नियमित अनुगमन गरी मापदण्ड कायम गराउन समस्या भएमा प्रदेश वा स्वास्थ्य मन्त्रालयमा खबर गर्नुपर्छ। मन्त्रालयले त्यसको लागि आवश्यक समन्वय र सहयोग गर्छ, गर्नुपर्छ।’
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले पनि पछिल्लो समय संक्रमण देखिएका अघिकांश ८० प्रतिशत व्यक्ति भारतबाट आई क्वारेन्टाइनमा बसेकाहरु रहेको बताए।
एकातिर मन्त्रालय आफैले संक्रमितमध्ये ८० प्रतिशत क्वारेन्टाइनका व्यक्ति भनिरहेको छ भने अर्कोतिर, क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षण नगरी घर पठाउने रणनीतिमा सरकार लागेको छ।
जेठ २० गते स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वीकृत गरेको ‘नेशनल टेष्टिङ गाइडलाइन फर कोभिड१९’मा हाललाई क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको १४ दिनपछि आरडिटी परीक्षण मात्र गरेर घर पठाउने उल्लेख छ।
जबकि आरडिटी टेष्टलाई संक्रमण भएनभएको निश्चित गर्ने आधारका रुपमा मान्न नसकिने सरकार आफैले बताउँदै आएको छ।
’एकातिर, ८०प्रतिशत संक्रमित क्वारेन्टाइनबाटै देखिएको छ भन्ने अर्काेतिर अबदेखि क्वारेन्टाईनमा रहेका व्यक्तिलाई परीक्षण नगरी घर पठाउने रणनीति बनाउनुले जनस्वास्थ्यमा गम्भीर खेलबाढ गरिदैछ भन्ने देखाउँछ,’ मन्त्रालय स्रोतले स्वास्थ्यखबरसँग भन्यो।
क्वारेन्टाइनमा परीक्षण गर्दा केस बढ्ने भएकाले बाहिर परीक्षण गर्ने र संक्रमितको संख्या कम देखाउन चाहेको देखिन्छ। क्वारेन्टाइनमा रहेका लाई परीक्षण नगरी घर पठाउनेबारे निर्णय भई मापदण्ड समेत तयार भईसकेको स्रोतको दावि छ।
आफैंले बनाएको मापदण्ड अनुसारका क्वारेन्टाइन बनाउन नसक्दा क्वारेन्टाइनमा बसेका धेरै व्यक्तिमा संक्रमण देखिएको छ। अबदेखि परीक्षण नै नगरी घर पठाउँदा समुदायमा संक्रमण फैलने खतरा समेत बढ्ने देखाउँछ।
नेपालका क्वारेन्टाइनको व्यवस्थापनले संक्रमण समुदायमा फैलन सक्ने भन्दै विज्ञहरुले सामाजिक सञ्जालमा विभिन्न खाले चिन्ता व्यक्त गरिरहेका छन्।
कोरोनाको रोकथाम साथै यसबाट बच्ने उपायको रुपमा क्वारेन्टाइन बनाइएको हो। नेपालजस्तै विश्वका अन्य देशले पनि क्वारेन्टाइनलाई प्रबर्धनात्मक र उपचारात्मक सेवा अबलम्वन गरेका छन्। पछिल्लो समय भारतबाट आई क्वारेन्टाइन बसेका व्यक्तिहरुमा संक्रमण बढ्दो छ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर एक लाख ६१ हजार २६२ जना व्यक्ति क्वारेन्टाइनमा बसेका छन्।
प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी सुदुरपश्चिम प्रदेशमा ५८ हजार २४१ जना क्वारेन्टाइनमा छन्। त्यसैगरी प्रदेश ५ मा ३६ हजार ५३९, कर्णाली प्रदेशमा ३२ हजार ५६५ व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।
गण्डकी प्रदेशमा ४ हजार २९७, बागमती प्रदेशमा ३ हजार २३८, प्रदेश २ मा २२ हजार ४१९ र प्रदेश १ मा ३ हजार ९३६ व्यक्तिहरु क्वारेन्टाइनमा बसेका छन्।
सरकारले अहिले औसत रुपमा २ हजार जनाको पिसिआर परीक्षण गरिरहेको छ। परीक्षण संख्या नबढाउने र अहिलेकै गतिमा परीक्षण भएको खण्डमा एक लाख ६१ हजार २६१ जनाको पिसिआर परीक्षण गर्न अझै तीन महिना बढी समय लाग्ने देखिन्छ।
भारतमा अझै पनि नेपाल भित्रनेको क्रम जारी रहेकाले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको संख्या पनि हरेक दिन बढ्दो क्रममा छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ ७ गते जारी गरेको ‘क्वारेन्टाइनमा रहेका व्यक्तिका लागि स्वास्थ्य सम्बन्धी व्यवस्था’ मा त्यहाँ हुनुपर्ने विषय उल्लेख गरेको छ। जसमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुले पालना गर्नुपर्ने र क्वारेन्टाइनमा हुनुपर्ने स्वास्थ्य व्यवस्था सम्बन्धी १६ बुँदे व्यवस्था उल्लेख छ।
क्वारेन्टाइनमा रहेका व्यक्तिले सम्बन्धित क्वारेन्टाइनबाट जारी गरेका आचारसंहिता अनिवार्य रुपमा पालना गर्ने र कोभिड–१९ को संक्रमणबाट जोगिनको लागि भौतिक दूरी कायम राख्ने, बेलाबेलामा साबुन–पानीले हात धुने र मास्कको प्रयोग गर्ने व्यवस्था गरेको छ।
क्वारेन्टाइनमा निम्न १६ स्वास्थ्य व्यवस्था हुनुपर्छ
१. क्वारेन्टाइनमा हुनुपर्ने स्वास्थ्य व्यवस्थामा क्वारेन्टाइन स्थलमा प्रतिसय जनासम्म लागि स्वास्थ्य सुरक्षा सामग्री सहित एक चिकित्सक (अन साइट÷अन कल), एक नर्स र एक पारामेडिक्स उपलब्ध हुनुपर्ने,
२. प्रत्येक क्वारेन्टाइनले स्थानीय कन्ट्याक्ट आइडेन्टिफिकेसन र कन्ट्याक्ट टे«सिङ (सिआइसिटी) टिमको समन्वयमा स्वास्थ्य व्यवस्थापन गर्ने,
३. क्वारेन्टाइनमा भएका व्यक्तिको कम्तीमा दिनको २ पटक स्वास्थ्य परीक्षण गर्ने, आवश्यक परामर्श दिने र आवश्यकता अनुरुप थप स्वास्थ्य सेवाको लागि रिफरको व्यवस्था मिलाउने, रिपोर्ट गर्ने,
४. स्वास्थ्य सम्बन्धमा केही जटिलता भएमा नजिकको अस्पतालसँग समन्वय गरी उपचार व्यवस्था मिलाउने,
५. एम्बुलेन्सको सम्बन्धमा नजिकको स्वास्थ्य संस्था वा एम्बुलेन्स सेवासँग समन्वय गरी २४ घन्टा एम्बुलेन्स सेवा सुुनिश्चित गर्ने।
६. प्रत्येक क्वारेन्टाइनमा अनिवार्य रुपमा कम्तीमा एक केजी अक्सिजन सिलिन्डर उपलब्ध हुनुपर्ने।
७. क्वारेन्टाइनमा रहेका बालबालिका, जेष्ठ नागरिक, गर्भवती सुत्केरी तथा दीर्घरोगीका लागि आवश्यक स्वास्थ्य सेवा तथा औषधिको व्यवस्था गर्ने।
८. क्वारेन्टाइन स्थलमा व्यक्तिगत सरसफाइ सामग्री र प्राथमिक उपचार सामग्रीको व्यवस्था मिलाउने।
९. क्वारेन्टाइनमा कम्तीमा ३ जना सरसफाइ गर्ने कर्मचारीको व्यवस्था मिलाउने, क्वारेन्टाइनमा डस्टबिनको व्यवस्था गर्ने तथा क्वारेन्टाइनबाट निस्किएको फोहोरलाई तोकिएको मापदण्ड अनुरुप व्यवस्थापन गर्ने।
१०. कोभिड–१९ को संक्रमणबाट जोगिनको लागि भौतिक दूरी कायम राख्ने, नुहाउन र हात धुनका लागि पर्याप्त सफा पानी तथा साबुनको व्यवस्था गर्ने, मास्क वितरण गर्ने,
११. क्वारेन्टाइन खाली भएपश्चात् २४ घन्टासम्म प्रयोगमा नल्याउने र सफाइपछि मात्र प्रयोग गर्ने।
१२. क्वारेन्टाइन स्थलमा सफा खानेपानी तथा स्वस्थ खानेकुराको व्यवस्था तालिका अनुसार मिलाउने।
१३. एक खाटदेखि अर्को खाटको बीचमा न्यूनतम दूरी कम्तीमा १ मिटरको हुनुपर्ने, आवश्यकता अनुसार झुलको व्यवस्था गर्ने।
१४. भौतिक दूरी कायम राख्दै शारीरिक व्यायाम, मनोपरामर्श सम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने।
१५. क्वारेन्टाइन स्थलमा प्रवेश गर्नुपर्ने अवस्थामा व्यक्तिगत सुरक्षा सामग्री अनिवार्य रुपमा लगाउने।
१६. क्वारेन्टाइनमा रहने व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्नुपूर्व र क्वारेन्टाइनबाट जाँदा स्वास्थ्य अवस्था जाँच गर्ने र रिपोर्ट गर्ने।
नेपालमा दिनानुदिन कोरोना संक्रमण बढ्दो छ। यसले अबका दिनमा स्वास्थ्य लगायत अन्य क्षेत्रमा पार्ने प्रभावको आकलन गर्न सकिन्छ।
क्वारेन्टिनमा भएका व्यक्तिलाई सरकारले पहिलो प्राथमिकतामा राखेर जाँचको दायरा बढाउनु पर्छ। जाँँच भएका व्यक्तिको नतिजा समेत चाँडो दिने व्यवस्था गर्नुपर्छ। जसबाट कुनै व्यक्ति संक्रमित भयो र उसलाई समयमा आइसोलेसनमा राख्न सकियो भने अरुलाई संक्रमण सर्ने दर कम हुन सक्छ।
बुधबार मात्र सरकारले कोरोना व्यवस्थापनमा १० अर्ब रुपैयाँ खर्च भएको बताएको थियो। तर कोरोना रोक्न बनाएका क्वारेन्टाइनहरुको अवस्था हेर्ने हो भने सरकारले आफैंले बनाएको मापदण्डको एक प्रतिशत पनि पूरा गरेको छैन। क्वारेन्टाइनको वास्तविकता हेर्दा त्यो रकम कहाँ खर्च भयो भन्ने गम्भिर प्रश्न उठिरहेको विज्ञहरु बताउँछन्।