डा सुरेश तामाङ
पृष्ठभूमि
हालको आधुनिक जीवनशैलीसँगै मदिरापान दुव्र्यसनको रुपमा बढिरहेको छ। यसलाई तीन तहमा हेर्न सकिन्छ, सामान्य, मध्यम र कडा। यो संसारका प्रमुख जनस्वास्थ्य समस्यामध्ये एक हो। यसले व्यक्तिको शारीरिक र मानसिक तथा सामाजिक जीवनमा अल्पकालीन र दीर्घकालीन रुपमा असर गर्छ। नेपालमा हाल बढ्दो नसर्ने रोगहरुको एक प्रमुख कारण मदिरापान पनि हो।
हालै प्रकाशित एक प्रतिवेदन अनुसार मदिरापन गर्नु कुनै अर्थमा पनि फाइदाजनक नभएको दावी गरिएको छ। यो तथ्यांक बेलायतको इम्पेरियल कलेज र अमेरिकाको इन्स्टिच्युट फर हेल्थ म्याट्रिक्स एन्ड इभ्याल्युसनले विश्वभरिका १९५ देशमा गरेको ग्लोबल बर्डेन अफ डिजिज स्टडी २०१६ ले देखाएको हो। यस अध्ययनमा सन् १९९० देखि २००६ सम्मका मदिरापानको प्रयोग र यसका असरहरुबारे तथ्यांक विश्लेषण गरिएको थियो। यस अध्ययनले यस अघिसम्म स्थापित ‘निश्चित मात्रामा मद्यपान गर्दा असर नहुने’ भन्ने मान्यतालाई तोडेको पनि छ।
विगतमा नेपालका कतिपय समुदायहरुमा सांस्कृतिक रुपमा विभिन्न चाडपर्व, पूजाआजा र अतिथि सत्कारमा मदिराको प्रयोग हुने गर्दथ्यो। हाल आएर हरेक जाति, धर्म र समुदायका मानिसहरुमा यसको उपयोग बढेको अनुमान छ। परम्परागत रुपमा नेवारहरुले ऐला, हिमाली जातिहरुमा छ्याङ, राई लिम्बु (किराँत) हरुले तोङबाको रुपमा मद्यपानको प्रयोग गर्ने गरेका थिए। तर आजकाल आधुनिक बोटल बन्द वियर, ह्विस्की वा ब्राण्डीका रुपमा यसको उपयोग अत्यधिक रुपमा हुने गरेको अवस्था छ।
विभिन्न अन्तर्राष्ट्रिय स्तर र ब्राण्डका रक्सी र वियर, ब्राण्डी, रम भोड्का तथा ह्विस्कीसम्म नेपालमै उत्पादित मदिराहरु हुन्। नेपालका साना–ठूला सहरमा यस्ता आधुनिक मदिराका कम्पनीहरुको विज्ञापन यत्रतत्र देखिन्छ। धेरैजसो सार्वजनिक कार्यक्रमका सौजन्य पनि तिनै कम्पनीहरुले गरेको देखिन्छ। केही वर्षअघि नै भोड्काको बजार सोचेभन्दा अत्यधिक रुपमा बढेको र एकै महिनामा ९० हजार बाकस भोड्का बिकेको हिमालय डिस्टिलरी लिमिटेडका मालिक विजय शाहको दावी रहेको थियो।
मदिरापानका शारीरिक र मनोसामाजिक असर
चिकित्सा विज्ञानका अनुसार मदिरा सेवनले मानव शरीरमा नकारात्मक असर त पार्छ नै। खासगरी कलोजोको रोग, ग्यास्ट्रिटाइटिस्, दूर्घटना र चोटपटकको सम्भावना हुन्छ। त्यसमाथि पनि यसको मनोसामाजिक असरहरु धेरै छन्। जस्तै अपराध, हिंसा, परिवार विचलन, बेरोजगारी र आर्थिक कठिनाइ, आघात र दुर्घटना, अपांगता र शीघ्र मृत्युवरण आदि। किनकि यसले सवारी साधान प्रयोग गर्दा बढी आत्मविश्वासी बनाउने, दृष्टिमा कमी ल्याउने र प्रतिक्रिया ढिला गर्ने बनाउँछ। यसले व्यक्तिमा उदासिनता, चिडचिडाहट, अनिन्द्रा, डिप्रेसन, मुड परिवर्तन (खराब) हुने तथा कमजोर मनस्थिति हुने गर्दछ। कतिपय अवस्थामा मनोसामाजिक रुपमा निराशा र असामाजिक व्यवहार गर्नेहरु मदिरापानका शिकार हुन्छन्।
कुनै व्यक्ति मदिरापानको दुव्र्यसनी कसरी हुन्छ? यो वंशाणुगत रुपमा पनि हुनसक्छ। यो समस्या दुव्र्यसनीको सन्तानमा सर्न सक्ने तर यो मध्यम स्तरको रहेको पाइएको छ। यो महिला तथा पुरुष दुवैमा देखिन्छ। आजकाल तनावमुक्त हुने नाममा, देखासिखी र रमाइलोका लागि मदिराको अत्यधिक सेवन गर्ने पनि चलन छ।
अत्यधिक मदिरा सेवनले स्नायुसम्बन्धी समस्या हुनसक्छ। मुर्छा पर्ने, दोधारे मन हुने, मस्तिष्क आघात र स्मरणशक्ति क्षीण हुन सक्छ। जसको असर बिर्सने, नर्भस र डिप्रेस्ड हुने तथा हिंसात्मक हुने हुन्छ।
यसका साथै अत्यधिक मदिरा सेवनबाट दुव्र्यसनीको घाँटी र मुखको क्यान्सर, कलेजो र प्यांक्रियाजको रोग, अल्सर र नशासम्बन्धी समस्याहरु हुन सक्छन्। खुट्टा झम्झमाउने र ढल्ने तथा नवजात बच्चा कम तौलको जन्मने र विभिन्न अपांगता वा कमजोरी हुन सक्छ। गर्भवती महिलाले अत्यधिक मदिरापान गर्दा ३५ प्रतिशत बच्चामा अपांगता वा कुनै प्रकारको खोट देखिएको छ। छातीको संक्रमण, रक्तअल्पता, मुटु सम्बन्धी रोग तथा रगत जम्नेसम्म पनि हुन सक्छ। त्यसैगरी भिटामिनको कमी भई कुपोषित हुने, ग्यास्ट्रिसाइटिस, वान्ता र झाडा पखाला समेत लाग्न सक्छ।
यसरी मदिरापानको कुलतमा फसेका व्यक्तिहरुमा मनोसामाजिक र परिवारिक समस्याहरु हुने गर्छ। उनीहरुमा बेरोजगार भई आर्थिक अभाव हुनु, दुर्घटनाको शिकार हुनुका साथै कानुनी झमेलामा पर्ने सम्भावना रहन्छ। अन्ततः एउटा दुव्र्यसनी सधंै पीडा, उदासिनता, कठिन जीवन, तनाव र कष्टको दुष्चक्रमा पर्दछ।
अबको बाटो
यस्तो दुव्र्यसनबाट बच्न आमनागरिक आपैmं सचेत र जिम्मेवार हुनुपर्छ। त्यसैले मदिरापन गर्दै नगर्नु सबैभन्दा बुद्धिमानी हुन्छ। मद्यपान गरेर सवारी साधन वा मेसिन औजार चलाउँदा त झन खतरा हुन्छ। त्यस्तै गर्भवती वा स्तनपान गराउने महिलाले पनि मदिरापान नगरेकै बेस हुन्छ। कतिपय औषधि खाएको बेलामा मद्यपान गर्नु थप घातक हुन्छ।
नेपालमा मदिरापान र यसको विविध पक्षहरु जस्तै शारीरिक र मानसिक समस्या, दुर्घटना, अपांगता, शीघ्र मृत्युवरण, पारपाचुके र परिवार विखण्डन आदिको बारेमा थप खोजविन र अध्ययन–अनुसान्धान गर्न जरुरी छ। सरकारले प्रस्तावित र कार्यान्वयन गरेको मदिरा नियन्त्रण र अन्य सार्वजनिक सेवा जस्तैः मादक पदार्थ सेवन (मापसे) र मदिरा खरिद र नियन्त्रण सम्बन्धी नीति तथा कार्यक्रमहरु पनि कडाइका साथ लागू गर्नु, गराउनुपर्ने देखिन्छ।
अहिलेको कोभिड महामारीको सन्दर्भमा पनि तनावका कारण मानसिक समस्या र विविध खाले दुव्र्यसन बढेको हुनाले कतिपयले मद्यपानको सहारा लिने सम्भावना हुन्छ। यसतर्फ पनि सबै सतर्क र संयमित रहन जरुरी छ।
(डा तामाङ जनस्वास्थ्यकर्मी र समाजकल्याण अभियन्ता हुन्।)