कोभिड-१९ विशेष

यसरी सम्भव भयो रेड जोनमा पिसिआर ल्याब स्थापना

डा रविन खड्का

उकालोमा ठसठस कन्दै गुडिरहेका मालबाहक ट्रक थिएनन् त्यहाँ। सिन्की कोचेझैं बसभित्र कोच्दा पनि नअटाएर छतको चारैतिर खुट्टा झुन्ड्याउनेको जमात पनि त्यहाँ थिएन। विश्व म्याराथनमा स्वर्ण पदक जितुँलाझैं गरी साइड माग्दै चिच्याएर हिँड्ने माइक्रो बसहरु पनि थिएनन् त्यहाँ। अनि त्यहाँ थिएनन्, पछाडि ठिटी च्याप्दै तीव्र गतिमा तलमाथि गरिरहने बुलेट बाइकका ताँती।

थिए त केवल, लमतन्न सुतेका सुनसान सडक, फाट्टफुट्ट देखिने एम्बुलेन्स र सवारी साधन। केही समयको अन्तरालमा आउने अघिपछि व्यस्त हुने ससाना बजार र बजारमा देखिएका सन्त्रस्त र भयभित अनुहारहरु।

०००

हामी चढेको गाडी इत्रामको चौतारीलाई दायाँ पार्दै तीव्र गतिका साथ उकालो चढिरहेको थियो। जसरी जिप बेतोडले कुद्थ्यो, त्योभन्दा तीव्र गतिमा मन दौडिन्थ्यो। घुमाउरा मोडहरुमा जिपसँगै मन पनि अमिलिएर कोल्टो पर्थ्यो। 

आफ्नै जन्मथलो भए तापनि पछिल्लो अवधिमा कोरोना ग्रस्त भई खतराको सूचीमा परेको दैलेख जिल्लाको यात्रामा थियौं हामी। हामीसँगै हुनुहुन्थ्यो, माननीय सांसद, राष्ट्रपति कार्यालयका उपसचिव र कोरोना ल्याबमा काम गर्ने विज्ञ साथीहरु।

रेडियो छापा अनलाइन र सामाजिक सञ्जालहरुमा आएका दैलेखका अनेक सूचना र समाचारहरुले सबैको ध्यान खिचेका थिए। रोजगारीको सिलसिलामा भारत र अन्य मुलुकबाट फर्केका दसौं हजार जनताको जिल्ला आगमन, नाकामा भएको फितलो जाँच र जिल्ला प्रवेश अनुमति, मापदण्ड र पूर्वाधार नपुगेका क्वारेन्टाइन र आइसोलेसन। सही सूचना र जनचेतनाको अभाव र जिल्लाको फितलो व्यवस्थापनले यो अवस्था आएको थियो त्यहाँ। 

देशैभर जाँचको दायरा कम भएको, गर्नैपर्ने व्यक्तिको पनि पिसिआर नभएको, निकालेर पठाएको स्वाबको रिपोर्ट आउन पनि हप्ताभन्दा बढी समय लाग्ने दिक्दारीले गर्दा सहयोगी मन भएका दैलेखीहरुले नै केही गर्नुपर्छ भन्ने साझा उद्देश्यले सबै एकीकृत भई जिल्लामा नै पिसिआर ल्याब स्थापना गर्ने अभियान सुरु भएको थियो। यसको अगुवाइ जिल्लाबाट निर्वाचित माननीय सांसदले गर्नुभएको थियो।

यो काम भने जस्तो सजिलो भने पक्कै थिएन। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गुणस्तर कायम नहुने र प्रभावकारी अनुगमन नहुने भन्दै तत् अवस्थामा स्थापित २३ बाहेकका स्थानमा नयाँ ल्याब खोल्न नदिने भनिरहेको अवस्थामा यो काम कम्ती चुनौतीपूर्ण थिएन। 

काठमाडौंको झन्डै २ हप्ताको पापड बेलाइपश्चात् स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको आडभरोसामा जिल्लाका संघीय सांसदको स्थानीय साझेदारी विकास कार्यक्रमबाट खर्च गर्न बाँकी रकमबाट ल्याब सेटअपको बन्दोबस्त भयो। साथसाथै प्रदेश सभा सदस्यको पहलमा ल्याबको भौतिक पूर्वाधारको काम तीव्र गतिमा अगाडि बढ्यो।

अब हामीलाई चाहिने भनेको ल्याब चलाउन जान्ने दक्ष जनशक्ति थियो। यसमा पनि जिल्लामै जन्मी विभिन्न स्थानमा कार्यरत साथीहरु हामीसँग जोडिन आइपुग्नु भयो र यसरी हाम्रो साझा यात्रा सुरु भयो।

लगातार परिरहेको पानी र बाटोमा गएको पहिरोले गर्दा काठमाडौंबाट हिँडेको २ दिनमा दैलेख सदरमुकाम पुग्यौं हामी। पूर्ण रुपमा बन्द भएको बजारमा हारगुहार गरी स्थानीय निकायका जनप्रतिनिधिहरुले बन्दोबस्त गर्नुभएको एउटा होटेलमा हाम्रो बास हुन पुग्यो। प्रतिकूल मौसम, उपलब्ध सामान्य सादा तर अर्गानिक खाना, डिस्कोमा झैं निभ्ने–बल्ने बत्ति, सुस्त र आउने–जाने नेटवर्क र इन्टरनेटका बाबजुद हाम्रो टिमको दृढ इक्छाशक्ति, साहस र उच्च मनोबलले ल्याब स्थापना भई सेवा सञ्चालन सम्भव भयो। 

०००

यो यात्रा अनि दैलेखको बसाइ विशेष रह्यो हाम्रो लागि। यो अवधिमा हामीलाई जिल्लाका नेता, स्थानीय सरकार, स्थानीय प्रशासन सबै सरोकारवालाहरुसँग अन्तरक्रिया गर्ने अवसर जुर्‍यो।

यो मिसनको दौरानमा थुप्रै आरोह–अवरोह आए। थुप्रै मानिससँग प्रत्यक्ष र परोक्ष रुपमा जोडिन पुग्यो हाम्रो टिम। धेरै सफा मन भएका सहयोगी हातहरु फेला परे भने कोही धमिलो पानीमा माछा मार्न उद्यत काला मनहरु पनि प्रकट भए। तर ती काला मनहरुलाई औंसीको अँध्यारोमा छाड्दै अघि बढ्यौं हामी।

०००  

जे होस, औपचारिक रुपमा दैलेखमा पिसिआर ल्याब सुरु भएको छ। जसलाई ढिलै भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि वैधानिकता दिएको छ। यस पुनित कार्यमा सकारात्मक सोचका साथ सहयोग गर्नुहुने जन अनि मन धन्यवादका पात्र हुनुभएको छ। 

जसरी बच्चा जन्मिसकेपछि त्यसलाई बचाउन, हुर्काउन जति मिहिनेत र स्याहार गर्नुपर्छ, त्यसरी नै अब यो ल्याबलाई निरन्तर सञ्चालन गरी धेरैभन्दा धेरै गुणस्तरीय रिपोर्ट दिने ल्याबको रुपमा स्थापित गर्नुपर्ने चुनौैती हाम्रो अगाडि रहेको छ।

कोरोना महामारी रहुन्जेल यो ल्याबलाई कोरोनाकै लागि समर्पित गराई जिल्ला लगायत आसपासका स्थानका सम्पूर्ण जाँच गर्ने र कोरोनाको कहरपश्चात् पनि यसलाई कर्णाली प्रदेशकै जैविक विविधताको अध्ययन–अनुसन्धान केन्द्रको रुपमा विकास गर्नुपर्ने देखिन्छ। 

अन्त्यमा, कडा मिहिनेत र संघर्षपश्चात स्थापित यो ल्याबले दैलेख लगायत प्रदेश र देशभरि नै कोरोना नियन्त्रण गर्न सहयोग गरोस्। अभाव र गरिबीले पिल्सिएर स्वदेश भित्रिएका जनताको पीडामा थोरै भए पनि मल्हम लगाउन सकोस् र भौतिक रुपमा टाढिएका मनहरुलाई अझ नजिक ल्याउन सफल रहोस्।

शुभकामना।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने