प्युठान- लकडाउनको समयमा प्युठान जिल्लामा हिंसाका घटना बढेको पाइएको छ। जिल्ला अस्पताल बिजुवारमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) को नियमित बैठक तथा वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत तथ्यांकले यस्तो देखाएको हो।
कार्यक्रममा केन्द्रकी फोकल पर्सन राधा केसीले लकडाउनको समयमा मात्र झन्डै ५० प्रतिशत विभिन्न हिंसाका घटना भएको विवरण केन्द्रमा आइपुगेको तथ्यांक प्रस्तुत गरिएको थियो। यो वर्ष दर्ता भएका ८८ जना सबै महिला हिंसाका घटना रहेको तथ्याँक छ।
प्युठान जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रको आयोजनामा भएको कार्यक्रममा बोल्दै जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अमृत पन्थीले कोरोना भाइरस संक्रमणका कारण भएको लकडाउनको समयमा हिंसाका घटना बढेको बताए। उनले जिल्लामा मात्र नभएर देशभरि नै हिंसाका घटना बढेको पाइएको बताए।
उनले भने, ‘लकडाउनको समयमा घरपरिवारका सबै सदस्यहरु लामो समयसम्म सँगै बसिरहने हुनाले पनि हिंसात्मक गतिविधिहरु बढी भएका छन्।’ यो समयमा महिला मात्रै हिंसामा नपरेको भन्दै उनले कतिपय पुरुष पनि हिंसाका घटना लिएर आउने गरेको बताए। अरु रोगको तुलनामा सबैभन्दा ठूलो रोग हिंसा भएको भन्दै उनले यसलाई सबैले गम्भीरताका साथ लिनु पर्ने बताए।
त्यस्तै कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यले तीन तहका सरकार भइसकेपछि यस विषयमा सबैभन्दा बढी स्थानीय तहको सरकारले बढी चासो राख्नुपर्ने बताए। चेतनाको अभावका कारण सबैभन्दा बढी हिंसात्मक क्रियाकलापहरु हुने गरेको भन्दै उनले नागरिकहरुको चेतनास्तर वृद्धि गर्नका लागि सबैले आआफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्न र त्यसमा अग्रसर हुन सबैलाई आग्रह गरे। स्थानीय सरकार अग्रसर भई सबै एकजुट भएर लागेमा हिंसा न्यूनीकरण गर्न सकिने उनको भनाइ छ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले हिंसा न्यूनीकरणको प्रमुख उपाय नै जनचेतना वृद्धि गर्नु रहेको बताए। उनले अपराध कम गर्न आफूहरु प्रयासरत रहेको भन्दै अपराधीलाई कानुनी दायरामा ल्याउन सधैं प्रतिबद्ध रहेको बताए।
हिंसाबाट प्रभावितहरुलाई स्वास्थ्य उपचार लगायत अन्य आवश्यक सेवा एकीकृत रुपमा उपलब्ध गराउने व्यवस्था मिलाई लैंगिक हिंसा नियन्त्रणमा योगदान पु¥याउने उद्देश्यले प्युठान जिल्लामा विसं २०७१ फागुनदेखि एकद्वार संकट व्यवस्थापन केन्द्र सञ्चालनमा रहेको छ।