काठमाडौं- जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरले स्थानीय जनप्रतिनिधि तथा पत्रकारलाई आयुर्वेद सेवा सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको छ।
जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले कोरोना संक्रमण हुँदैमा आत्तिनु पर्ने अवस्था नभएको भन्दै माक्स लगाउने, साबुनपानीले नियमित हात धुने, सामाजिक दुरी कायम गर्ने, आइसोलेशनमा बस्नेुपर्ने बताए। उपयुक्त सावधानी अपनाउँदा लक्षण विहीन संक्रमितलाई अस्पतालमा लगिरहनु नपर्ने उनको भनाई छ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले आयुर्वेद महत्त्वपूर्ण भएपनि यसको सहि सदुपयोग हुन नसकेको बताए। उनले भने, ‘नेपाललाई जडिबुटीको धनी देश भनिन्छ तर हामीले हाम्रै जडिबुटीलाई चिन्न सकिरहेका छैनौं।’
सहभागीलाई प्रशिक्षण दिँदै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरका प्रमुख डा नदन कँडेलले आयुर्वेदको महत्त्व, यसको प्रयोग र बुझाई, जीवनशैली अवलम्बन गर्ने तरिका आदि बारेमा जानकारी दिएका थिए।