अर्घाखाँची– अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकास्थित आइसोलेसन सेन्टरमा योग शिविर सञ्चालन भएको छ। टिम नेपोको आयोजनामा भूमिकास्थान नगरपालिका वडा नं ३ मा सञ्चालित उक्त शिविरमा आइसोलेसनमा बसेका ५५ जना सहभागी थिए।
वडा नं ३ धारापानीमा रहेको शान्ति माध्यमिक विद्यालय, अन्नपूर्ण माध्यमिक विद्यालय र वडा नं १ ढाकाबाङमा अवस्थित विश्व माध्यमिक विद्यालयका आइसोलेसनबाट मानिसहरु योग शिविरमा आएका थिए।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, अर्घाखाँचीका प्रमुख डा अर्जुनराज शर्माले आइसोलेसनमा बस्दा देखापरेका स्वास्थ्य समस्याबारे परामर्श गर्दै चिकित्सकीय सल्लाह दिनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन के–कस्ता उपाय अपनाउने, खानपानमा कसरी ध्यानदिने र त्यहाँ वितरण हुँदै गरेका औषधिहरुको प्रयोग विधि सम्बन्धी जानकारी गराएका थिए।
योग प्रशिक्षक अशोक खनालले तनाव व्यवस्थापन र उच्च मनोबल बनाउनका लागि योगाभ्यास सम्बन्धी जानकारी सहित सूर्य नमस्कर सहित विभिन्न चरणका योगाभ्यास गराएका थिए।
त्यसैगरी टिम नेपोका अध्यक्षसमेत रहेका निगम पौडेलले हातधुने तरिका, मास्क प्रयोग गर्ने विधि, मास्क, ग्लोभ्सलाई कसरी डिस्पोज गर्ने, सामाजिक दूरी कसरी कायम गर्ने लगायत स्वास्थ्य सम्बन्धी जानकारी दिएका थिए।
शिविरमा आइसोेसनमा रहेका सम्पूर्णको थर्मल गनमार्फत ज्वरो नापिएको थियो।
आइसोलेसनमा बसेकाहरुलाई साबुन, ब्रस, मन्जन, मास्क, ग्लोब्स र सेनिटाइजरका साथै विभिन्न किसिमका आर्युवेद औषधिहरु गिलोय चूर्ण, आमलकी चूर्ण र त्रिकटु चूर्ण लगायत पनि वितरण गरिएको थियो।