काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित जिल्ला हो रौतहट। रौतहटमा संक्रमितको संख्या १५ सय नजिक पुगेको तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्तुत गरेको छ।
रौतहटमा अधिकांश कोरोना संक्रमितको उपचार गौरस्थित जिल्ला अस्पतालमा भइरहेको छ। अस्पतालमा १२ सयभन्दा बढी कोरोना संक्रमित उपचारका लागि भर्ना भएको अस्पतालले जनाएको छ। तीमध्ये ११ सय जति संक्रमित निको भएर घर फर्किसकेका छन् भने १ सय ४ जनाको अस्पतालले सञ्चालन गरेका विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ।
गौर अस्पतालमा चैत महिनामा पहिलो संक्रमित भेटिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा कृष्ण साह बताउँछन्। ती व्यक्ति भारतबाट आएको उनले बताए।
‘भारतबाट आएर क्वारेन्टाइनमा बस्नुभएको थियो, पिसिआर परीक्षणका लागि नमुना वीरगञ्ज पठाएका थियौँ,’ उनले भने, ‘रिपोर्टमा कोरोना संक्रमण देखियो’, उनले भने।
पहिलो पटक कोरोना पृष्टि भएको सुन्दा अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीको मनमा डर उत्पन्न भएको साह बताउँछन्।
‘उपचार गर्ने चिकित्सक नै डराएको देख्दा संक्रमितको मनोबल घट्छ भनेर मनभित्र डर भए पनि हामीले बाहिर भने देखाएनौं,’ उनले पहिलो संक्रमित भेटिँदाको अनुभव सुनाए।
डर चिकित्सकलाई मात्र होइन, संक्रमितमा झनै देखिन्थ्यो। ती संक्रमितले आइसोलेसनमा बस्न डराएपछि ‘केही हुँदैन, हामी छौँ’ भन्दै परामर्श दिनु परेको साह सुनाउँछन्।
अस्पतालमा आइसोलेसन बनाउने ठाउँ नभएपछि जिल्लाका विभिन्न ४ ठाउँमा अस्पतालले आइसोलेसन केन्द्र तयार पारेको थियो।
उनी भन्छन्, ‘पहिलो पटक संक्रमितलाई राख्न अस्पतालले नजिकै गौर नर्सिङ इन्स्टिच्युटमा ६ बेडको आइसोलेसन बनाएको थियो। पहिलो संक्रमितलाई त्यहीं राखेर उपचार गर्यौं।’
सरकारले नेपाल भारत सीमामा रहेकाहरुलाई नेपाल आउन दिएपछि जिल्लामा संक्रमितको संख्या ह्वात्तै बढ्यो। त्यसपछि अस्पतालले विभिन्न विद्यालयलाई नै आइसोलेसन वार्डमा परिणत गर्नुपर्ने अवस्था आयो।
अस्पतालका मेसु साहका अनुसार गौर प्रहरी स्कुलमा ७५ बेडको आइसोलेसन, किसन माध्यमिक विद्यालमा १ सय बेडको आइसोलेसन र गौरीशंकर माध्यमिक विद्यालयमा १ सय १० बेडको आइसोलेसन तयार गरी संक्रमितको उपचार गरिएको थियो।
साहका अनुसार अधिकांश संक्रमित उपचारपछि घर फर्किएसँगै बिरामीको चाप पनि घटेको छ। अस्पतालले बनाएका चार वटामध्ये २ वटा आइसोलेसन बन्द भइसकेका छन्। अस्पतालमा करिब एक सय जना कर्मचारी रहेका छन्।
अस्पतालले ४ जनाको ४ वटा टिम बनाएर विभिन्न ४ आइसोलेसनमा उपचारमा खटाएको साहले जानकारी गराए। कोरोना संक्रमितको उपचारमा खटिएका एक स्वास्थ्यकर्मीमा पनि संक्रमण भेटिएको थियो। अहिले उनी उपचारपछि निको भएर काममा फर्किसकेका छन्।
संक्रमितलाई चाहिने सम्पूर्ण आवश्यक साम्रगी अस्पतालले नै उपलब्ध गराएको साह बताउँछन्। ‘उनीहरुलाई चाहिने तातोपानी तताउने इलेक्ट्रिक जग, दिनको दुई पटक बिहान–बेलुका खाना र बिहान र दिउँसो खाजा, साबुन, सेनिटाइजरको व्यवस्था अस्पतालले नै गरेको छ,’ उनले भने।’
कोरोना उपचारमा अस्पताललाई कुनै कठिनाइ नभए पनि पिसिआर परीक्षणको रिपोर्ट ढिलो आउँदा एकातिर चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमणको भय हुने अनि अर्काेतर्फ परीक्षण गरेको व्यक्तिमा पनि चिन्ता देखिने गरेको साह बताउँछन्।
‘रिपोर्ट नआउन्जलेसम्म के होला भन्ने डर देखियो, त्यही कारणले गर्दा संक्रमितलाई बेलाबेलामा परामर्श दिइरहेका छौं,’ उनले भने।
अस्पतालसँग पिसिआर परीक्षणका लागि आफ्नै ल्याब छैन। जसका कारण परीक्षणका लागि अन्य जिल्लामा पठाउनुपर्ने बाध्यता छ।
अस्पतालमा काम गर्ने कर्मचारीका लाागि अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव भने कहिल्यै नभएको डा साह बताउँछन्। कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई होटलमा क्वारेन्टाइनको व्यवस्था गरेको साह बताउँछन्। अहिले भने पिसिआर परीक्षण गरेर घर पठाउने गरिएको छ।
अस्पताल कोरोना संक्रमण समुदायस्तरसम्म नफैलियोस् भनेर सजग छ। त्यसैले सबै संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्दै नमुना परीक्षण गर्ने गरेको साह बताउँछन्।
रौतहट नगरपालिकाले कोरोना संक्रमण फैलिन नदिन विदेशबाट आएका व्यक्तिलाई अनिवार्य १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेकोे छ।
रौतहट जिल्लामा अधिकांश व्यक्ति भारतबाट आएकाहरु छन्। उनीहरु सबैलाई क्वारेन्टाइनमा राख्ने गरिएको साह बताउँछन्।
रौतहट नगरपालिकामा मात्रै ७६ वटा क्वारेनटाइन रहेका छन्। क्वारेन्टाइनमा रहेका सबैको कोरोना परीक्षण भइसकेको छ।
स्थानीय निकायको प्रभावकारी भूमिका, अस्पतालका कर्मचारी र स्थानीयको सहयोगमा आफूहरु कोरोना संक्रमितको उपचारमा सफल भएको साह बताउँछन्।