डा उज्वल न्यौपाने
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरल रोग हो। यो रोग विश्वका धेरै देशमा प्रकोपको रुपमा देखा परेको छ। डेंगु सार्ने भेक्टर एडिस नामक लामखुट्टेको प्रजातिको संख्या बढेसँगै नेपालमा पनि पछिल्ला वर्षहरुमा डेंगुको प्रकोप बढ्दो छ। डेंगु रोग लगाउने भाइरसलाई डेंगु भाइरस नाम दिइएको छ। यस भाइरसमध्ये डेंगु भाइरस–१ को प्रकोप सबैभन्दा धेरै रहेको छ। केही वर्ष पहिलेसम्म तराईमा मात्र देखा परेको यो रोग केही समययता काठमाडौ उपत्यका लगायत देशैभरि समेत देखिन थालेको छ।
उत्पत्ति
स्तनधारी जीव हुँदै मानिसमा सरेको अनुमान गरिएको डेंगुको उत्पत्ति झन्डै ५०० देखि १००० वर्ष पहिले भएको अनुमान गरिएको छ। नेपालमा पहिलो पटक सन् २००४ मा देखिएको यो रोग त्यसपश्चात् विभिन्न उष्णप्रदेशीय तथा उप–उष्णप्रदेशीय भागहरुमा तीव्र गतिमा फैलिएको छ। उष्ण प्रदेशहरुमा फैलिनुमा महत्वपूर्ण भूमिका खेल्ने तत्वहरुमा भारी वर्षा, तापक्रम, वायुको आद्र्रता, सहरीकरण तथा भेक्टरको रोकथाममा असमर्थ हुनु मुख्य छन्।
पहलो पटक सन् २००६ मा नेपालमा यसको संक्रमण फैलिएको पाइएको थियो, जसमा मनसुन पश्चातको समयमा तराईका विभिन्न भागमा गरी ३२ वटा संक्रमण भेटिएको थियो। त्यसमा चारवटै प्रजातिका भाइरस भेटियो। पछिल्लो ५ वर्षयता संक्रमण संख्यामा उल्लेख्य वृद्धि आएको पाइएको छ र झापा, चितवन, रुपन्देही, महोत्तरी, कास्की, सुनसरी लगायत जिल्लामा बढ्दो संक्रमण रहेको पाइएको छ।
सन् २०१९ मा अहिलेसम्मकै बढी १४६६२ संक्रमण देखियो जसअन्तर्गत ७७ मध्ये ६८ जिल्लामा संक्रमित भेटियो। विश्वमा यो रोगका कारण हुने मृत्युदर सरदर वार्षिक मृत्युदर १ प्रतिशतभन्दा कम नै रहेको छ र सन् २०१९ मा नेपालमा यो रोगका कारण ६ जनाले ज्यान गुमाएका थिए। काठमाडौं उपत्यका डेंगु भेक्टरका लागि अनुकुल नरहेको भए तापनि बढ्दो सहरीकरण, फोहोरको असुरक्षित व्यवस्थापन र जनसंख्याको तीव्र वृद्धिका कारण राजधानीमा पनि १५८३ संक्रमित भेटिएको थियो। समयमै सचेत भई यसलाई नियन्त्रणमा लिन सकिएन भने कुनै पनि समय यसले महामारीको रुप धारण नगर्ला भन्न सकिन्न। विशेषतः अहिले गर्मीसँगै वर्षाको समय भएकोले डेंगुको लागि अनुकुल मौसम साथै डुबान समेत भइरहेकोले यसको जोखिम थप बढी हँुुने हुँदा अहिलेको समयमा अझै बढी सावधानी अपनाउनु जरुरी हुन्छ।
कसरी सर्छ?
एडिस एजिप्टाई नाम रहेको लामखुट्टेको महिला प्रजाति डेंगुका प्रमुख भेक्टर हुन्। दिनमा मान्छेको रगत चुसेर बाँच्ने यो प्रजातिले मानिसको शरीरको प्राकृतिक गन्धबाट आकर्षित भई धेरैमा रोग सार्ने क्षमता राख्छ। भेक्टरले टोकेपछि भाइरसलाई मानिसको रगतमा जम्मा गर्छ र मानिसको शरीरमा फैलिन्छ। रगत खाइसकेपछि यसले ताजा पानी जम्मा गरेको भाँडाकुँडा खोजेर अण्डा पार्ने गर्छ। एउटा पानीको स्रोतमा १०० देखि २०० सम्म अण्डा पार्न सक्छ भने एक पटकमा कैयौं स्रोतमा अण्डा जम्मा गर्छ। यसका अण्डा निर्जलीकरण प्रतिरोधात्मक भएकाले यस भेक्टरको जनसंख्या तीव्र गतिमा बढिरहेको छ। संक्रमित व्यक्तिको रगत चुस्दा भाइरस नबोकेको लामखुट्टेमा भाइरस पसी संक्रमण प्रक्रिया बढाउन सक्छ। एक पटक संक्रमण भएपछि मानिसमा त्यस प्रजातिको भाइरसबाट जीवनभरलाई इम्युनिटी मिल्छ। तसर्थ ४ प्रजातिका भाइरसले एक व्यक्तिमा ४ पटक संक्रमण गर्न सक्छन्।
लक्षण केके हुन्?
डेंगु लागेको २–७ दिनमा यस रोगका लक्षणहरु देखिन थाल्छन्। जसमा उच्च ज्वरो (१०४ डिग्री फरेनहाइट) प्रमुख लक्षण हो। साथसाथै अन्य लक्षणहरुमा टाउको दुख्ने, मांसपेसी दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने, वाकवाकी लाग्ने, बान्ता आउने, ग्रन्थी सुन्निने आदि हुन्छन्।
विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले डेंगुलाई डेंगु र जटिल डेंगुमा विभाजन गरेको छ। सामान्य लक्षण तथा स्वयं सीमित भएर जाने रोगलाई डेंगु भनेको छ र चेतावनीमूलक लक्षण देखिनेलाई जटिल डेंगु भनेको छ। संक्रमणको ३–७ दिनपछिको समयमा ज्वरो कम हँुदै गएर चेतावनीमूलक लक्षण देखिन सक्छ। जुन कतिपय घातक हुन सक्छ। यी लक्षणहरुमा धेरै पेट दुख्ने, बान्ता भइरहने, श्वासप्रश्वास तीव्र हुने, गिजाबाट रगत बग्ने, वान्तामा रगत देखिने, छटपटी हुने आदि पर्छन्। यी संकेतहरुको आधारमा चिकित्सकले अस्पतालमा बिरामी भर्ना गरी आफ्नो निगरानीमा राखेर जटिल समस्या आउनबाट रोकथाम गर्ने गर्छन्।
डेंगुका कारण आउन सक्ने सम्भावित जटिलतामा डेंगु हेमोरेजिक फिभर, डेंगु सक सिन्ड्रम आदि पर्छन्। यी अवस्थामा रगतबाट प्लाज्मा खेर जाने, सजिलै रगत बग्ने, निलडाम बस्ने, तथा रगत बाक्लो भई विभिन्न अंगमा रगत पुग्न नपाएर अंगहरु खराब हँुदै जान्छ। धेरैजसो अवस्थामा जटिल संकेत देखिएपछि नशा रिहाइड्रेसन गरेर संक्रमित व्यक्ति पूरै ठिक पनि हुने गर्छन्। यी जटिल संकेत देखिने अवधिलाई क्रिटिकल फेज भनिन्छ। यस्तो अवधि २४–४८ घण्टासम्म हुन सक्छ। यस अवधि पश्चात संक्रमितमा विस्तारै सुधार आउँछ। खाना रुचि बढ्छ, लक्षणहरु हराउँदै जान्छ र केहीमा शरीरमा एक प्रकारको डावर, खटिरा देखिन सक्छ।
जाँच र उपचार पद्धति
शंकास्पद लक्षण देखिएका बिरामीमा पिसिआर जाँच गरेर संक्रमण प्रमाणित गरिन्छ। त्यस्तै संक्रमण फैलिएको अवस्थामा संक्रमणलाई रोकथाम गर्न आरडिटीको पनि प्रयोग गर्न सकिन्छ।
डेंगुको उपचार गर्न पहिले विभिन्न जानकारी, सोधपुछ तथा रगतको जाँच गरिन्छ। संक्रमितको लक्षण र जटिलता अनुमान गरी उपचार विधिको प्रणाली तय गरिन्छ। यस अन्तर्गत ३ थरीका उपचार प्रणाली छन्। पछिल्लो १४ दिनमा जोखिम क्षेत्रमा भ्रमण गरेको, उच्च ज्वरो तथा डेंगुका मिल्दाजुल्दा लक्षण देखिएको तर जटिल लक्षण नदेखिएको बिरामीलाई सामान्य लक्षण बमोजिम उपचार गरी घर पठाइन्छ। जटिल लक्षण देखिएमा अस्पतालमै राखी उपचार गरिन्छ। जटिल लक्षण देखिएमा आपतकालीन उपचार गर्नुपर्ने हुन्छ।
सामान्य लक्षण रोकथामका लागि पर्याप्त तरल पदार्थको सेवन, ज्वरोको रोकथाम तथा ओछ्यानमा आराम गर्ने सल्लाह दिइन्छ। जटिल लक्षण देखिएका बिरामीलाई अस्पतालमा राखी नशाबाट तरल औषधि चलाएर रगतको अवस्था सुधारिन्छ र बेलाबेलामा रगतको जाँच गरिन्छ। साथसाथै विभिन्न अंगको अवस्थाको मापन गर्ने गरिन्छ। जटिल डेंगुको अवस्थामा धेरै मात्रामा नशाबाट तरल पदार्थको पूर्ति गर्नुका साथै जाँचले अंकित गरेअनुसार रगत प्रत्यारोपण समेत गर्नुपर्ने हुनसक्छ। बिरामीको अवस्था सुधार हुँदै गएपछि तथा रगतको घनत्व घट्दै गएपछि औषधिको मात्रा घटाउँदै लगिन्छ र लक्षण सुधारपछि डिस्चार्ज गरेर घर पठाइन्छ। वृद्ध समूहमा लक्षणहरु सामान्य नै रहे पनि मृत्युदर युवा समूह भन्दा बढी रहेका कारण यस्ता बिरामीको विशेष ध्यान पु¥याउनुपर्ने हुन्छ।
रोकथामका उपाय
डेंगुको रोकथाम गर्न भेक्टर लक्षित उपायहरु अपनाउनु पर्छ। लामखुट्टेको प्रजननमा रोकथाम तथा घरवरपर बसोबास गर्नबाट रोक्ने उपायहरु महत्वपूर्ण छन्। इन्टिग्रेटेड भेक्टर म्यानेजमेन्ट प्रणाली अन्तर्गत भेक्टरलाई कसरी घरवरपर बसोबास गर्न रोक्ने, लामखुट्टेको टोकाइबाट बच्ने तरिका, अण्डा नष्ट गर्ने प्रक्रिया आदि पर्दछन्। किटनाशक प्रयोग गरिएको झुलको प्रयोग गर्ने, घरको कुनाकाप्चा तथा लामखुट्टे बसोबास गर्नसक्ने स्थानमा किटनाशक औषधि छर्किने, हावामा छर्किन मिल्ने स्पेस स्प्रेको प्रयोग तथा पानी जम्मा हुने सतहहरु सम्याउने, भाँडाहरु छोप्ने, पानीको सतहमा लामखुट्टे प्रतिरोधी (लार्भा नाशक) औषधिहरु छर्किने, किराहरु खाने माछा तथा अन्य जीव पालन गर्ने आदि उपाय प्रभावकारी छन्।
त्यस्तै आफ्नो सुरक्षाको लागि रिपेलेन्ट जस्तैः लोसनहरुको प्रयोग गर्ने, लामखुट्टे भगाउने धुपहरुको प्रयोग गर्ने पनि महत्वपूर्ण छ। डेंगुको प्रकोप नियन्त्रण गर्न विभिन्न स्वास्थ्य संस्था, स्वास्थ क्षेत्रमा कार्यरत विभिन्न संघसंस्था तथा स्थानीयदेखि केन्द्रसम्मका सरकारको सहकार्यमा रोकथामका कार्यक्रमहरु सञ्चालन गरी जोखिमयुक्त क्षेत्रहरुमा डेंगुको कहर नियन्त्रण गर्न सकिन्छ। साथै देशव्यापी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी सर्वसाधारण आमजनतालाई डेंगुबाट बच्ने उपाय सिकाउन समेत जरुरी देखिन्छ।
(न्यौपाने काठमाडौं मेडिकल कलेजमा इन्टर्न गर्दैछन्।)