डा किरण पौडेल
नेपालमा असार १५ गते धान दिवस मनाउँदै दही-चिउरा खाने र साउन १५ मा खिर खाने प्रचलन धेरै समय कालदेखि चल्दै आएको छ। गाउँ-घरमा रोपाइँको चटारो परिरहँदा खेतमा काम गर्दै, दही-चिउरा खाँदै कृषकहरु रोपाइँमा तल्लिन रहन्छन् भने शहरमा असार १५ नै पारेर दही-चिउरा खाने कार्यक्रमहरु आयोजना हुन्छन्। गाउँ होस वा सहर, असार १५ जस्तै साउन १५ लाई पनि खिर खाने दिनको रुपमा मनाउने गरिन्छ।
असार-साउन महिना वर्षा अधिक हुने समय हो। वैशाख-जेठ महिनामा घामको ताप अधिक हुन्छ। पानी पर्ने सम्भावना कम हुनाले यी महिनामा जमिनमा सुख्खापन पनि ज्यादा हुन्छ। वैशाख-जेठको तापिलो घामको कारण जमिनमा रुखोपन बढेको हुन्छ। जमिनमा उत्पन्न हुने खाद्यान्नमा मानिस-पशुपक्षीलाई आवश्यक पर्ने आधारभूत खाद्य तत्वहरुको कमी हुन्छ। घामको ताप बढ्दो हुनाले घामको तापले जमिनबाट पानी लगायतका जलीय तत्वहरु वाफ बनाई नष्ट गर्छ र गर्मीले वैशाख-जेठमा मानिस आक्लान्त हुँदै जान्छ। थकाबट बढ्छ भने शरीरमा काम गर्ने शक्तिको पनि कमी हुँदै जान्छ। यसरी मानिस शरीर दुर्बल हुन्छ। यसले शरीरमा वातावरणीय प्रभावको कारण पाचन शक्तिको कमी हुन्छ।
असार-साउनमा आकाशबाट परेको पानी, घामको तापले गर्दा अधिक तातेका हुन्छन् र जमिनका पानी वाष्प बनेर आकाशमै जाने क्रम पनि चलिरहेको हुन्छ। यस वातावरणीय प्रक्रियाले गर्दा मानिसको दुर्बल शरीर अझै क्षीण हुन्छ। खाना पचाउने शक्ति धेरै कम हुन्छ, पानी अधिक पर्नाले मानिसले प्रयोग गर्दै आएको स्वच्छ पानी पनि धमिलिन गई फोहोर हुन्छ र कमजोर शक्ति भएको मनिसको शरीरमा फोहोर पानीकै कारण अनेक रोगहरु उत्पन्न भई बिरामी हुन सक्छन्।
यी महिनामा पानीबाट फैलने संक्रामक रोग लाग्ने सम्भावना अधिक हुन्छ। मानिसले आफूले खाएको अन्न नै पचाउन नसक्ने हुनाले शरीरमा रोग उत्पन्न हुनु निश्चित झैं हुन्छ। तसर्थ, अन्न पाचन शक्ति बढाई शरीरको बल बढाउनु अति आवश्यक हुन्छ। पाचन शक्ति बढाउनको लागि हरेक गाउँ-गाउँमा मानिसहरुले औषधिको प्रयोग गर्नु कल्पना गर्नु बाहेक अन्य उपाय हुँदैन।
शरीरलाई आवश्यक पर्ने तत्व पूर्ति आहारबाट नै हुन्छ। असार-साउन महिनामा आहार त्यस्तो हुनुपर्छ, जसले शरीरलाई बल दिनुका साथै अन्न पचाउन पनि सजिलो होस। तसर्थ असारको मध्यमा दही चिउरा खाने प्रचलन छ, जसले शरीरमा आवश्यक पर्ने पाचन शक्तिको निर्माण गर्नुका साथै बल प्रदान गर्छ र साउन मध्यमा खाइने खिरले शरीरमा बल प्रदान गर्छ साथै पाचन कार्यमा पनि सहयोग गर्छ। यो संस्कारले असार-साउन महिनामा खान योग्य आहारलाई दर्शाउँछ।
हामीले सेवन गर्ने दही अनेक स्वादयुक्त हुन्छ- अमिलो, गुलियो, गुलियो-अमिलो, धेरै अमिलो, धेरै गुलियो र कुनै स्वाद नै नभएको। दहीले पाचन शक्ति बढाउने, खानामा रुचि लगाउने र शरीरमा बल बढाउने हुन्छ। दही प्रयोग गर्दा गुलियो दही उत्तम हुन्छ। यो दहीले पाचन शक्ति ठिक राख्ने, पच्नमा सहज हुने, शरीरको रक्षा गर्ने हुन्छ। धेरै अमिलो दही र ठिक प्रकारले नजमेको दही खानु हुँदैन। यसले शरीरमा हुने रगत र वायुलाई दूषित गर्छ।
दही गाई, भैंसी, बाख्राको दूधबाट तयार गरिन्छ। गाईको दूधबाट तयार गरिएको दही सेवन गर्नु राम्रो हुन्छ। यसले खानामा रुचि उत्पन्न गर्नुका साथै सुपाच्य हुन्छ। दही खाँदा मिश्रीका साथ प्रयोग गरेर खाँदा राम्रो फाइदा हुन्छ। यसरी प्रयोग गर्दा शरीरमा शितलता प्रदान गर्छ। रातिमा दही खानु हुँदैन। रातिमा दही खाएमा शरीरलाई आलस्य बनाउने हुन्छ र शीर, घाँटी, जोर्नीहरुको रोग उत्पन्न गर्नमा सहयोग गर्छ।
चिउराले शरीरमा उत्पन्न विकृत वायुको नाश गरी बल बर्धक, दिसापिसाबलाई शरीरबाट बाहिर फाल्न सहजता उत्पन्न गर्छ। दही-चिउराले शरीरमा उत्पन्न डाहको शमन गर्ने, बल बढाउने जस्ता हितकारी काम गर्छ। असार महिनामा यस्तै प्रकारको अन्नपान गरेमा शरीरको रक्षा हुन्छ।
दूध, घिउ, घिउमा भुटेको चामल, चिनी, किस्मिस, छोकडा, नरिवलका टुक्रा जस्ता पोसिला खानेकुरा मिलाएर पकाई खिर तयार गरिन्छ। यसले शरीरलाई बल दिने हुन्छ। असार महिनामा दही-चिउरा जस्तो खाध्यान्न खाएर पाचन शक्तिलाई जोगाउँदै साउन महिनामा खिर खानाले निश्चय नै शरीरको वृद्धि विकास हुन्छ।
यसरी असार-साउन महिनामा हलुका, सजिलोसँग पच्ने, पाचनमा सहयोग गर्ने शरीरलाई बल दिने खानपिनको प्रयोग गर्नुपर्छ। यी महिनामा तातो पानी सेलाएर पिउने, पुरानो चामल, गहुँ, मकै सेवन गर्नुपर्छ। सफा कपडा लगाउने, हलुका व्यायाम गर्ने, मनलाई स्थिर राख्ने प्रयत्न गर्नुपर्छ। यी महिनामा दिनमा सुत्ने, पानी सफा नगरी पिउने, अधिक पानीमा रुझ्ने, स्त्री सहवास धेरै गर्ने, मैथुन धेरै गर्ने, धेरै व्यायाम गर्ने जस्ता हानिकारक कामहरु गर्नु हुँदैन।