डा किरण पौडेल
नवजात शिशुलाई आफ्नो आमाको दूध नखुवाई बजारमा प्याकेटमा उपलब्ध पाउडर दूध खुवाउने गरेको धेरैले देखेको, भोगेको र सुनेको कुरा हो। आफ्नो कार्य व्यस्ततामा बच्चा जन्मनु भनेको काम गर्ने शैलीमा वा काममा रोकावट भएको जस्तो गरी नवजात शिशुलाई अरुकै भरमा लालन-पालन गर्न दिने पश्चिमी समाजको विशेषता बन्दै गएको पनि थाहा नै छ। यस प्रकारको व्यवहारले त्यस समाजमा आफू कति व्यस्त छु भनेर देखाउने आधार बनेको छ।
समाजमा आफ्नो धन-धान्यको व्याख्या गर्नका लागि र प्रसिद्धिको झलक देखाउन पनि नवजात शिशुलाई अरुको भरमा लालन-पालन गर्दै आएको पनि सुनिन्छ र देखिन्छ। यो पश्चिमी समाजको प्रभाव हाम्रो समाजमा पनि राम्रैसँग परेको छ।
नवजात शिशु जन्मन्छन् र ती शिशुलाई आाफ्नै आमाले केही समयकालको लागि स्तनपान गराए तापनि बच्चाको वृद्धि विकासका लागि पूर्ण समय स्तनपान गराउँदैनन्। नेपाली धनीमानी समाजमा त यो सामान्य जस्तै भएको छ भने गरिब समाजमा आामाको नै पोषण राम्रोसँग नभएको हुनाले शिशुले पनि आवश्यक मात्रामा स्तनपान गर्न पाउँदैनन्।
मध्यमवर्गीय समाज पनि यस विषयबाट अछुतो छैन। यसरी तथ्यांक हेर्दा ४२.८० प्रतिशत शिशु आमाको स्तनपानमा निर्भर नभई अन्यत्रको दूधसँग निर्भर भई जीवनको सुरुवात गर्छन्। विश्वमा ६० प्रतिशत शिशुहरु आमाको दूध सेवन गर्न पाउँदैनन्। शिशु जन्मेदेखि नै आफ्नो शरीरलाई हित गर्ने माताको स्तनपान गर्न नपाउँदा कुपोषणजन्य अनेक रोगहरुको सिकार हुन पुग्छन्।
नेपालको तथ्यांकमा शिशु जन्मेको एक महिना भित्रमा ७.५ प्रतिशतले स्तनपानलाई अरु आहारले विस्तापित गर्ने गरेको देखिन्छ भने १७ प्रितशत शिशुले ६ महिना र २३.८ प्रतिशत शिशुले ९ महिनामा स्तनपान छोडी बाहिरी खानाको प्रयोग कमसेकम दिनमा एक पटक गरेको पाइन्छ।
बजारमा उपलब्ध अनेक प्रकारका पाउडर दूध, प्याकेटमा उपलब्ध दूध, पोषण तत्व भनेर बेचिने पाउडरहरु नवजात शिशुका लागि दुग्ध रुपी विष समान हो।
यस्ता पाउडरयुक्त दूधको विश्व बजार धेरै ठूलो र फुस्टाउँदो छ। पत्रु भनेको बासी, सडे-गलेको, तयारी भन्ने बुझिन्छ। यस्ता प्याकेट सहजै उपलब्ध हुने शिशुको आहार तर शिशुको हितमा नहुने हुन्छ। यस्ता आहार शिशुको लागि जीवनभर रहने विष समानका आहार हुन्। यस्ता आहार खुवाउनाले आमा-बुबाले शिशुलाई जन्मने वितिक्कै रोगको उपहारको पोको दिएसमान हुन्छ। यस्ता प्याकेटमा उपलब्ध पोषण तत्व भनिने आहारहरु पच्नलाई लामो समय लाग्छ र शिशुको पाचन प्रणाली धेरै विकसित नभइसकेको हुनाले शिशुको शरीरमा हानि गर्छ।
दीर्घकालीन रोगहरु जस्तै: मधुमेह, दम, छातिको रोग, शरीरको प्रतिरक्षा प्रणाली कमजोर गर्ने र जीवनको अन्तिम समय वृद्धावस्थामा उत्पन्न हुने रोगहरु त्यस अबोध शिशुलाई आमाबुबाले जन्मनासाथ उपहार जसरी प्रदान गर्छन्। यसमा शिशुको दोष हुँदैन। आमाबुबालाई यो कुरा थाहा हुँदा पनि पत्रु आहार खुवाउने आमाबुबाको सोचलाई पनि पत्रु मान्नुपर्छ।
शिशु जन्मेपश्चात् दोस्रो महिनाको अन्तिम समयसम्म आमाको दूध नै सेवन गराउनुपर्छ। मातृ स्तनपान शिशुको लागि सुपाच्य, बलबर्धक, संक्रमण रहित, माताको स्तन क्यान्सर रोधक, गर्भासयको प्राकृत स्थिति स्थापक, शिशुको बलबर्धक र शिशु र आमा बीचको स्नेह तथा मायाप्रेम बढाउने हुन्छ।
यदि शिशुको जन्म भएको तर माताको मृत्यु भएकोमा, गम्भीर रोगबाट ग्रसित भएकोमा, दूध नआएकोमा वा विकृत आएकोमा हाम्रो समाजमा धाई आमाको व्यवस्था गरेर शिशुलाई दूध सेवन गराएको कुरा त सुन्नु भएकै होला वा भोग्नु भएकै होला, यो सबैभन्दा उत्तम व्यवस्था हो। यदि धाई आमाको पनि व्यवस्था हुन नसके गाई, भैंसीको वा बाख्रीको दूध सेवन गराउन सकिन्छ। यो प्याकेटको पाउडर दूधभन्दा अति हितकर हुन्छ।
बालबालिकाको एक वर्ष आयु हुँदा खिचडी, हलुवा, दूध, साधा उमालेको चामल, मुँगको दाल, दूधमा भिजाएको गहुँको रोटी खानाको रुपमा दिनु हितकर हुन्छ। आलु, लौका, परवल, पालुंगो जस्ता सहजै पच्ने सब्जीहरु, केरा, आँप, मेवा, जस्ता फलफूल खान दिनु पाच्य हुन्छ। बच्चालाई पोषक लिटो जस्तै: पुरानो चामल, गहुँ, जौ भुटेर, दूध, घिउ तथा थोरै नुन राखेर लिटो बनाई खान दिनुपर्छ। यो पुष्टिबर्धक, सहजै पच्ने र बालबालिकाको लागि अत्यन्तै हितकर हुन्छ। हाल उपलब्ध सर्वोत्तम लिटो बालबालिकाको लागि लाभदायक हुन्छ। सरकारद्वारा विद्यालयमा बालबालिकाको लागि उपलब्ध गराएको लिटो पत्रु खानाको अगाडि अमृत समान हुन्छ।
पाउडर दूधमा जीवन सुरु गरेका शिशुहरु बढ्नासाथ दोस्रो तहको पत्रु आहारको सिकार हुन्छन्। घरबाहिर सहजै उपलब्ध चाउचाउ, चाउमिन, म:म, पिज्जा, विभिन्न पेय पदार्थ, बर्गर, दालमोठ, केक जस्ता पत्रु खानपिन बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष हानि गर्ने खानपिनहरु हुन्। यस्ता पत्रु आहारमा पोषण तत्वको मात्रा शून्य, बोसीय तत्व, नुनको मात्रा, चिनीको मात्रा, अमिलोपन अधिक हुन्छ। यस्ता आहारहरु बजारमा रेशादार पदार्थ छ, प्रोटिन छ, लौह तत्वको मात्रा छ भन्दै गलत प्रचार गरेर बेच्छन्। अबोध बालबालिकालाई यस्ता पत्रु आहार हितकर हुँदैन भनेर थाहा पाउँदा पनि कोसेली जसरी लैजाने आफन्तजन, मान्यजनहरुको सोचविचार पनि पत्रु नै हो।
नेपालमा बालबालिका र युवावस्थाका मानिसको खानपिन अध्ययन गर्दा तथ्यांकमा लगभग ६० प्रतिशत बालिका, युवतीले पत्रु खाना खाने गरेको र बालक, युवाहरुमा ४७ प्रतिशतले यस्तो खाजा-खाना खाने गरेको तथा एक दिनको अन्तरमा एक छाक खानाकै रुपमा पत्रु खाना खाने गरेको तथ्यांकले देखाउँछ। यस्ता खाना खानु हुँदैन भन्ने सोच यो वर्गमा आइसकेको हुने पनि तथ्यांकले देखाउँछ। थाहा हुँदाहुँदै पनि मनोरञ्जनका लागि, खाजाका लागि, खाना नै यसलाई बनाएका यो वर्गको सोच नै पत्रु हो भने व्यापारको लागि, प्रचारको लागि र करको लागि यस्ता खानपिनमा प्रोत्साहन गर्ने व्यापारी, प्रचारक, उद्योगपति र सरकार समेत पत्रु हो।
अध्ययन-अनुसन्धान अनुसार पत्रु आहार सेवनले बालबालिका तथा युवा वर्गलाई ठूलो क्षति गर्ने देखाउँछ। यसले मोटोपन बढाउने, सोच्ने र पढ्ने क्षमता पूर्ण रूपमा घटाउने, मानसिक अवसाद गराउने, पाचन शक्तिको क्षय गर्ने, प्रजनन शक्तिमा पूर्ण हानि गर्ने, शरीरको वृद्धि र विकासमा बाधा पुर्याउने हुन्छ।
अधिक अमिलो, पिरो, नुनिलो मिस्रित आहार सेवनले प्रत्यक्ष रुपमा महिला तथा पुरुषको प्रजनन संस्थालाई हानि गर्छ। महिलामा बन्ध्यत्वको समस्या दिनानु दिन बढ्दो छ भने पुरुषमा पुंस्त्वको समस्याले विकराल रुप लिँदैछ। विश्वमा बिवाहित दम्पतीमध्ये ८-१२ प्रतिशत बन्ध्यत्वको सिकार हुने गरेका छन् भने नेपालमा १३-१५ प्रतिशत विवाहित दम्पतीमा बन्ध्यत्वको समस्या पाइन्छ। दस विवाहित जोडीमध्ये कमसेकम एकलाई बन्धयत्वको समस्या हुन्छ र यो बढ्दो क्रममा छ।
पत्रु आहार सेवन गर्ने महिला, पुरुषमा यस्ता आहार कम सेवन गर्ने वा नगर्ने भन्दा अधिक बन्ध्यत्व पाइन्छ। अध्ययन अनुसार ८ प्रतिशत महिलामा बन्ध्यत्वको समस्या पत्रु आहार सेवन नगर्दा पनि देखिएको र १६ प्रतिशत महिलामा हप्तामा कम्तीमा पनि चार पटक पत्रु खाना-खाजा खाएकोमा बन्ध्यत्वको समस्या यस्ता आहारले गर्दा बढेको देखिन्छ। पुरुषमा पुंस्त्वको समस्यामा पत्रु आहार सेवन नगरे तापनि १७ प्रतिशतमा तथा पत्रु आहार सेवन गर्नेहरुमा ५३ प्रतिशतमा पुंस्त्वको समस्या देखिएको छ।
उमेर बढेसँगै दीर्घकालीन रोग, शोक, मानसिक तनाव, बसोबासको अवस्थिति, पथ्य र हितकारी आहार सेवनको अभाव, पत्रु आहार जीवनको पहिलो कालखण्डदेखि निरन्तर सेवन तथा शारीरिक अन्य कारणहरुले बाझोपनको समस्या बढाउँदै छ।
शिशुको जन्मदेखि राम्रो आहार सेवन, पोषिलो हितकारी आहारको सेवन, बाल्यकालमा घरमा तयार भएका मौसम अनुसारका खाजा-खाना, युवावस्थामा पत्रु आहारको कम सेवन वा सेवन नै नगरेमा विवाह पश्चातको जीवन सन्ततियुक्त तथा दीर्घायु हुन्छ।
तसर्थ, शिशु जन्मेपश्चात् उसलाई आमाको दूध खुवाउँदै हुर्काउने, बालबालिकालाई अन्न खाने समयमा पोषिलो घरमा तयार गरिएको मौसम अनुसारको खाजा-खानाको व्यवस्था गर्ने, युवावस्थामा सकेसम्म युवा-युवतीले घरमा तयार भएको खाना खाने, राम्रो सफा निवासमा बस्ने, मनलाई शान्त गराउने गरेमा वैवाहिक जीवन र त्यसपछिको जीवन दीर्घायुमय बनाउन सकिने छ।