टेकबहादुर खड्का
'बुबा! तपाईं कहाँ हुनुहुन्छ?,' हतारिएको आवाजमा छोरीले फोन गरी।मैलै विस्तारै भनें, 'मार्तडीमै छु' छोरीले त पत्याइनन् र पटकपटक सोधिन्, 'साँच्चै मार्तडीमै हो त?' बन्दाबन्दीका कारण छोरीहरु घरमा गएकाले म मात्र मार्तडी बस्थें।
एकाएक हतारिंदै सशंकित भएर छोरीले सोधेकीले के भएछ भन्ने लागेर उनलाई आश्वस्त पार्दै आफू मार्तडीमै रहेको विश्वास दिलाएँ र उनले फोन काटिन्। तर मेरो मनमा भने किन हतारिँदै छोरीले फोन गरिन् भन्ने कौतुहल भइरह्यो।मन थाम्न सकिनँ र फेरि फोन गरेँ। फोन छोरीकी आमाले उठाइन् र रुँदै भनिन्, 'तपाईं कस्तो निष्ठुरी? यतिसम्म हुँदा पनि खबर गर्नुहुन्न। हामीलाई केही जानकारी नै नदिने? कस्तो मान्छे तपाईं?'
एकोहोरो मन्तव्य जारी रह्यो उनको।उनलाई रोक्दै आखिर के भयो? किन यसरी एकोहोरो सम्झाउँदै छौ भन्दा बल्ल कुरामा आइन्! 'गाउँमा तपाईंलाई गाह्रो भएर धनगढी लगियो भन्ने खबर छ। तपाईं फोन उठाउन पनि सक्नुहुन्न रे! बोल्न पनि सक्नुहुन्न रे! खाना पनि खानु भएको छैन रे,' उनी भन्दै गइन्, मैले सुनिरहेँ।
भएको के रहेछ भने, मलाई गाह्रो भएर धनगढी लगिएको, खाना खान नसकेको, बोल्न नसकेको लगायत अनकौं अफवाह फैलिएको रहेछ। अब मर्छसम्म भन्न भ्याइसकेका रहेछन्। हुन त विश्व समुदाय त्रसित भइरहेका बेला मेरा श्रीमती र छोरी त्रसित हुनु नौलो र अचम्मलाग्दो थिएन। म भने ढुक्क थिएँ, कोरोना केही होइन, म जित्न सक्छु।
असार ४ गते मेरो जिन्दगीको एक अविस्मरणीय र कहालीलाग्दो दिन रह्यो, जुन दिन परीक्षणका लागि स्वाब संकलन गरी पठाएको हप्ता दिनपछि कोरोना पोजेटिभ भएको रिपोर्ट आयो। जेठ २३ गतेदेखि क्वारेन्टाइनमा बसिरहे पनि ३१ गते मात्र जाँचका लागि स्वाब पठाएका थियौं। नगरपालिकाले हामी स्वास्थ्यकर्मीका लागि मार्तडीस्थित होटल दृष्टिमा क्वारेन्टाइन व्यवस्था गरेकाले म लगायत मेरा ४ जना सहकर्मी त्यही बसिरहेका बेला हामी सबै संक्रमित भयौं।
जिल्ला बाहिर तथा भारतबाट आएका व्यक्तिहरुको सामान्य स्वास्थ्य जाँच तथा स्वास्थ्य परामर्श दिनका लागि जिल्ला कारागार नजिक हेल्थ हेल्प डेस्क स्थापना गर्यौं। जिल्ला प्रवेश गर्ने व्यक्तिहरुको लागि चैत ११ गतेदेखि सेवा दिइरहँदा मालिका मावि लगायतका क्वारेन्टाइनमा नियमित स्वास्थ्य जाँच र (आरटी-पिसिआर) स्वाब संकलनमा अहोरात्र खटिरह्यौं। राति निदाउने बेला फोन गर्थे- सर मलाई खोकी लाग्यो तुरुन्त आउनु पर्यो।हत्तपत्त त्यहीं पुग्नुपर्यो। नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख समेत भएकाले एकतिर व्यवस्थापकीय, समन्वय र अर्कोतिर उपचारात्मक काममा व्यस्त हुनुपर्ने थियो। स्वास्थ्य चौकीबाट काजमा बोलाइएका साथीहरु पनि दिनरात नभनी काममा खटिएका थिए। दिनदिनै भारतबाट आउनेको संख्या बढिरहेकाले एकातिर क्वारेन्टाइनको व्यवस्थापन र अर्कोतर्फ पिसिआर परीक्षणको कामले हामी निकै व्यस्त थियौं। व्यक्तिगत सुरक्षा उपाय अपनाए पनि अन्तत: हामी सबै संक्रमित भयौं।
आइसोलेसन अनुभूति
असार ४ गतेदेखि १७ गतेसम्म हामी आइसोलेसनमा रह्यौं। संक्रमण पुष्टि भएपछि पनि जेठ २३ गतेदेखि बसिरहेको होटलमा नै बस्यौं। हामीलाई संक्रमण पुष्टि भएको खबर पाएपछि एकछिन होटल मालिक सशंकित जस्ता देखिए पनि सर्नुपर्ने भए सरिसक्यो होला अब यहीं बस्नु भने। नगर प्रमुखले हाम्रा कर्मचारी राख्दा तपाईंहरुलाई कुनै समस्या भए हामी मालिका विद्यालयमा व्यवस्था गर्छौं भन्नु भएको थियो तर पनि होटलले अब यहीं बस्दा फरक नपर्ने भनेपछि त्यही बस्ने भयौं।
साविक उप-स्वास्थ्यचौकी, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पतालमा रहँदा बिरामीको उपचारमा हिडिँराख्ने, खटिराख्ने बानी भएकाले पनि होला कति बेला बाहिर निस्किउँ, मान्छेहरु भेटिरहुँ जस्तो भने भइरह्यो। एउटै परिवारका (कार्यालय) २ जना हेअ, २ जना ल्याबका कर्मचारी समेत भएकाले बसाइ त्यस्तो अत्यासलाग्दो भएन। मलाई र तिलक न्यौपाने (हेअ) भाइलाई अलिकति खोकी लागेको थियो। बाँकी रत्न सर (ल्याब टेक्निसियन), भेषराजजी (हेअ) र गंगाकुमारी थापा बहिनीलाई (नगरपालिकाद्वारा नियुक्त ल्याब असिस्टेन्ट) लाई भने कुनै चिह्न र लक्षण देखिएन।एक पटक फोनमा बोल्दा ५ पटकसम्म खोक्नुपर्ने भएकाले हप्तादिन जस्तो फोन बन्द गरेँ।
जिल्ला सदरमुकामको नगरपालिका भएकाले कोरोना नियन्त्रण तथा रोकथाममा अन्य पालिकाको भन्दा हाम्रो अलि बढी जिम्मेवारी थियो। उत्तरी भेगका ४ पालिकाका (बुढीनन्दा नगरपालिका, स्वामीकार्तिक गाउँपालिका, जगन्नाथ गाउँपालिका र हिमाली गाउँपालिका) लगायत गौमुल गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकाका मान्छेहरुलाई होल्डिङ्ग पोइन्टमा राख्ने, हाम्रो पालिकाका मान्छेहरुलाई क्वारेन्टाइनमा राख्ने र क्वारेन्टाइनमा रहेकाहरुको निर्धारित दिनमा परीक्षण गर्ने लगायतका सम्पूर्ण काम गरिरहेको सिंगो टिम नै संक्रमित भएकाले नयाँ साथीहरु (हामी संक्रमित भएपछि नगरपालिकाले स्वास्थ्य संस्थाबाट सि-अहेब काशिचन्द पाध्याय, अहेब अमर बडुवाल, ल्याबका नयाँ कर्मचारी केशव कार्की र विगत वर्षदेखि स्वास्थ्य क्षेत्रमा अनुभवी कार्यालय सहयोगी दिलबहादुर विष्टको नयाँ टिम बनाएको थियो) तारन्तार फोन गरिरहन्थ्ये।तिलक भाइ, भेषराजजीको मोबाइलबाट हामी साथीहरुलाई सहयोग गर्थ्यौं। दिनरात बन्द कोठामा बस्दा पनि इन्टरनेट, टिभी र रमाइला साथीहरु भएकाले १४ दिनको आइसोलेसन बसाइ सजिलै कटायौं। १४ दिनपछि फ्लोअप रिपोर्ट नेगेटिभ आएपछि १७ गते हामी कार्यालयमा आयौं।
आत्मविश्वास र स्वास्थ्य सतर्कता नै जितको हतियार
हामी सबै स्वास्थ्यकर्मी भएकाले कोरोनाको जोखिमका विषयमा जानकार थियौं। राष्ट्रिय तथा अन्तर्राष्टिय समाचार र सूचना समेत जानकारी हुने भएकाले अलिक डर पनि थियो र पनि हामीले हार मानेका थिएनौं। कोरोनाका लक्षणसँग मिल्ने संकेत देखिएमा के औषधि खाने भनेर हामीले सबै औषधिको व्यवस्था गरेका थियौं। खोकी लाग्दा नियमित औषधि सेवन पनि गरेँ। कार्यालय प्रमुख (प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्याल) ले बेलाबेला फोन गरेर टेक सर तपाईं ढुक्क हुनुहोस है, अफ्ठ्यारो भयो भने म हेलिकोप्टर चार्टर गरेर पनि तपाईंलाई काठमाडौं पुर्याउँछु भन्नुहुन्थ्यो। उहाँको सम्बन्ध र सहयोगप्रति हामी विश्वस्त थियौं कि उहाँले सक्नेजति कुनै कसर बाँकी राख्नुहुन्न हाम्रा लागि।
नगर प्रमुख (पदम बडुवाल) ले पनि सधै अभिभावकत्व प्रदान गरिरहनु भयो। उहाँ आफैं मैदानमा खट्नु भयो। दिनरात नभनी हामीसँगै कोरोना रोकथाममा लाग्नुभयो।नगरपालिकाका समग्र कर्मचारी साथीहरु र अन्य स्वास्थ्यकर्मी साथीहरुले पनि सदैव आत्मबल बढाइरहे।होटलबाट समेत कहिले अलग व्यवहार भएन हामीलाई। हाम्रा खाना खाने भाँडाहरु छुट्टै थिए। समयसमयमा खानाको व्यवस्था भइरह्यो। मलाई २०७० सालमा भालुले आक्रमण गर्दा टाउकोमा ठूलो चोट लाग्यो। भालुजस्तो जङ्गली जनावरबाट त बाँचे भने कोरोना त मज्जाले जित्नसक्छु भन्ने आत्मविश्वासले नै कोरोना जित्न सफल भएँ।
जिन्दगी नं ३
हामी स्वास्थ्यकर्मीले जिन्दगीमा कयौँ मानिसको ज्यान जोगाएका हुन्छौं। कयौ मानिसले हाम्रै अगाडि ज्यान गुमाएका समेत हुन्छन्। मृत्युसँगको साक्षात्कार नजिकबाट गर्नेहरुलाई मृत्युदेखि खासै डर लाग्दैन। हामी विज्ञानमा विश्वास गर्छौ। र, कहिलेकाहीँ समयमा पनि। समय आएपछि कसैको केही लाग्दैन। एउटै पद्धति र एउटै औषधिले उपचार गर्दा कसैको जीवन प्राप्ति हुन्छ त कसैको जीवन अन्त्य।
२०५० सालमा जागिर सुरु गरी २०७७ सालसम्म आइपुग्दा २७ वर्षे जागिरे जीवनमा कयौं महामारीको सामना गरियो। सिजनल ज्वरो, हैजा, झाडापखाला लगायतका कयौं महामारीभन्दा फरक रुपमा आयो कोरोना। अन्य महामारीको नियन्त्रणमा संक्रमणको कम सम्भावना रहे पनि कोरोनामा भने उच्च जोखिम रहने देखियो। बाजुरा जिल्ला सबै गाउँगाउँमा अधिकांश सबै जिल्लाबासीका नाडी छामेका मेरा हातले भिटिएम किट समात्दा भने अर्को जिन्दगीमा प्रवेश गरायो।
जिन्दगीको पहिलो परीक्षा २०७० सालमा जङ्गली जनावर भालुसँग दिँए। जिल्ला अस्पताल बाजुरामा दरबन्दी भई बाल रोगको एकीकृत व्यवस्थापन कार्यक्रमको फलोअप मिटिङमा काँडा स्वास्थ्य चौकीबाट कार्यालय फर्किने क्रमा अकस्मात जंगली जनावर भालुसँग जम्काभेट हुँदा मेरो टाउको लगायत शरीरका अन्य भागमा चोट लाग्न पुग्यो। टाउकोमा समातेर मलाई उसको टाँङमुनि पार्यो र निरन्तर लुछिरह्यो। ३०/३२ वर्षको लक्का जवानीमा भालुको घाँटी समाती खुट्टाले हुत्याउँदा भालु पाखाबाट गुल्टियो र घरतर्फ नै फिर्ता भएँ। घरबाट ठ्याक्कै वारिपट्टिको खोलामा भालु कराएको सुनेपछि गाउँलेहरु हल्लाखल्ला गर्दै आए।सबैले भालुले आक्रमण गरेपछि मान्छे बाँच्न नसक्ने अड्कल समेत लगाए तर पनि म बाँचेँ। पहिलो परीक्षामा सफल भएँ। हाल भालुले कोतरेको तालुमा अझै कपाल उम्रेको छैन।
जीन्दगीको दोस्रो परीक्षा कोरोनाले लियो। कोरोनासँगको लडाइँमा चैत ९ देखि युद्धरत रहँदा चैत ४ गते संक्रमण देखियो। हेल्थ हेल्प डेस्क, क्वारेन्टाइन, आइसोलेसन लगायत औषधि उपकरण व्यवस्थापन र सूचना व्यवस्थापनमा खटिरहँदा कोरोना पोजेटिभ भएँ। जेठ २३ देखिको क्वारेन्टाइन र १४ दिनको आइसोलेसन बसाइपछि कोरोना समेत पराजित भयो अन्तत: असार १७ गते कोरोना जितेको प्रमाणपत्र हातपर्यो र जिन्दगी नं ३ मा प्रवेश गरेँ।
मृत्युसंग नजिकबाट साक्षात्कार गरेका यी २ घटनाले जिन्दगीको मूल्य सिकाएर गए। जिन्दगीको महत्व बुझाएर गए। भालुको आक्रमण पश्चात मैले टोपी लगाउनुपर्ने अनिवार्य भयो। कोरोना संक्रमणपश्चात् म लगायत सबैलाई व्यक्तिगत सरसफाइ नै रोगको मुल औषधि रहेको कुरा बुझायो। व्यक्तिगत सरसफाइ, स्वास्थ्य सतर्कता र उच्च आत्मविश्वास नै जिन्दगीमा प्रमुख हतियार रहेछन्।
(सि-अहेब खड्का बडिमालिका नगरपालिका बाजुराका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख हुन्।)