डा आभा हाडा दुलाल
- मेरो दोस्रो पटक बच्चा निकाल्ने अपरेसनका बेला डाक्टरले सोध्नु भएको थियो, 'अपरेसन अगाडि सोध्दा नमान्नु भएको रहेछ, फेरि पनि सोध्दैछु, पाठेघर पल्टाउने हो कि होइन? अथवा कपर टी हालिदिउँ? दुई पटक अप्रेसन भइसक्यो, पाठेघरको तल्लो भाग साह्रै पातलो भएर फुट्न लागेको अवस्थामा रहेछ। अर्को गर्भमा फुट्ने जोखिम धेरै छ।'
मैले सोचें, फेरि छोरी भएको रहेछ, छोराको रहर अझै छ उहाँलाई। म अब डिपो सुई लगाउँछु। डाक्टरले श्रीमानलाई पनि यो सब भन्नुभयो, मान्नु भएन। आज म अप्रेसन टेबुलमा फेरि लडिरहेको छु, रक्ताम्य अवस्थामा। सुई लगाउँछु भन्दाभन्दै फेरि गर्भ रहन गयो। महँगो मूल्य तिरेर भिडियो एक्स-रे गरें, छोरी रहेछ फेरि। मेडिकल गएँ, बच्चा फाल्ने औषधि मागें, पहिला पनि एकचोटि गरेकी थिएँ, यो चोटि पनि कसो नजाला भनी खाइदिएँ। पेट दुखेर छटपटी हुन थाल्यो, रगत ह्वालह्वाल बग्न थाल्यो, म बेहोस भएँ। मेरो त पाठेघर नै फुटेर पेटभरि रगत जमेको रहेछ र तुरून्त अपरेसन नगरे ज्यान जाने रहेछ। अहिले मेरा अगाडि डाक्टरहरु मेरो ज्यान बचाउन भागदौड गरिरहेका छन्। लापरबाही भयो हामीबाट ठूलो, महसुस हुँदैछ, तर ढिलो भइसक्यो।
- कलेज पढ्दै गरेकी म, आफ्नो प्रेमीसँग नजिकिएँ। गर्भ कसरी रहन्छ र गर्भ रहन नदिन के गर्नुपर्छ भन्ने कुरा स्कुलमा टिचरले लजाइलजाई भए पनि पढाउनु भएको थियो। तैपनि क्षणिक जोसमा लापरबाह भएँ, गर्भ रहन गयो। आत्तिँदै मेडिकलबाट बच्चा फाल्ने औषधि खाएँ, घर आएँ, आमालाई पेट दुख्यो भन्दै ओछ्यानमा लडेछु, बेहोस भएछु र आँखा खोल्दा अस्पतालमा रहेछु। डाक्टर आवाज सुनें, उहाँको बच्चा पाठेघरमा नभई नलीमा बसेको रहेछ र सो नली फुटेर पेटभरि २ लिटर जति शरीरको रगत जम्मा भएर शरीरमा रगतको मात्रा धेरै कम भएकोले इमरजेन्सी अपरेसन गर्नुपर्ने स्थिति आएको छ। बुवाआमा स्तब्ध हुनुहुन्थ्यो। क्षणिक आनन्दमा असावधानीको नतिजा भोग्नु परेको थियो मैले। गल्ती बोध भयो।
- म हुर्किसकेका एक छोरा, एक छोरीकी आमा, असल श्रीमती। झुक्किएरर गर्भ बस्यो। गर्भनिरोधक साधनबारे थाहा थियो, सल्लाह पनि गरेकै हो तर श्रीमानले 'ह्या पर्दैन, म आफैं कन्ट्रोल गर्छु' भन्नु भएको थियो, साधन प्रयोग पनि गरिन। गर्भ रहन गयो र अब अस्पताल गएर साफ गर्छु भनेर गएँ। सबै चकित्सकको सल्लाह बमोजिम जोखिमबारे पूर्ण जानकारी पाएँ। मनमा डर मान्दै सफा गराउन स्वीकृति दिएँ। सफा गर्ने क्रममा दुखाइ त थियो तर रिंगटा लाग्न थाल्यो, मेरो पाठेघरबाट अत्यधिक रक्तश्राव भएको रहेछ। सबै पोख्त डाक्टर उपस्थित थिए त्यहाँ। रगत मगाइयो, रगत चढाउन सुरु गरियो, मेरो पाठेघरमा सलाइनले बेलुन फुलाएर रगत रोकिएको र केही दिन अस्पतालमै बस्नुपर्ने सुझाव दिइयो। रगत नरोकिए पाठेघर फाल्नुपर्ने हुनसक्छ भनियो। पीडा भयो साह्रै। श्रीमान् धेरै चिन्तित हुनुहुन्थ्यो।
- महिनावारी नहुँदा चिन्ता लाग्यो। श्रीमान् तीन वर्षदेखि विदेशमा, शारीरिक सम्पर्कको इच्छाको लागि उहाँसँग बढ्दै गएको निकटता। केही हुन्न होला भन्दै आफैंलाई आश्वासन दिएँ तर असुरक्षित सम्पर्कले मनमा चिसो पसिसकेको थियो। जाँच गरें, पोजिटिभ देखियो, उहाँले एउटी दिदीकोमा लाग्नु भो, जडीबुटी खान दिनुभो र तलबाट पाठेघरको पनि फुटाउने भन्दै एउटा हाँगा छिराउनु भो। अत्यधिक पीडा भो, रगत बग्यो, बच्चा पनि खस्यो तर साल झरेन। पेट दुख्न र फुल्न थाल्यो, ज्वरो आएर सिथिल भएँ, अस्पताल लगियो, त्यहाँ मेरो पूरै शरीरमा संक्रमण फैलिएर अवस्था निकै गम्भीर भएको भनियो। पाठेघरमा केही चिज छिराएको कुरा सुनेपछि सो चिज हाल्दा पाठेघर छेद नगरी अन्द्र समेत प्वाल परेको हुनसक्ने अनुमान लगाइयो। सोचें, गल्ती त भयो अनियोजित गर्भ र असुरक्षित गर्भपतनको कारण। तर ढिलो भइसकेको थियो।
- टेस्ट गरेको फेरि पोजिटिभ। पढाइ, जागिर सबको बोझ थियो। तेस्रो पल्ट गर्भ फाल्न गएँ। दस हप्ता भएको रहेछ फेरि सफा गराउन तयार भएँ। ओपिडी बाहिर एउटा दम्पती निकै निराश थियो। कुरा बुझ्दा उनीहरूको बच्चा यस पटक पनि खेर गएको रहेछ। मनमा सरम लाग्यो तर यो पटक पनि गर्भ फालें। पहिला पनि भनेका थिए, गर्भ निरोधक साधन अपनाउन तर हेलचेक्र्याइँ गरें। यसपाली डाक्टरले खुब सम्झाउनु भो र सुझाव मानें। पढाइ पूरा भो र जागिर स्थायी। अब आमा बन्ने रहर जाग्यो र प्रयास गर्यौं। दुई वर्ष बित्यो तर गर्भ रहेन। सब जाँचहरु गर्दा थाहा भो, धेरै पटक सफाइ गरेकोले पाठेघरभित्र झिल्लीहरु बनेर टाँसिएको रहेछ। उपचारको उपाय त थियो तर धेरै पश्चातापवोध भयो। गल्ती आफ्नै थियो। स्रोत, शिक्षा, साधन सबै थियो तर सावधानी थिएन।
अनिच्छित गर्भ रोक्न सकिने अवस्था हो। दुखाइ, शारीरिक पीडा, ज्यान गुमाउने जोखिम महिलाको हुन्छ भने मानसिक पीडा पुरुषले पनि बेहोर्नुपर्छ, जिम्मेवारी दुवैको हो। सावधानी, उचित सल्लाह अनुरूपको गर्भ निरोधक साधन प्रयोग गरी यस्ता किसिमका धेरै दुर्घटना हुने थिएनन् होला। गर्भपतन गराउनु सेवाग्राहीको अधिकार हो तर यसका पनि आफ्नै खतरा हुन्छन्। सुरक्षित गर्भपतन सेवा हुँदाहुँदै असुरक्षित उपाय रोज्नु जोखिम निम्त्याउनु हो।