मोहन काफ्ले
आज विश्व नै एउटा भाइरसको आँधीमा रुमलिएको छ। यस विषम परिस्थितिमा त्यो भाइरसबाट छुटकारा पाउन सारा विश्व नै कम्मर कसेर लागेको छ। यस्तै एकजुट र एक्यवद्धताले नै विगतमा देखिएका विभिन्न महामारी (जस्तै: स्मल पोक्स, मर्स, सार्स) सँग मानव ज्ञानले जित हासिल गरेको थियो। त्यस्तै साथ र सहयोग आज पनि अपरिहार्य छ। यसरी विश्व समुदाय मानवताको लागि हातेमालो गरिरहँदा, हामी भने नकारात्मक विचारका विस्तारामा सुतेर गैर-जिम्मेवारीपनको कम्बल ओढिरहेका छौँ।
'आजभोलि स्वास्थ्य संगठनहरुले कोभिड-१९ लाई लिएर मास्क र स्यानिटाइजरको व्यापार गर्दै छन्। अन्य रोगबाट मरेका बिरामीलाई पनि कोभिड-१९ भनेर स्थितिलाई झनै भयावह बनाइँदै छ' जस्ता अभिव्यक्ति सुन्न पाइन्छ। हो, राजनीतिक खिचातानी, स्रोत-साधन तथा जनशक्तिको अभाव, अध्ययन तथा खोजमा कमी, जस्ता कारणले गर्दा कोभिड-१९ को रिपोर्टिङ तथा जनचेतनामा केही हदसम्म असर त अवश्य परेको छ। तर, हाम्रो समाजमा जसरी अशोभनीय तबरबाट विचार प्रस्तुत गरिन्छन्, त्यो भने उपयुक्त छैन।
मानौं, एउटा रुखमा धमिरा लागेको छ। धमिरा लागेको रुख एक दिन त अवश्य ढल्छ। तर, यदि रुखमा कसैले धक्का लगाइदियो भने त्यो रुख अवश्य पनि छिटो ढल्छ अथवा भनौं ढलिहाल्छ। कोभिड-१९ र विभिन्न दीर्घरोगको सम्बन्ध पनि त्यस्तै हो। दीर्घरोगले गर्दा रोगसँग लड्नसक्ने क्षमता कमजोर भएको शरीरमा कोभिड-१९ ले बढी प्रभाव पारी मृत्युसम्म पुर्याकउन सक्छ। यसरी हेर्दा मृत्युको प्रत्यक्ष कारण कोभिड-१९ हुन्छ। त्यसलाई medically, Underlying Cause Of Death भनिन्छ भने दीर्घरोगलाई तथा अन्य immunocompromised state लाई Associated Comorbidity भनिन्छ। मृत्युको प्रमाणपत्र पनि यही आधारमा दिइन्छ (CD- Guidelines)।
त्यसैगरी दीर्घरोग लागेका सबैको अवस्था बिग्रेको हुन्छ पनि भन्न मिल्दैन। त्यो कुरा रोगको सन्तुलन तथा गम्भिरता कति छ भन्ने कुरामा निर्भर गर्छ। अनि दीर्घरोग नहुनेको मृत्यु हुन्न पनि भन्न मिल्दैन।
हाम्रो शरीरमा, बाहिरबाट गएका जिवाणुहरुलाई नष्ट गर्ने कोषहरु हुन्छन्। कहिलेकाहीँ ती कोषहरु असक्षम भई जिवाणुहरु रगतसम्म पुग्न सक्छन् र त्यहीँ विभाजन हुन सुरु गर्छन्, त्यसैलाई Medically, Viremia भनिन्छ। त्यो अवस्थामा पुग्यो भने रगत हुँदै भाइरस विभिन्न अङ्गमा पुगी त्यसको कामलाई अवरोध गर्न सक्छ, त्यसलाई multiorgan dysfunction syndrome (MODS) भनिन्छ। र, अन्तिममा शरीरभरि रगतको अभावले सक भएर, स्वस्थ मानिसको (कुनै दीर्घरोग नलागेको) पनि मृत्यु हुन सक्छ। यो कुराको ज्ञान नहुँदा, आज युवावर्गहरु स्वास्थ्यको माप्दण्डको उल्लंघनतर्फ अग्रसर हुँदै छन्।
अनि अर्को कुरा- 'काँडाघारीमा जाँदा काँडा बिझ्न सक्छ, चप्पल लगाएर जानु' भन्दा चप्पलको व्यापार गर्यो भनिनु कतिसम्म उचित हो? मास्क र स्यानिटाइजरको प्रयोगलाई प्रोत्साहन गर्नुलाई व्यापार सम्झिनु पनि त्यत्ति नै अनुचित हुन्छ। आफ्नो ठाउँमा यो परिस्थिति सही पनि हुनसक्ला, तर समयानुसार सोच्दा फाइदा र बेफाइदाको तराजुमा त्यसको प्रभावलाई तौलिनै पर्छ।
हामी, 'हामीसँग इम्युनिटी पावर धेरै छ, हामीलाई कोरोनाले केही गर्दैन' भन्ने मनसाय लिगेर हिँडेका छौँ। वर्षेनी २५ प्रतिशतभन्दा बढी मानिस सामान्य झाडापखाला, निमोनिया जस्ता सरुवा रोगको कारणले मृत्यु हुने हाम्रो देश, समाजका हामीहरुले हामीसँग इम्युनिटी पावर धेरै छ भन्नु त्यति उचित हुँदैन। हाम्रो भान्साघर इम्युनिटी पावरको लागि बोन म्यारो सरह छन्। तर, यो भन्दैमा हामी कति कुरामा चुकिरहेका छौँ, सोँच्नु जरुरी छ। हामीले हाम्राका औषधिलाई कसरी प्रयोग गरेका छौँ पनि सोँच्नु जरुरी छ। तेललाई बेस्सरी तताएर प्रयोग गरिनु, अधिक मसलादार तरकारी, बेसार तथा नुनलाई धेरै बेरसम्म पकाउनु, जस्ता प्रचलनले त्यसको स्वास्थ्यवर्धकपनामा ह्रास आँउछ। 'आलु खाएर पेडाको धाक' भनेजस्तो हामी के गर्छौं र के बोल्छौँ भन्ने कुरामा धेरै भिन्नता छ। अल्पसिकाइ अनि बोलीमा निर्धक्कता पनि राम्रो हुन्न रैछ।
मृत्युलाई जति सजिलोसँग सैद्धान्तिक तरिकाले स्वीकारिन्छ, मृत्युको भोगाइ त्यति सजिलो भने छैन। त्यही मृत्युको भोगाइलाई पूर्णबिराम लगाउनकै लागि, विभिन्नथरीका बिरामीका लागि विभिन्न उपचारका मापदण्ड तथा निर्देशिका तयार गरिन्छ। जसमा रोगको टेस्ट, निदानदेखि उपचारसम्म उल्लेख गरिएको हुन्छ। तर, केही दिनयता सामाजिक सन्जालहरुमा यसका टेस्ट, आइसोलेसन, पिसिआर जस्ता विषयवस्तुलाई 'नाटक' भन्दै यो सबै भ्रम हुन भन्नेसम्मका प्रतिकृया आइरहेका छन्। 'भोक लाग्दा खानेकुरा राम्ररी पकाएर खानुपर्छ' भन्नुलाई 'नाटक' भनियो भने स्थिति कहाँ पुग्छ? कुनै पनि रोगको नियन्त्रणका लागि यसको रोकथामदेखि निदान हुँदै उपचारसम्म पुग्नुपर्ने हुन्छ। तल्लो तल्लाबाट उफ्रिएर माथिल्लो तल्लामा कोही पुग्छ र? भर्याङबाटै उक्लिनुपर्छ। पिसिआर टेस्ट, निदान, आइसोलेसन भनेको त्यही भर्याङ हो।
कुनै पनि डाइग्नोस्टिक परीक्षणको विशिष्टता र तथा संवेदनशीलता सतप्रतिशत हुँदैन। यो कुरा मनन गरिनु वान्छनीय छ। हो, सबै जनालाई यो रोगको लक्षण देखिन्छ भन्न मिल्दैन, त्यसैलाई चिकित्सकीय भाषामा 'iceberg phenomena' भनिन्छ। र, देखिएकामध्येलाई पनि थोरैलाई मात्रै अत्यन्त सिकिस्तता देखा पर्छ। तर, यसो भन्दैमा 'उपचार गर्नै पर्दैन, यो आफैं निको हुन्छ' भनिनु पनि यसको गम्भीरताको ज्ञानमा कमी हुनु हो। सानो सहयोगी उपचारले पनि बिरामीलाई धेरै नै राहत पुग्छ। अहिलेको मृत्युदर जति छ, यदि आइसियु र भेन्टिलेटर नहुने हो भने त्यो मृत्युदर कहाँ पुग्छ भन्ने कुराको आकलन केही दिनयता केही बिरामीहरु बेलैमा उपचार नपाएर मृत्यु वरण गर्नुपरेको समाचारबाट गर्न सकिन्छ।
हाम्रो समाज सांस्कृतिक विविधताले पनि भरिपूर्ण छ। समाजिक सद्भाव र एकताको सन्देश दिने थुप्रै चाडपर्व र रीतिरिवाज छन्। यी सबै रीतिरिवाजको एउटै उद्देश्य हो- धर्म। अहिले विषम समयमा हिन्दु, बौद्ध, इसाई, इस्लाम आदिभन्दा थोरै माथि उठेर 'मानवीयता' जस्तो पवित्र धर्मलाई अनुशरण गर्दा हुँदैन र? 'सामाजिक सद्भाव' अनि 'मानवीयता' दुवै पक्षलाई एकसाथ लिएर परम्परालाई निभाउँदा कुन देवता रिसाउलान् र? त्यतिमात्रै हैन, कतिपय समाजमा त यो पनि सुनिन्छ कि- 'पैलापैला तल्लो जात छुन हुन्न भन्थे, मान्छेहरु जान्ने भएर केही हुन्न भन्दै हिड्थे, आजकल बुझ्दै छन् तल्लो जात किन छुन हुन्न भनेर' भन्दै जातीय विभेद गर्नुलाई गौरव ठान्दैछन्। तर त्यो जातीय विभेदको आसय 'असमानता र सामन्तवाद' हो भने आजको भौतिक दूरीको आसय 'मानवीयता' जस्तो पवित्र धर्म हो। यसलाई कुन धर्मात्माले बुझ्ने? पश्चिमी र पूर्वीय संस्कृतिबीचको द्वन्दभन्दा माथि उठेर दुवै पक्षका सबल र सुन्दर पक्षलाई सबैले सजिलै स्वीकार गर्दा सांस्कृतिक सहिष्णुताको पनि सन्देश दिन सकिन्छ।
अन्त्यमा, कोभिड-१९ सोचेभन्दा खतरा नभए पनि सोचेभन्दा सामान्य अवश्य पनि छैन। यसको संवेदनशीलतालाई नबुझी गरिएका विभिन्न भ्रामक प्रचार तथा आतंकलाई बन्द गरिनैपर्छ। रातदिन नभनी उपचारमा खटिरहेका सक्रिय स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई उच्च मनोबल प्रदान गरिनुपर्छ। यस प्राकृतिक विपत्तिका बेलामा मानव आफैंले मानवीय विपत्ति सिर्जना गर्नु कदापि उचित हुँदैन। एक जनाको पनि ज्यान जोगाउन सकियो भने त्यो धर्म सावित हुनेछ। त्यो काम स्वास्थ्यकर्मीले मात्रै गर्छन् भन्ने छैन।
रोगको निवारण भनेको उपचार मात्रै हैन; यसको रोकथाम पनि हो, त्यो हामी सबैले गर्न सक्छौं भने उपचारको लागि स्वास्थ्यकर्मीको खाँचो पर्छ। त्यसैले हामी सबै हातेमालो गरेर अगाडि बढ्नुपर्ने देखिन्छ। स्वास्थ नै सबैभन्दा ठूलो धन हो। पर्खिनुस्! समय आउनेछ, अनि त्यो दिन हामी सबै जना चौतारीको शीतलमा बसेर जीवनको सुरिलो गीत गाउँला।
(काफ्ले देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्सटिच्युटमा चिकित्साशास्त्र सातौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन्।)