प्रेमबहादुर थापा
सार्वजनिक सेवा राज्यको अनिवार्य दायित्व हो। सेवा नागरिक समक्ष पुर्याउने व्यक्ति ‘सेवा प्रवाहक’ हुन्। सेवालाई महत्व ठानेर काम गर्ने व्यक्ति राष्ट्रसेवक हुन्, जो कर्मयोगी हुन्छन्। असल कर्मद्वारा आत्म–सन्तुष्टि मिल्छ। सार्वजनिक सेवा राष्ट्रको सान समेत हो।
तर, सेवा दिने व्यक्ति स्वस्थ नभएमा सेवा प्रवाहमा बाधा पुग्छ। अहिले समग्र विश्व नोबेल कोरोना भाइरस (कोभिड–१९) को प्रतिरक्षामा छ। यो श्वासप्रश्वासको माध्यमबाट सर्ने तीव्र संक्रामक रोग हो। संक्रमितले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको कुनै पनि माध्यम भएर एक व्यक्तिबाट अर्कोमा सर्छ। नयाँ प्रजातिको भाइरस भएकोले मानिसको शरीरमा कोभिड–१९ विरूद्ध लड्ने रोग प्रतिरोधात्मक क्षमता छैन। न त कुनै औषधि तथा खोप नै प्रयोगमा आइसकेको छ। अतः कोरोना भाइरस विश्वव्यापी महामारी रोगको रूपमा गाँजिदै गएको छ।
विश्व स्वास्थ्य संगठनले कोरोना महामारी नियन्त्रणमा आउन अझै करिब २ वर्ष लाग्नसक्ने स्पष्ट पारेको छ। एकातिर कोरोनाका बिरामी र सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढिरहेको छ भने अर्काेतिर सार्वजनिक सेवा पनि प्रवाह गर्नैपर्ने चुनौती हामीमाझ छ। यस्तो विषम परिस्थितिमा सार्वजनिक सेवा दिने र लिने स्थानबाट भाइरसको संक्रमण झनै फैलिन सक्ने सम्भावना देखिन्छ।
बढ्दो कोरोना संक्रमणप्रति सेवा प्रदायकमा ठूलो सन्त्रास छ। बैंक तथा वित्तीय संस्था र विभिन्न प्रशासनिक क्षेत्रका कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्य संस्था वा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कोरोनाको उपचारमा संलग्न चिकित्सक तथा नर्समा कोरोनाको जोखिम क्रमशः बढी देखिन्छ। त्यसैगरी सार्वजनिक सेवा प्रवाहस्थलमा आउने सेवाग्राहीहरू विभिन्न स्वभावका हुने साथै मास्क नलगाई आउने, भीड लाग्ने, एकआपसमा भौतिक दूरी कायम नगर्ने जस्ता कारणले गर्दा सेवा प्रवाहक पनि कोरोनाको चक्रब्यूहमा पर्दै गएको स्पष्ट हुन्छ। अतः सार्वजनिक सेवा प्रवाहस्थल भाइरस सार्ने माध्यमका रुपमा परिणत हुने खतरा बढेको छ।
यस परिप्रेक्ष्यमा सेवाग्राही र सेवा प्रवाहकबीच के–कस्तो उपाय अवलम्बन गर्दा भाइरसजन्य महामारीमा सुरक्षित ढंगबाट सेवा प्रवाह गर्न सकिएला? भन्ने आजको मुल चुनौती बनेको छ। एकातिर निषेधाज्ञा जारी गरेर घरमै बस्नुपर्ने अवस्था छ भने अर्काेतिर सेवाप्रवाहमा सेवा दिने र लिने व्यक्तिको उपस्थिति पनि अपरिहार्य छ। यसरी सेवा लिन नागरिक सेवा अनुसारको निकायमा धाइरहनुपर्ने अर्थात् फाइलसँगै व्यक्ति पनि अघिपछि लागिरहनुपर्ने परम्परागत पद्धति छ। दुवै पक्षको उपस्थितिमा डेलिभर गरिने सेवाका लागि सार्वजनिक क्षेत्रमा स्वतः भीडभाड हुन्छ।
हामीकहाँ नागरिकलाई जुन सेवा चाहिएको हो, त्यहाँ सम्बन्धित व्यक्ति पुगेर प्रक्रिया पु¥याएर सेवाको माग गरी सेवा प्राप्त गर्नुपर्ने विद्यमान व्यवस्था छ। त्यसमाथि सेवाग्राहीले संयमता नअपनाउने, कतिपय कर्मचारी स्वयंंको हेलचेक्र्याईं, मास्कको सुरक्षित प्रयोग नगर्ने, छिनछिनमा हात धुने वा संक्रमणरहित नबनाउने र तिनै हातले नाक–मुख कन्याउने, अनुुहार मुसार्ने जस्ता कारणले कोरोना संक्रमित बढ्नुमा मलजल पुगेको छ।
अतः हरेक सार्वजनिक निकायले आफूले प्रवाह गर्ने सेवा त्यसको लागि लाग्ने दस्तुर र बुझाउने बैंक खाता, बैंकको नाम तथा शाखा र उक्त सेवा प्राप्तिको लागि आवश्यक कागजात वा प्रक्रिया स्पष्ट पारेर आ–आफ्नो वेबसाइट वा फेसबुक पेजमा राख्ने र सोही अनुसार सेवाग्राहीले सेवा लिन माग पेस गर्ने अनि प्रक्रिया पूरा गरी प्राप्त हुन आएको कागजातको आधारमा सम्बन्धित निकायले सेवा प्रवाह गर्नुपर्छ। यदि प्रक्रिया अपूरो भएमा तत्काल सेवाग्राहीलाई सूचना गर्नुुपर्छ। तत्पश्चात् उक्त कागजात सेवाग्राहीबाट हुलाक वा इन्टरनेटमार्फत मगाएर सेवा प्रवाह गर्ने व्यवस्था हुनुपर्छ।
अतः सेवा प्रवाहलाई जनताको वरिपरि बनाउन सूचना प्रणालीलाई प्रभावकारी बनाई तथ्य र प्रमाणमा आधारित भएर हाम्रा काम कारबाहीहरूलाई चुस्त–दुरुस्त बनाएमा पनि कोरोनाको जोखिम कम गर्न सकिन्छ। हरेक सार्वजनिक निकायले आफ्ना नागरिकहरूको सबै प्रकारको सेवा एकद्वार प्रणालीबाट दिने–लिने व्यवस्था गर्दा संक्रमणको दरलाई कम पार्न सकिन्छ।
अर्काेतर्फ, केही सर्वसाधारणबाट सेवा प्रवाहप्रतिको एकोहोरो र अपुरो बुझाइ, गलत सञ्चारका कारण असन्तुष्टि जनाई स्वास्थ्यकर्मीहरूमाथि दुव्र्यवहार हुँदै आएका छन्। यस्तो पृष्ठभूमिमा बनेको मनोविज्ञानले उपचार प्रक्रिया कसरी प्रभावकारी होला भन्ने पिरलो थपिएको छ। यद्यपि कहींकतै स्वास्थ्यकर्मीहरूबाटै पनि कमजोरी भएका होलान्, त्यसले असल नागरिक र चिकित्सकबीचको विश्वासमा कमी ल्याउने देखिन्छ। ती सबै कमजोरी निवारण गर्दै दोषीउपर उचित कारबाही गरिनुपर्छ।
पछिल्ला घटनाक्रमले के देखाइरहेका छन् भने कोभिड–१९ संक्रमणको फैलावट, असावधानी र हुल–आक्रोशले समाजमा पर्याप्त चेतनाको कमी छ। कम्तीमा २ मिटरको व्यक्तिगत दूरी कायम, मास्कको सुरक्षित प्रयोग, हातको सरसफाइ जस्ता साधारणभन्दा साधारण उपाय अवलम्बन गर्न नसक्नुले हाम्रो चेतनाको स्तरलाई गिज्याइरहेको छ।
कुनै घरमा संक्रमित, शंकास्पद बिरामी वा स्वास्थ्यकर्मी बस्दा वा एउटै बाटो प्रयोग गर्दा, त्यहाँ वरिपरिको पूरै वातावरण नै कोरोनामय हुन्छ जस्तो गरेर दुव्र्यवहार प्रदर्शन भएका छन्। यो भ्रमलाई चिर्न राज्य पक्षबाट स्वास्थ्यसम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिनुपर्छ। नागरिक पनि संवेदनशील भएर असल, सहयोगी र सहानुभूतिमुलक बन्नुपर्छ। चिकित्सक, स्वास्थ्यकर्मी र अन्य संक्रमितप्रति सहयोगको भावना दर्शाएर उनीहरुको मनोबल उच्च बनाइदिनुपर्छ। दह्रो आत्मविश्वास र सेवाभावले काम गर्नुपर्ने चिकित्सक, नर्सहरुलाई अपमानजनक व्यवहार गरी चिड्याउनु हुँदैन। उनीहरुले बचाउने हरेक जीवन आफू र आफन्त सरह नै हुन् भनेर आत्मीकरण गरिनुपर्छ। आफ्नो काम हुँदा पुज्ने र नहुँदा सत्तोसराप गर्ने स्वार्थी प्रवृत्तिले कुनै दिन आफैं पनि घेराबन्दीमा पर्नसक्ने कुरालाई हेक्का राख्नुपर्छ। सेवा प्रवाहकलाई सदैव सम्मान र हौसला प्रकट गरेमा आत्मबल बढ्न गई दक्षतापूर्वक काम हुन्छ र सेवाको गुणस्तर बढ्छ।
अहिले कोरोना भाइरसको संक्रमण तेस्रो चरणमा समुदाय प्रवेश गरेको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ। यस हिसाबले हाम्रो सरकारी सेवा प्रवाह र साधन–स्रोतको क्षमता बढाउने साथै परिचालन पद्धतिमा सुधार नगर्ने हो भने नियन्त्रणमा आउन निंकै कठिन छ। यसतर्फ सचेत बन्दै सरकारले बहुक्षेत्रीय विज्ञहरूको राय लिएर महामारी नियन्त्रण सम्बन्धी नीति तथा कार्यक्रम तयार गर्नुपर्छ। महामारी नियन्त्रणमा स्वास्थ्य शिक्षा तथा व्यवहार परिर्वतन कार्यक्रमलाई विशेष जोड दिने हो भने कोरोना महामारी छिट्टै नियन्त्रणमा आउनमा टेवा पुग्नेछ।
(थापा प्राविधिक सहायक हुन्।)