निगम कोइराला, अमुल श्रेष्ठ, सन्देश अधिकारी
कोभिड-१९ अथवा कोरोना भाइरस, विश्व महामारीको रुपमा फैलिएको छ। यस महामारीले विश्वको जनसंख्यालाई तीव्र गतिमा प्रभाव पारेको छ। नेपालमा पनि यसको संक्रमण बढ्दै गइरहेको छ। यस महामारीको समयमा विश्वका धेरै देशमा वृद्ध समूहले बढी जोखिम, त्रास र चुनौतीको सामना गर्नुपरेको छ।
वृद्धावस्था प्राकृतिक चक्रको एउटा अंश हो। यो एउटा अपरिहार्य प्रक्रिया पनि हो। कसैले पनि कहिल्यै रोकेर मानिस वा अन्य कुनै पनि जीव समयानुसार वृद्धावस्थाबाट वञ्चित हुन सक्दैन।
विश्वमै जनसांखिक वृद्धपन व्यापक रुपमा बढ्दो क्रममा रहेको छ, जसले गर्दा यसको असर प्रत्यक्ष्य र अप्रत्यक्ष्य रूपमा देशको सामाजिक र आर्थिक पाटोमा देखिन्छ। जनस्वास्थ्य क्षेत्रमा भएको सुधारसँगै क्रमिक स्वास्थ्य सुधारले मानिसहरु धेरै वर्ष बाँचे तर सँगसँगै वृद्धावस्थामा आउने शारीरिक, पारिवारिक, सामाजिक एवं मनोवैज्ञानिक समस्याको व्यवस्थापन गर्न चुनौती बन्दैछ।
विस्तारै आधुनिकीकरणतर्फ उन्मुख भइरहेको नेपाली समाजमा यहाँको सांस्कृतिक, परम्परागत र पारिवारक सद्भाव सहयोग र सहकार्य विस्तारै कमजोर हुँदै गएको प्रत्यक्ष अनुभूत गर्न सकिन्छ। कामको व्यस्तता, आधुनिक सोच र स्वतन्त्रता उन्मुख प्रवृत्ति हावी हुँदैगर्दा, वृद्धावस्थामा पारिवारिक सहयोग र सदभाव लुप्त हुँदै गइरहेको अहिलेको अवस्थामा अझ कोरोनाको महामारीले ती समुह झन् मारमा परेका छन्। कोभिड-१९ को महामारीले वृद्ध मानिसहरुको हेरचाह, समर्थन, सामाजिक रुपमा जडित हुने क्षमता र त्यसप्रति सोच्ने विचार, शारीरिक रुपमा आफ्ना परिवारका सदस्यहरु र साथीभाइहरुसँग भेट्नबाट बन्चित, आफू र आफ्नो परिवारका सदस्यहरु कोरोना भाइरसको संक्रमित भएर बिरामी तथा मृत्यु होलान् भन्ने डर र त्रासले गर्दा उनीहरुको दैनिक क्रियाकलापमा परिवर्तन ल्याएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार जेष्ठ नागरिक भन्नाले ६० वर्षभन्दा माथिको उमेर समूहका व्यक्ति भन्ने बुझिन्छ र नेपालमा पनि त्यही नै उमेर समूह कायम भएको अवस्था रहेको छ। फेरि विश्व स्वस्थ्य संगठनकै अनुसार ६० वर्षपश्चात् जटिलता पैदा भई मृत्यु हुने दर पनि बढिरहेको पाइन्छ। तथ्याङ्कले पनि यही नै पुष्टि गर्दै आइरहेको छ।
बढ्दो उमेरसँगै शारीरिक, आन्तरिक र बाह्य शक्ति विस्तारै घट्दै जान्छ जसको कारण रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा ह्रास हुँदै जान्छ र विभिन्न रोगले सहजै आक्रमण गरी रोगी बनाउँछ। यस्तो अवस्थामा वृद्ध–वृद्धाको हेरचाहमा धेरै ध्यान पुर्याउनुपर्छ। अझ भन्ने हो भने कोरोना भाइरसको अत्यन्त जोखिम उमेर समूह ८०+भन्दा माथि हुन्छ।
अमेरिकाको एक तथ्याङ्कले के बताएको छ भने १० मध्ये ८ जना कोरोना संक्रमितको मृत्यु ६५ वर्ष माथिको रहेको छ। (cdc.gov/coronavirus).The office for National statistics report (29th May, 2020) अनुसार ४६,००० भन्दा बढी मानिसको कोरोना भाइरसबाट बेलायत र वेहल्समा मृत्यु भएको र त्यसमा ५ जनामध्ये ४ जना ७० वर्ष र त्योभन्दा माथि उमेरका मानिस थिए। विश्व स्वास्थ संगठन दक्षिणपूर्वीय एशिया क्षेत्रीय कार्यालयको तथ्यांक अनुसार दक्षिणपूर्वीय एसियाका राष्ट्रहरुमध्ये कोभि-१९ को सबैभन्दा बढी संक्रमित भारतमा देखिएको छ। दक्षिणपूर्वीय एशिया क्षेत्रमा धेरैजसो वृद्धहरु आफ्नो सन्तानसँग बस्दै आएका छन् र कोरोनाको महामारीले गर्दा आउने आर्थिक आम्दानी ठप्प भएकोले पूरै परिवारको आर्थिक स्थिति पनि कमजोर हुँदै गएको र त्यसको नकारात्मक असर बढी वृद्धहरुमा देखिएको छ।
बढ्दो उमेरसँगै शारीरिक एवं मानसिक समस्याले जेष्ठ उमेरका मानिसलाई गाह्रो बनाइरहेको हुन्छ र त्यसमाथि पनि अहिले कोरोनाको सकस झन् डरलाग्दो र भयावह सावित भइरहेको छ। प्रारम्भिक अनुसन्धानले पनि के देखाएको छ भने वयस्कभन्दा वृद्धअवस्थामा कोरोना लागे पनि हुने जटिलता दुई गुणाले बढी हुन्छ। त्यसमाथि पनि यदि अरु रुग्णता (रोग लागेको अवस्था) जस्तै मुटु रोग, फोक्सो÷मिर्गौला सम्बन्धी रोग, मधुमेह, उच्च रक्तचाप छ भने झन् गम्भीर हुन सक्छ।
तथ्याङ्कले के पनि भन्छ भने सरदर ८५ प्रतिशत जेष्ठ नागरिकमा कम्तीमा एउटा क्रोनिक -दीर्घ स्वास्थ्य समस्या हुने गर्दछ, अनि ६० प्रतिशतमा कम्तीमा २ वटा क्रोनिक -दीर्घ स्वास्थ्य समस्या हुन्छ भनेको छ (cdc: centerfor disease control &prevention)। अब यस्तो अवस्थामा ती वृद्धवृद्धालाई कोरोना भयो भने अवस्था झन् नाजुक हुन्छ। यस्तो अवस्थामा यी समूहको जोखिम मूल्याङ्कन गरी अत्यावश्यक स्वास्थ्य सेवा प्रवाह गर्न सके उनीहरुलाई कोरोना कहरबाट बचाउन सकिन्छ।
कोभिड-१९ का रोकथामका उपायहरू वृद्धवृद्धामा र अन्य उमेर समूहका मानिसमा खासै फरक हुँदैन। यद्यपि वृद्धवृद्धाहरुको हकमा कोभिड-१९ लाई लिएर अधिक सावधानी र सतर्कता अपनाउनु आवश्यक छ। वृद्धवृद्धामा कोभिड-१९ रोकथामका लागि केही मुख्य उपायहरू यसप्रकार छन्:
आत्म-देखभालका उपाय
- हात सफा राख्नुहोस्। आफ्नो हात बेलाबेलामा राम्ररी साबुन र पानीले धुनुहोस्।
- सकेसम्म हातले मुख, नाक र आँखामा नछुनुहोस्।
- अन्य व्यक्तिहरुसँग शारीरिक र सामाजिक दूरी पछ्याउनुहोस्। कम्तीमा पनि १ मिटरको दूरी कायम राख्नुहोस्।
- कुनै पनि बेला शारीरिक दूरी सम्भव नभएमा अनिवार्य रुपमा मास्क लगाउनुहोस्।
- शारीरिक गतिविधि र स्वस्थ जीवनशैली कायम राख्नुहोस्।
- स्वस्थ, सन्तुलित र पौष्टिक खानाको साथै पर्याप्त पानी सेवन गर्नुहोस्।
- आफ्नो दैनिक दिनचर्यालाई प्राथमिकता दिनुहोस् र शारीरिक एवं मानसिक रुपमा सक्रिय रहनुहोस्।
- हरेक दिन बिहान पर्याप्त सूर्यको प्रकाश प्राप्त गर्नुहोस्। घामले हाम्रो शरीरमा भिटामिन डी लिन मद्दत गर्दछ। यसले हामीलाई संक्रमणको जोखिमबाट पनि जोगाउँछ।
- भिटामिन सीयुक्त खाद्य पदार्थहरूको सेवन नियमित रुपमा गर्नुहोस्।
- धूमपान तथा मध्यपान नगर्नुहोस।
सामाजिक र मनोवैज्ञानिक उपाय
- घरका सदस्य र छिमेकीहरूले वृद्धवृद्धालाई उनीहरूको खाद्यान्न र अन्य किनमेल गर्न मद्दत गर्नुपर्छ।
- परिवार र छिमेकीले वृद्धवृद्धालाई एक्लो महसुस हुन नदिन हरेक दिन उहाँहरुसँग कुराकानी गर्नुपर्छ।
- वृद्धवृद्धालाई फोन तथा अन्य सामाजिक प्लेटफर्ममार्फत सामाजिक रुपमा सक्रिय रहिरहन मद्दत गर्नुहोस्।
- अनावश्यक आगन्तुकहरूलाई वृद्धवृद्धाबाट टाढा राख्नुपर्छ।
घरेलु सरसफाइका उपायस्
- बारम्बार छोइएका सतहहरूलाई सफा र किटाणुरहित राख्नुहोस्। यस अन्तर्गत विशेष गरेर ढोकाका ह्यान्डल, लाइटस्विच, फोन, शौचालय र धाराहरु पर्दछन्।
उपचारका उपाय
हालसम्म कोभिड-१९ को लागि कुनै विशेष उपचार वा औषधि बनेको छैन। यद्यपि संक्रमणको कुनै पनि लक्षण देखिएमा स्वाथ्यकर्मीलाई सम्पर्क गर्न र पिसिआर टेस्ट गर्न आवश्यक छ।
साथै नेपाल सरकारले भर्खरै निकालेको पोषण निर्देशिकाले पनि कोभिड-१९ संक्रमित वृद्धवृद्धालाई कुन समयमा केके खानेकुरा कसरी खाने भनी उल्लेख गरेको छ। ६० वर्षभन्दा माथिको उमेरमा मानसिक, शारीरिक परिवर्तन तथा मेटाबोलिज्ममा आएको परिवर्तनका कारणले खानामा रुचि कम भई कुपोषित हुने जोखिमका साथै रोग प्रतिरोधात्मक क्षमतामा कमी आइरहेको हुन्छ। विभिन्न खालका दीर्घरोगका कारणले यस उमेर समूहमा कोभिड-१९ को संक्रमण र मृत्युको जोखिम पनि अन्य उमेर समूहको तुलनामा उच्च रहेको पाइएकाले उचित खानपान र जीवनशैलीमा विशेष ध्यान दिन जरुरी छ।
संक्रमित व्यक्तिहरुको लागि पोषणसम्बन्धी अन्तरिम निर्देशिका, २०७७ (मिति २०७७/०५/२९ गतेको माननीय मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत)
तलको लिंकमा गएर डाउनलोड गर्न सकिन्छ।
https://publichealthupdate.com/nutritional-guideline-for-covid-19-infected-patients/?fbclid=IwAR3IAO2xvzUHiY6WOMJaD-ruRTK5qICPcGnIzV6HjvMqT0eAqcOPtXlvRWo
(कोइराला, श्रेष्ठ र अधिकारी जनस्वास्थ्यकर्मी हुन्।)