सरोज श्रेष्ठ
म एमबिबिएस तेस्रो वर्षमा अध्यनरत विद्यार्थी। कोभिड-१९ महामारीका कारण कलेज बिदा भएपछि नेपालगञ्जबाट फर्किएर गत चैतदेखि काठमाडौंमा परिवारसॅग बस्दै आएको थिएँ। कोरोना सङ्क्रमितको सङ्ख्यासॅगै यसको डर-त्रास पनि दिन प्रतिदिन बढिरहेको थियो।
करिब चार महिनाको लकडाउनपछि लकडाउन खुकुलो भयो। काठमाडौं प्रवेश गर्नेहरुको घुइँचो बढ्न थाल्यो। यससँगै काठमाडौंमा कोरोना सङ्क्रमितको सङ्ख्या पनि ह्वात्तै बढ्यो। केही काम परेकोले एक/दुई पटक घरबाट बाहिर निस्किएको थिएँ। एक पटक सार्वजनिक सवारीसाधन पनि प्रयोग गरेको थिएँ।
साउन ३० गते दिउँसोबाट शरीर हल्का तात्तिएको महसुस भयो। जिउ गल्ने, टाउको भारी हुने र बेलाबेला सुख्खा खोकी लाग्ने समस्या पनि सुरु भयो। सुत्नु अगाडि एउटा पारासिटामोलको चक्की खाएर सुतें। गाह्रो भएर बिहान तीन बजे नै ब्युझिएँ। हनहनी ज्वरो आउनुका साथै टाउको पनि एकदम दुखेको थियो। उठेर थर्ममिटरले तापक्रम नाप्दा 101.5°F देखायो। एउटा पारासिटामोलको चक्की खाएपछि अलिक आनन्द भयो अनि फेरि सुतें।
भोलिपल्टबाट ज्वरो र टाउको दुखाइ कम हुँदै गयो। कतै कोरोनाकै सङ्क्रमण भयो कि भन्ने शंका लागेर पर्सिपल्ट चेकअप गराउन पाटन अस्पताल पुगें। पिसिआर जाँचको लागि नाक र घाँटीबाट स्वाब दिएर घर फर्किएँ। जिउ गल्ने बाहेक सबै लक्षण ठिक भइसकेका थिए। औषधि (पारासिटामोल) तीन दिन मात्र खाँए। तर विस्तारै गन्ध थाहा पाउन भने छोडें। तीन दिनपछि राति ९ बजेतिर रिपोर्ट आएको मेसेज आयो। अस्पतालको अनलाइन साइटबाट हेर्दा रिपोर्ट नेगेटिभ आएको रहेछ। खुसी हुँदै परिवार अनि साथी-भाइलाई सुनाएर ढुक्क भएर सुतें।
भोलिपल्ट बिहान ८ बजे पाटन अस्पतालबाट फोन आयो। मेरो नाममा दुई वटा फरक रिपोर्ट आएको कारण मैले फेरि अस्पताल गएर स्वाब दिनुपर्ने कुरा गर्नुभयो। तर त्यसै दिनबाट काठमाडौंमा निषेधाज्ञा सुरु भएको थियो। कसरी जाने भनेर सोच्दै गर्दा दिउँसो १ बजेतिर फेरि फोन आयो। पाटन अस्पतालको मोलिक्युलर बायोलोजिस्ट बोलिरहेको र अस्पतालमा यस्तो गल्ती पहिलो पटक भएको हुनाले झन्झट नमानी फेरि स्याम्पल दिन आग्रह गर्नुभयो। मैले निषेधाज्ञाको कुरा राख्दा बाटोमा कतै रोक्यो भने उहाँलाई सम्पर्क गर्नु भनेपछि मैले तुरुन्तै बाइकमा गएर स्वाब दिएर आएँ।
देशकै एक प्रतिष्ठित अस्पतालबाट महामारीको समयमा यस्तो गल्ती हुनु लज्जास्पद कुरा हो जस्तो लाग्छ। फोनमा कुरा हुँदा रिपोर्ट सकेसम्म एक दिनपछि नै उपलब्ध गराइदिउँला भन्नुभए तापनि तीन दिनसम्म पनि रिपोर्ट आएन। अस्पतालमा सोधपुछ गर्दा टेक्निकल समस्या भएको कारण ढिलो भएको बताउनुभयो। पाँच दिनपछि बल्ल बेलुका फोन आयो। स्वास्थ्य कार्यालयबाट रहेछ। मेरो रिपोर्ट पोजेटिभ आएको थाहा पाएँ। म आत्तिएँ। यसरी लक्षण देखिएको एघार दिनपछि मात्र म सङ्क्रमित रहेको कुरा प्रमाणित भयो। नेपालमा कोभिडको व्यवस्थापन कति अव्यवस्थित र सुस्त छ भन्ने कुरा यसबाट पनि आकलन गर्न सकिन्छ।
रिपोर्ट पोजेटिभ आएको कुरा परिवारलाई सुनाउँदा सबै जना आत्तिनु भयो। सबैको मुहार मलिन भयो। पोजेटिभ थाहा भएपछि डरको माहोल सिर्जना भएको कारण घरमै बस्न मन लागेन, त्यसैले आइसोलेसन सेन्टरमै जाने निधो गरें। परिवारमा सबैलाई नआत्तिन र केही दिनमा सबै सामान्य हुनेछ भनेर सम्झाएँ। वडालाई पनि खबर गरें। चाहिने सरसामान सबै तयार पारेर बेलुका सात बजेतिर एम्बुलेन्स चढेर आइसोलेसन सेन्टर पुगें।
त्यहाँ पुगेपछि एक जना नर्सले सबै विवरण रेकर्ड गरेर कोठा तोकिदिनुभयो। सुरुमै आउनुभएको एक सङ्क्रमित दाइले मलाई कोठा देखाएर वाइफाइको पासवर्ड पनि भन्दिनु भयो। कोठाभित्र एउटा खाट, टेबल, पङ्खा, कुर्सी, बाटा, अनि बाल्टीभित्र नयाँ साबुन, सेम्पु, स्यानिटाइजर, टिस्यु पेपर, तौलिया, चप्पल, थर्मस इत्यादि राखिएका थिए। सबै सामान झिकेर मिलाएर कुर्सीमा आराम गरें।
मनमा अनेकौं कुरा खेलिरहेका थिए। एउटा साहसिक यात्रा सुरु गरेको अनुभूति भइरहेको थियो। सम्पर्कमा आएका साथीभाइ र आफन्तजनलाई खबर गरें। सबैको डरको केन्द्रविन्दु आफू बन्दा साह्रै दु:ख लागिरहेको थियो।
केही बेरपछि एक जना छिमेकी दाइको फोन आयो। बेकारमा किन पिसिआर गराएको, रिपोर्ट पक्कै पनि गलत आएको हुनसक्ने र मैले गर्दा उहाँहरु सबैललाई अप्ठेरोमा पारे भन्ने जस्ता कुराहरू गर्नुभयो। थाहा नभई सङ्क्रमण फैलाउनुभन्दा जाँच गराएर सतर्कता अपनाउनु ठिक हो र केही दिनपछि सबै सामान्य भइहाल्छ नि दाइ भनेर उहाँलाई सम्झाएँ।
त्यसैगरी टोलका अरु दुई/तीन जना दाइले पनि फोन गर्नुभयो। सबैको आसय उस्तै थियो। मिडियाबाट पिसिआरप्रति भ्रम फैलिएको कारण धेरेजसोको यसप्रतिको बुझाइ गलत थियो। नतिजा सततिशत सही नहुने भएपछि यसमा विश्वास गर्न नहुने र मेरो रिपोर्ट पनि गलत आएको हुनसक्ने र मैले पिसिआर टेस्ट गरेर गल्ती गरें भन्ने आसय उहाँहरुको थियो। सबैलाई बुझाउने प्रयास गरें तर उहाँहरु बुझ्ने पक्षमा देखिनुभएन। यसरी मलाई मेरो समाजले पिसिआर जाँच गरेर गल्ती पो गरेछु भन्ने अनुभूति गरायो।
वडाले मेरो परिवार र मसँग सम्पर्कमा आएका व्यक्तिको पिसिआर जाँच एक हप्ता क्वारन्टाइनमा बसेपछि गराउने भन्नुभएको थियो। तर सोही छिमेकी दाइ जसले पिसिआर गर्नु नै गलत र रिपोर्टमा भर पर्न नहुने कुरा गर्नुभएको थियो, उहाँकै कचकच र प्रेसरले गर्दा एक हप्ता पुग्नु अगावै प्राइभेटमा ममीको पिसिआर गराउन बाध्य भएँ। भोलिपल्ट ममीको पिसिआर रिपोर्ट नेगेटिभ आयो। खुसीको सीमा रहेन।
दुई वर्षदेखि गठिया बाथका कारण ममीले लगातार औषधि खानु भइरहेको थियो। त्यसै कारण पनि ममीलाई सङ्क्रमण भइहाल्यो भने केही नराम्रो असर गर्ला की भनेर मन पिरोलिइरहेको थियो। नेगेटिभको खबरले आधा भन्दा बढी तनाव त्यसै ठिक भयो। हप्ता दिन पुगेपछि वडाले बाँकी सबैको पिसिआर गरायो। पाँच दिनपछि सबैको रिपोर्ट नेगेटिभ आएको थाहा पाउँदा झन् खुसी थपियो। मेरा डर, पिर, चिन्ता, तनाव सबै सकिएको महसुस भयो।
मसँगै आइसोलेसन सेन्टरमा छेउको कोठामा बसिराख्नुभएका दुई जना दाइको श्रीमती र बच्चाको रिपोर्ट पनि नेगेटिभ आएको थाहा पाएर खुसी हुनुभयो। उहाँहरु खुसी त हुनुहुन्थ्यो तर सँगै बस्ने श्रीमती र साथमा खेल्ने बच्चाको रिपोर्ट नेगेटिभ आउँदा आश्चर्यचकित हुनुहुन्थ्यो। आफ्नै रिपोर्ट पो गलत आएको हो कि भन्ने प्रश्न पनि उहाँहरुको थियो।
लक्षण नदेखिएका संक्रमितबाट संक्रमण फैलिने सम्भावना कम हुन सक्ने हुँदा त्यस्तो भएको हुनसक्ने भनेर उहाँहरुलाई बुझाएँ। मिडियामा केही व्यक्तिहरुले भ्रम फैलाउने गरी मास्क लगाउँदा स्वास्थ्यलाई असर गर्छ, स्यानिटाइजरले हात खराब गर्छ, पिसिआरको विश्वसनीयता छैन भन्ने जस्ता कुरा व्याप्त रुपमा फैलिसकेको थियो। त्यहाँका धेरै जनाले मलाई यी कुराको विषयमा पनि सोध्नुहुन्थ्यो। आफूले बुझेजति र सकेजति बुझाउने प्रयास गर्थें अनि यस्ता भ्रमको पछि नलाग्न पनि आग्रह गर्थें।
आइसोलेसन सेन्टरमा दिनदिनै संक्रमितहरु थपिँदै थिए। सबैसँग अनुभव साटासाट हुन्थ्यो। एक जना दिदीले आफू भौतिक सम्पर्कमा नै नआएको माइतीमा समेत उहाँको रिपोर्ट पोजेटिभ आएकै कारण माइतीलाई समेत दुर्व्यवहार र घरमा विरोध गर्न आएको कुरा सुनाउँदा मन सिरिङ्ग अनि साह्रै नै खिन्न भयो। आफ्नो समाजप्रति घृणा जागेर आयो।
धेरै जना परिवार पूरै संक्रमित भएर त्यहाँ आउनु भएकाहरु हुनुहुन्थ्यो। त्यहाँ संक्रमित प्रहरीको संख्या पनि धेरै थियो। प्रहरी दाइहरुसँग कुरा बुझ्दा संक्रमितको सम्पर्कमा आएका र संकास्पद प्रहरीहरुको पिसिआरको लागि स्याम्पल लिएपछि रिपोर्ट नआउन्जेल क्वारन्टाइनमा नराखी फेरि काममा खटाउने व्यवस्था रहेछ। धेरै जनाले काममा खटिएकै बेला रिपोर्ट पोजेटिभ आएपछि बल्ल पोसाक परिवर्तन गरी एम्बुलेन्स चढेर सिधै त्यस आइसोलेसन सेन्टरमा आउनुपरेको कुरा बताउनुभयो। यस्तो कमजोर व्यवस्थापनका कारण बाँकी प्रहरीमा त संक्रमण अवश्य फैलिने भइहाल्यो। यसका साथै सुरक्षा दिन खटिएका प्रहरीहरुबाटै समुदायमा समेत संक्रमण फैलिने जोखिम उच्च रहेको देखिन्छ।
दिनहरु बित्दै गए। त्यहीँको वातावरणमा रमाउन थालें। बिहान सात बजे उठ्थें। नास्तामा चिया, अन्डा, पाउरोटी अथवा बिस्कुट हुन्थ्यो। खाइसकेर घाम ताप्न कौसीमा जान्थें। कौसीबाट एकातिर काठमाडौं सहरको दृश्य अनि अर्कातिर हरियालीले छपक्कै ढाकेको नागार्जुन जङ्गलको मनोरम दृश्य हेर्न पाउँदा मन प्रफुल्लित हुन्थ्यो। दृश्य हेर्दै टोलाउँदै रमाउँदै आधा घन्टा कसरत गरेर कोठामा जान्थें। ताजा दिमागको सदुपयोग गर्दै साथमा लगेका केही किताबहरु पढ्थें।
दस बजे खानामा सादा दाल, भात र तरकारी (प्राय: लौका, घिरौंला, करेला) र अचार हुन्थ्यो। ती सबै पहिला मिठो नलाग्ने तरकारी थिए। तर त्यहाँ के मिठो के नमिठो सबै कुरालाई हेर्ने दृष्टिकोण नै आफूमा फरक भइरहेको पाएँ। दिउँसोको समयमा आफूले लगेको फलफूल जुस र अन्य खानेकुरा मिलाएर खान्थें। तीन बजेको खाजामा अन्डा चिउरा/चाउमिन/रोटी/तरकारी आदि हुन्थ्यो। खाएपछि एकछिन कौसीमा हिँडडुल गर्थें अनि मन लागेमा केहीबेर पुस्तकहरु पढ्थें। मिल्ने साथीहरुसँग लगातार कुरा भइराख्थ्यो। फुर्सदको समयमा अनलाइन लुडो पनि खुब खेलिन्थ्यो। राति आठ बजे खाना खाएपछि फेरि कौसीमा गएर हिँड्दै आकासमा ताराहरु हेर्दै रमाउँथे। कौसीमा बिताएका पलहरु मेरा लागि खास बन्न पुगे। कोठामा फर्किएर लगभग बाह्र बजेतिर सुत्थें।
त्यसै आइसोलेसन सेन्टरमा बसिरहनुभएका एक जना दाइले कोभिडका कारण तीन दिन अन्तरालमा आफ्नो बुबा र भिनाजु गुमाउनुपर्यो। उहाँसँगै बसिरहेकी दम रोगी कोरोना संक्रमित आमालाई बुबाको मृत्युको खबर सुनाउने हिम्मत उहाँमा थिएन। तनावका कारण विक्षिप्त भई तलमाथि गर्दै अनि कौसीमा भौँतारिदै हिँड्नुहुन्थ्यो। भेटेका सबैसँग हाँसीहाँसी बोलचाल गरेर तनाव कम गर्ने प्रयास गर्नुहुन्थ्यो। जीवनभर भुल्न नसक्ने गरी लागेको चोट भए तापनि आफूले सकेजति उहाँलाई सम्झाइबुझाइ गर्थें।
केही दिनपछि अर्को एक जना दाइको तीन जना परिवारको डिस्चार्ज हुने मिति पुग्न लागेको थियो। मिति पुग्नु एक दिनअघि नै घरबेटीले फोन गरेर डिस्चार्ज भएपछि एक हप्ता घर नआउन आदेश दिएका रहेछन्। त्यहाँको नर्सलाई यो कुरा राखेपछि घरबेटीलाई सम्झाउन खोज्दा कुरा झन् बिग्रियो। त्यसपछि घरबेटीले पुन: फोन गरेर नानाथरी गालीका साथै आफ्नो घर आफ्नो मर्जी हुने र फेरि पनि अरुलाई फोन गर्न लगाएर धम्क्याएमा घरबाट निकाल्दिने चेतावनी दिएछन्छ। आश्चर्यको कुरा त त्यस घरबेटी आफैं पनि कोरोना संक्रमित थिए र उनको छोरा समेत त्यही सेन्टरबाट केही दिन अगाडि डिस्चार्ज भएर घर गएका थिए। आफू स्वयं संक्रमित भएर अर्को संङ्क्रमितको मर्म बुझ्न त परै जाओस्, त्यसमा घाउ थप्ने घरबेटी देखेर हाम्रो मानवता हराएको समाजलाई धिक्कार्न मन लाग्छ।
लक्षण नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखी पिसिआर नगराई घर पठाउने र घरमा एक हप्ता क्वारेन्टाइन बस्न सुझाव दिने गरी सरकारले नयाँ प्रोटोकल लागू गरेको थियो। डिस्चार्ज भएर घर फर्किएपछि पाटन अस्पताल गएर फेरि पिसिआर गराएँ। तीन दिनपछि रिपोर्ट नेगेटिभ भनेर थाहा पाउँदा बल्ल पूर्ण रुपमा ढुक्क भएको महसुस गरें। कोभिडका कारण भोग्नुपरेका सबै सास्ती र केही नमिठा अनुभवहरु याद गर्दै केही बेर मुस्कुराएर बसें।
प्लाज्मा दान रिपोर्ट नेगेटिभ आएको १४ दिनपछि अथवा संक्रमण भएको २८ दिन पुगेपछि मात्र गर्न मिल्छ। आफू योग्य भएपछि प्लाज्मा बैंक नेपाललाई म प्लाज्मा दान गर्न इच्छुक छु भनेर खबर गरें। केहीबेरमा नै एक जना डाक्टरले फोन गरेर उहाँको बुबा कोभिडको कारण सिकिस्त भई आइसियुमा उपचार गराइराख्नु भएको र अवस्था झन् बिग्रिँदै गएको कुरा सुनाउनुभयो। शनिबार परेको कारण त्रिवि शिक्षण अस्पतालमा नमिल्ने भएपछि ग्राण्डी अस्पतालमा आउन आग्रह गर्नुभयो। त्यहाँ कार्यरत नेपालको एक मात्र ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञ डा विपिन नेपाललाई भेट्न पाउँदा खुसी लाग्यो। उहाँले सबै रिपोर्ट हेरेर फारम भरिसकेपछि रक्तदान गरी घर फर्किएँ।
चाहिने सबै टेस्ट गरेर प्लाज्मा छुट्याइएपछि राति ९ बजे उक्त बिरामीलाई प्लाज्मा चढाइएको रहेछ। बिरामीको अवस्थामा अहिले उल्लेखनीय सुधार आएको खबरले म निकै हर्षित छु। कोरोना संक्रमित भई त्यसलाई जितेर अर्को एक सिकिस्त संक्रमितलाई प्लाज्मा दान गरी बचाउनु झन् ठूलो जित हो। कोरोनालाई जितेर प्लाज्मा दान गर्न योग्य भएका सबैलाई प्लाज्मा दान गरी असल नागरिकको पहिचान दिन आग्रह गर्दछु।
यस महामारीले हरेकलाई भिन्नाभिन्नै अनुभव दिएको छ। लक्षण नदेखिएका संक्रमितलाई यो रोग नै होइन भन्ने लाग्ला। सामान्य लक्षण देखिएकालाई यो सामान्य रोग लाग्ला। धेरैलाई चालै नपाई ठिक भइसकेको पनि होला। संक्रमणका कारण सिकिस्त भएकाहरुको अकल्पनीय अनुभव रहने छ। परिवारका सदस्य गुमाएकाहरुलाई यो अभिसाप ठहरिएको छ। डर, त्रास र भ्रमका कारण अनेकौं घिनलाग्दा घटनाका साथै सामाजिक विभेद र कुरीति स्थापित भएको छ।
अधिकांशलाई कोभिड-१९ १४ दिनभित्र निको त होला तर हाम्रो समाजका कारण खेप्नुपरेका सास्ती र दुर्व्यवहार भने जीवनभर भुल्न सकिँदैन। भ्रामक कुराको पछि नलागी आफैं सत्यतथ्य जान्ने प्रयास गरी यस्ता सामाजिक विकृतिको अन्त्य गरौं। मास्क, साबुन, स्यानिटाइजरको सही प्रयोग गर्दै भौतिक दूरी कायम गर्नुका साथै सामाजिक सद्भाव र मेलमिलाप कायम गरी मानवता उजागर गरौं।