डक्टर्स आर्टिकल

स्तन क्यान्सर: सतप्रतिशत निदान हुन्छ

डा अरुण शाही

हामी सबैको अनुभव- समाज वा परिवारमा पक्कै पनि हाम्रा साथी, नातेदार, दिदी-बहिनी, आमा वा काकी कोही न कोही स्तन क्यान्सरसँग लडिरहेको हुनुहुन्छ वा लडिरहेको हुनुहुन्थ्यो। अझै प्रष्ट रुपमा भन्नुपर्दा यो रोग नभएको सायद कुनै टोल, गाउँ वा सहर नहोला।

तथ्यांक हेर्ने हो भने विश्वमा महिलामा हुने क्यान्सरमा स्तन क्यान्सर पहिलो नम्बरमा पर्छ। तर हाम्रो देशमा यो क्यान्सर पाठेघरको मुखको क्यान्सरपछि दोस्रो नम्बरमा आउँछ। ग्लोबोक्यान (डब्लुएचओ) २०१८ को तथ्यांक अनुसार प्रत्येक दिन नेपालमा ६ जना महिलालाई स्तन क्यान्सरको पहिचान हुने गर्छ र प्रत्येक दिन ३ जना महिलाको मृत्यु यस क्यान्सरले गर्दा हुने गर्छ।

संसारको सबैभन्दा विकशित मुलुक अमेरिकाको कुरा गर्ने हो भने अमेरिकन क्यान्सर सोसाइटीको तथ्यांक अनुसार प्रत्येक आठ जना महिलामा एक जनालाई स्तन क्यान्सर हुने जोखिम छ। अमेरिकामा फोक्सोको क्यान्सरपछि सबैभन्दा बढ़ी क्यान्सरद्वारा महिलाको मृत्यु स्तन क्यान्सरले गर्दा हुन्छ।

अंग्रेजी वर्षको अक्टोबर महिनालाई स्तन क्यान्सर विरुद्ध जागरण फैलाउने अभियान महिनाको रूपमा संसारभर विभिन्न कार्यक्रम आयोजना गरेर मनाइन्छ। यो महिनामा हामी सबै गुलाबी रङ मग्न हुन्छौं। मानिसहरु गुलाबी रङको रिबन लगाएर, गुलाबी रङका पहिरन लगाएर, विभिन्न कार्यक्रम (जस्तै: बाटोमा हिँड्ने, नाचगान गर्ने तथा अरु सामूहिक कार्यक्रम गर्ने) गरी समाजका सबै महिलामा स्तन क्यान्सरको जोखिमबाट कसरी आफूलाई सुरक्षित राख्ने तथा समयमै पहिचान गरे स्तन क्यान्सर निदान हुने क्यान्सर हो भन्ने संवेदनशील नै यस जागरण अभियानको मुख्य उद्देश्य हो।

अहिलेसम्मको वैज्ञानिक खोज तथा अनुसन्धानले स्तन क्यान्सर ठ्याक्कै यही कारणले हुन्छ भन्ने पत्ता लगाउन सकेको छैन तर केही कारण छन् जसले जोखिम बढ्ने सम्भावना रहन्छ।
१) महिला हुनु र बढ्दो उमेर (धेरैजसो स्तन क्यान्सर ५५ वर्षभन्दा माथिका महिलालाई)
२) पारिवारमा कसैलाई स्तन वा डिम्बासयको क्यान्सर भएमा
३) race (जातीय; गोरा महिलालाई धेरै)
४) Increased Breast Density
५) Genetics (BRCA1, BRCA2)
६) धेरै सानो उमेरमा महिनावारी भएका महिला अथवा धेरै उमेर भएर महिनावारी सुकेका महिला।

अरु जोखिम बढाउने कारण जो हाम्रो दैनिक जीवनशैलीसँग सम्बन्धित छन्।
१) धेरै गर्भनिरोधक औषधि प्रयोग गर्नु
२) Hormone थेरापी धेरै लिनु
३) ढिलो उमेरमा सन्तान जन्माउनु वा सन्तान नहुने महिला
४) अत्यधिक धूमपान र मादक पदार्थ सेवन गर्ने महिला
५) धेरै मोटो महिला वा शारीरिक व्यायाम नगर्ने महिला

स्तन क्यान्सरको जोखिमलाई कम गर्ने केही उपाय पनि छन्:
१) रक्सी तथा सूर्तिजन्य पदार्थबाट टाढा रहनु
२) स्तनपान गराउनु
३) शरीरको तौल स्वास्थ्य लेबलमा राख्नु
४) योगा, कसरत र दैनिक शारीरिक ब्यायाम गर्नु र पौष्टिक खानेकुरा खानु।

स्तन क्यान्सरलाई सुरुको अवस्थामा पहिचान गरेर उपचार गर्नुपर्छ भन्ने सन्देश सम्पूर्ण महिलासम्म पुर्‍याउनु नै स्तन क्यान्सर जागरण अभियानको मुख्य उद्देश्य हो। यसका लागि स्तन क्यान्सरका लक्षणको बारेमा सबै तप्काका महिलाले थाहा पाउन एकदमै ज़रूरी छ।

स्तन क्यान्सरका लक्षण
१) स्तनमा नयाँ गिर्खा तथा गाँठोहरु देखिनु
२) स्तनको आकार र प्रकारमा परिवर्तन आउनु
३) स्तन दुख्नु वा सुन्निनु
४) स्तनमा खाल्टो पर्नु
५) स्तनको मुन्टोबाट रगत अथवा तरल पदार्थ आउनु
६) शरीरको अनावश्यक तौल घट्नु

स्तन क्यान्सरलाई सुरुको अवस्थामा पहिचान गरी समयमै उपचार गर्नु नै स्तन क्यान्सरलाई निर्मुल पार्ने अचुक अस्त्र हो। यदि यो क्यान्सरलाई समयमै पहिचान गरी समयमा उपचार गर्‍यो भने यसलाई सतप्रतिशत निर्मुल पार्न सकिन्छ। यदि ढिलो अर्थात् स्टेज ३ वा ४ मा पत्ता लागे यसलाई निदान पार्न सकिँदैन। यस्तो अवस्थामा यस क्यान्सरलाई प्यालियटिभ उपचार गरी बिरामीको दुखाइ तथा पीडा कम गरी बाँकी जीवन सजिलो बनाउन प्रयास गरिन्छ। स्तन क्यान्सरलाई सुरुको अवस्थामा पहिचान गर्नका लागि २ महत्वपूर्ण उपाय छन्:

१) ब्रेस्ट सेल्फ इग्जेमिनेसन अर्थात् आफ्नो स्तन आफैं जाँच्ने;
यस अन्तर्गत १८ वर्षको उमेर भन्दा माथिका महिलाले प्रत्येक महिनाको एकचोटी महिनावारी भएको ५ देखि ७ दिनमा आफ्नो स्तन आफैं जाँच गर्ने। महिनावारी सुकिसकेका महिलाले प्रत्येक महिनाको एउटै दिनमा आफ्नो स्तन जाँच गर्ने। जसले गर्दा स्तनको आकार तथा प्रकारमा हुने परिवर्तनको बारेमा सुरुको अवस्थामा थाहा हुन्छ। र, केही परिवर्तन भेटिएमा तुरुन्त चिकित्सकको परामर्श लिने।

२) म्यामोग्राफी द्वारा ब्रेस्टको स्क्रिनिङ गर्ने;
कुनै पनि रोगको लक्षण देखिनुभन्दा पहिले त्यस रोगलाई पहिचान गर्ने प्रविधिलाई स्क्रिनिङ भनिन्छ। स्तन क्यान्सरलाई सुरुको अवस्थामा पत्ता लगाउनको लागि महिलाले स्क्रिनिङ जाँच गर्नुपर्छ। स्तन क्यान्सरको सबैभन्दा उत्तम वैज्ञानिक स्क्रिनिङ गर्ने प्रविधि भनेको म्यामोग्राफी हो। अमेरिकन क्यान्सर सोसाइटीको गाइडलाइन अनुसार ४५ वर्षदेखि ६५ वर्षसम्मका महिलाले वर्षमा एक पटक म्यामोग्राफी जाँच गर्नुपर्छ। म्यामोग्राफी एक प्रकारको एक्स-रे हो, जसले स्तनको आकार तथा प्रकारमा भएको परिवर्तनलाई पहिचान गर्ने गर्छ। म्यामोग्राफीसँगै अथवा म्यामोग्राफी गर्न नमिल्ने महिलालाई स्तनको भिडिओ एक्स-रे तथा एमआरआई पनि गर्ने गरिन्छ। यदि यी जाँचहरुमा स्तन क्यान्सरको शंका भएमा बायोप्सी गरेर स्तन क्यान्सर भए/नभएको निश्चित हुन्छ।

अन्त्यमा, अहिलेसम्मको वैज्ञानिक अनुसन्धान तथा क्यान्सर रोग विशेषज्ञको अनुभवको आधारमा, जो महिलाको दैनिक जीवनशैली स्वास्थ्य तथा अनुशासित हुन्छ, उनीहरुमा स्तन क्यान्सरको जोखिम अरुभन्दा न्यून हुन्छ। त्यसैले तपाईं सबै महिलाले आफ्नो दैनिकीमा शारीरिक ब्यायाम, योगा र पौस्टिक खानासँगै स्वस्थ जीवन निर्वाह गर्नुहोस। स्तन क्यान्सर सम्बन्धी केही शंका भएमा चिकित्सकको परामर्श लिनुहोस र उमेर पुगिसकेपछि चिकित्सकको सल्लाह बमोजिम प्रत्येक वर्षमा एकचोटी म्यामोग्राफी गर्नुहोस। 

(डा शाही पाटन अस्पतालका मेडिकल ओंकोलोजिस्ट हुन्छ।)
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने