काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उच्च जोखिम भएको क्षेत्र सार्वजनिक यात्रुबाहक बस हो। कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले चैत ११ देखि गरेको लकडाउनका कारण बन्द रहेको सार्वजनिक बस जिल्लाभित्र चल्ने गरी असार २६ देखि चल्न दिइएको थियो। त्यस्तै सरकारले भदौ १ देखि मध्यम तथा लामो दूरीका बस समेत सञ्चालनमा आएको छ।
सार्वजनिक बसमा संक्रमणको उच्च जोखिम भएको भन्दै यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, मजदूर र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरुले छलफल गरेर निश्चित मापदण्ड तय गरेका छन्। विभागले ‘कोभिड–१९ पछि सार्वजनिक यातायात सञ्चालन निर्देशिका २०७७’ नै बनाएको छ। सो मापदण्डमा सार्वजनिक बसमा दूरी कायम हुनेगरी सिट क्षमताको आधामात्र यात्रु राख्ने, भाडा सकेसम्म नगद लिनेभन्दा वैकल्पिक माध्यम अवलम्बन गर्ने, बसमा स्यानिटाइजर राख्ने लगायत छन्।
त्यसैले सार्वजनिक बसमा यात्रु गर्ने यात्रुहरुले सरकारले तोकको मापदण्ड पालना गर्ने हो भने सुरक्षित रुपमा यात्रा गर्न सकिन्छ। बसमा यात्रा गर्दा मास्कको अनिवार्य प्रयोग गर्ने, अत्यावश्यक बाहेक यात्रा नगर्दा नै उपयुक्त हुन्छ। नेपालीको ठूलो चाड दसैं नजिकिएकाले काठमाडौंलगायत सहरी क्षेत्रबाट गाउँ जाने यात्रुको संख्या अत्यधिक हुन्छ। यस्तो अवस्थामा सबैभन्दा बढी सचेत यात्रु स्वयं हुनुपर्छ। यसरी यात्रा गर्दा उल्लेखित मापदण्ड अवलम्बन गर्ने हो भने सुरक्षित रुपमा बसबाट यात्रा गर्न सकिन्छः
– यात्रु–यात्रुबीचको सामाजिक दूरी कायम गर्नका लागि यात्रुबाहक सवारी साधनको क्षमता अनुसार अधिकतम यात्रु संख्या निर्धारण गर्ने र लेआउट सोही अनुरुप बनाइएको सिटमा बस्ने।
– यात्रु सिटहरुको सरसफाइ तथा निर्मालीकरण गर्नुपर्ने मापदण्ड सरकारले बनाएको छ। यात्रुले एक पटक सवारीसाधन प्रयोग गरेपछि सिट सरसफाइ गर्न बस व्यवस्थापनलाई आग्रह गर्र्ने।
– यातायात सेवामा कार्यरत कर्मचारीको स्वास्थ्यको नियमित स्वास्थ्य परीक्षणः प्रत्येक खेप सुरु हुने बेलामा वा दिनमा कम्तीमा दुई पटक निजको शरीरको तापक्रम मापन गर्नका लागि प्रत्येक बसमा थर्मल गनको व्यवस्था गर्ने, जसका कारण यात्रु सुरक्षित हुनेछन्।
– यात्रुका लागि स्यानिटाइजर उपलब्ध गराउनेः सह–चालक वा यातायात सेवाका अन्य कर्मचारीले सवारीमा प्रवेश गर्ने बेलामा दुई वटै हातमा स्यानिटाइजर लगाएर सफा गर्ने व्यवस्था मिलाउने।
– जनचेतना अभिवृद्धिः यात्रु वर्ग वा सेवामा संलग्न कर्मचारीको लागि कोभिड–१९ प्रकोपको जोखिमसम्बन्धी आधारभूत ज्ञान तथा जोखिम न्यूनीकरणका उपायसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, मास्क लगाउने, हात स्यानिटाइजर वा साबुनपानीले हात धुने, जताततै नछुने र नथुक्ने, सामाजिक दूरीसम्बन्धी, भाडा तिर्नका लागि गरिएको व्यवस्था, बस बिसौनीमा पर्खने र ओर्लने तरिका निश्चित गर्नुपर्ने। यात्रुले उक्त आग्रह पालना गर्ने।
– भाडा असुलीका लागि वैकल्पिक उपायको अवलम्बन गर्नेः सकभर भाडा भुक्तानीको लागि मोबाइल बेस्ड स्क्यान एन्ड पे वा कन्ट्याक्टलेस कार्ड, अनलाइन तथा इलेक्ट्रिोनिक भुक्तानी, भाडा भुक्तानीको लागि यात्रुहरुले टिकट काउन्टरबाट एक पटक वा धेरै पटक वा कुनै अवधिको लागि मान्य हुने टिकट किन्न सक्ने व्यवस्था गर्ने, सकभर भाडा असुलीमा प्रत्यक्ष नगदको प्रयोग नगर्ने। वैकल्पिक व्यवस्था नभए यात्रुले खुद्रा पैसा बोक्ने।
– सवारी साधनभित्र हावाको सहन बहाव कायम गर्नका लागि भेन्टिलेसनको व्यवस्था गर्ने वा सबै झ्यालहरु खुला राख्ने वा उपयुक्त खालको एक्जस्ट फ्यान जडान गर्ने। यसले बसभित्र हावा गुम्सिएर संक्रमणको जोखिक कम हुनेछ।
– सवारी साधनभित्र फोहर फाल्न छोप्न मिल्ने खालको डस्टबिन राख्ने र प्रत्येक खेपपछि त्यसको सफाइ गर्ने। यात्रुले यस्तो नियमको पूर्ण पालना गर्ने।
– सवारी साधनभित्र कोभिड–१९ सम्बन्धी सावधानीका सन्देश तथा सतर्कता सम्बन्धी जनचेतनामुलक सामग्री तयार गरी टाँस्ने।
– सवारी चालक, सहचालक वा व्यवस्थापकको स्वास्थ्यमा शंकास्पद कोभिड–१९ को लक्षण देखिएमा सम्बन्धित निकायमा सूचना दिने र स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने।
– कुनै यात्रुमा कोभिड–१९ को शंकास्पद लक्षण देखिएमा सम्बन्धित निकायमा खबर गर्ने व्यवस्था गर्ने।