डा शेखर पौडेल
कोभिड-१९ महामारी विश्वमा फैलिएको १० महिना नाघिसकेको छ। तर, हालसम्म यसका लागि निश्चित औषधि वा खोप बनेको छैन। प्रत्येक क्षेत्रले उल्लेख्य क्षति व्यहोर्नु परे पनि स्वास्थ्य र आर्थिक क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्।
नयाँ खोप वा औषधिको विकास गर्ने क्रममा आधुनिक चिकित्सा क्षेत्र विभिन्न समयबद्ध चरणहरुबाट गुज्रिनु पर्छ। उपचारसम्बन्धी रिक्तता पूरा गर्न आधुनिक चिकित्सा क्षेत्रले लामो समय लगाएको कारण विश्वभरका मानिसहरुले विभिन्न तरिकाले फाइदा दिने भनी प्रचार गरिएका अप्रमाणित औषधिहरुको प्रयोग गरिरहेका छन्। यीमध्ये, “आयुर्वेदिक उपचार पद्धति” भारतीय उपमहाद्वीपका जनताले हजारौं वर्षदेखि अभ्यास गरिरहेको क्षेत्र हो। आयुर्वेदका स्थानीय र अन्तर्राष्ट्रिय अगुवाहरुले कोभिड-१९ को संक्रमणबाट बचाउनेमात्रै होइन, त्यसलाई निर्मुल पार्ने भनी आफ्ना उत्पादनहरुको प्रचार गरिरहेका छन्।
एलोपेथी र आयुर्वेद
चिकित्सा अभ्यासको होमियोपेथिक प्रणालीका संस्थापक सामुएल हेनम्यानले सन् १८०१ मा त्यतिबेलाको “हिरोइक मेडिसिन” लाई जनाउने एक तुच्छ शब्दको रुपमा "एलोपेथी" शब्दको नामकरण गरेका थिए। आयुर्वेद र चिकित्सा अभ्यासका अन्य वैकल्पिक प्रणालीहरुले पछि आधुनिक चिकित्सालाई जनाउन यो शब्दको प्रयोग गर्न थाले।
आधुनिक चिकित्साशास्त्र यानिकी “एलोपेथी”, वैज्ञानिक तथ्य र प्रमाणमा आधारित औषधि विज्ञान हो जसलाई संसारभर सबै उमेर, लिंग, जाति र स्वास्थ्य अवस्थामा परीक्षण गर्दा पनि उस्तै नतिजा आएपछि मात्रै प्रयोग गरिन्छ। विभिन्न समयबद्ध एवं सुनियोजित चरणहरुको एक श्रृंखला पार गरेर लाभ–लागत अनुपातमा खरो उत्रिएपछि मात्र कुनै औषधि वा उपचारविधिलाई नियामक निकायले स्वीकृति दिने गर्छ। आयुर्वेद, होमियोपेथी र उपचारका अन्य परम्परागत प्रणालीहरुलाई आधुनिक चिकित्साशास्त्रका अभ्यासकर्ताहरुले वैकल्पिक चिकित्सा भन्छन्।
आयुर्वेद चिकित्सा अभ्यास भारतीय महाद्वीपको एक प्राचीन उपचारविधि हो। यसका उपचारविधि सामान्यतः जटिल जडिबुटीय मिश्रण, खनिज र धातुजन्य पदार्थमा आधारित हुन्छ र यिनीहरु नियामक निकायको कुनै आधिकारिक स्वीकृतिबिना नै बजारमा सहजै आउने गर्छन्। बजारमा आइसकेपछि आयुर्वेदिक उत्पादनहरुको सुरक्षा र प्रभावकारिताका बारेमा प्रायः तथ्यांक लिने गरिँदैन। यसका बाबजुद नेपाल र भारत दुवै मुलुकका कतिपय नागरिकले यसलाई आधुनिक औषधि पद्धतिको दाँजोमा हरेक रोगव्याधिको उपचारका लागि सुलभ र सुरक्षित प्रणालीको रुपमा मान्ने गर्छन्।
आयुर्वेदसम्बन्धी केही भ्रम
१. आयुर्वेदको कुनै साइड इफेक्ट हुँदैन
आधुनिक चिकित्सामा हामीसँग अल्पकालीन र दीर्घकालीन साइड इफेक्टको पूर्ण सूची उपलब्ध हुन्छ। यसका लागि विश्वभरका विभिन्न उमेर, लिंग, जाति र अन्य स्वास्थ्य समस्या भएका बाट लिइएको तथ्यांक तथा योजनावद्ध अध्ययन, परीक्षणको सहारा लिने गरिन्छ। यसको ठिक विपरीत, विभिन्न जनसांख्यिक समूहका मानिसहरुमा गरिने सुपरिभाषित अध्ययनमा आयुर्वेदलाई दर्ता गर्ने गरिँदैन भने, त्यही रोगको लागि तयार गरिएका विभिन्न श्रोतका औषधिबीच कुनै समानतासमेत पाइँदैन। यसबाट कुनै औषधिका वास्तविक साइड इफेक्ट के हुन् भनेर पत्ता लगाउन धेरै कठिन हुन्छ। अतः सुपरिभाषित अध्ययनबाट साइड इफेक्टका बारेमा कुनै स्पष्ट तथ्यांक नलिइने र नहुने हुँदा आयुर्वेदमा साइड इफेक्ट हुँदैन भनिएको हो।
एक प्रतिष्ठित जर्नलमा सन् २००८ मा प्रकाशित एक सोधअनुसार अमेरिका र भारतमा निर्मित पेटेन्टधारी आयुर्वेदिक औषधिमध्ये झण्डै २१ प्रतिशतमा गह्रौं धातु (विशेषगरी पारो, सिसा, आर्सेनिक) र स्टेरोइडको भारी मात्रा फेला परेको थियो। मन्दविष मानिने यी पदार्थहरुले सुरुमा लाक्षणिक लाभ दिलाउन सक्छन् तर, दीर्घकालमा मानवहरुमा यिनले धेरै घातक साइड इफेक्ट छोड्ने गर्छन्।
२. आयुर्वेदले हरेक रोग निको पार्न सक्छ
हिपोक्रेटसको “अलौकिक विरुद्ध लौकिक कारणको सिद्धान्त”, लुई पाश्चरको “किटाणु सिद्धान्त” देखि हालको अवधारणासम्म आधुनिक चिकित्साको क्षेत्र समयसँगै अगाडि लम्किरहेको छ। यसको विपरीत, आयुर्वेद अझै पनि परम्परागत “वात-पित्त-कफ” को त्रिदोष सिद्धातमा मात्र सीमित छ। यो विज्ञानको आधुनिक युगसँग मेल खाँदैन। आयुर्वेदले कल्पना पनि गर्न नसक्ने आधुनिक शल्यक्रिया, उपचारविधि र खोपको त कुरै छोडौं, कोरोना भाइरसका कारणले लाग्ने अहिलेको कोभिड-१९ महामारीको व्याख्यासमेत आयुर्वेदको सिद्धान्तले गर्न सक्दैन।
एक ग्यास्ट्रोएन्टेरोलजिस्ट चिकित्सकको रुपमा मेरो आफ्नै चिकित्सा अभ्यासको क्रममा, मेलै रोगको उपचारका क्रममा आयुर्वेदमात्र वा आधुनिक औषधिसँगै आयुर्वेदको अभ्यास गर्ने बिरामीहरु नेपाल र भारतमा धेरै भेटेको छु। यी औषधिहरु लिएको कारणले कलेजोको इन्जाइम बढेकोदेखि कमजोर रोग नियन्त्रणमात्र होइन, कलेजोले काम गर्न छोडेको वा मृत्यु नै सम्मका साइड इफेक्टहरु मैले देखेको छु। उपचारयोग्य प्रारम्भिक चरणको क्यान्सरका लागि समेत आधुनिक औषधिको साटो आयुर्वेदिक औषधिहरु प्रयोग गरेका कारण पछि गएर उपचारै हुन नसक्ने गरी अन्तिम अवस्थाको क्यान्सरसँग आउने बिरामीहरु पनि मैले भेटेको छु।
हालै पतञ्जली आयुर्वेदका अध्यक्ष आचार्य बालकृष्ण हृदयाघातका कारण ऋषिकेशस्थित एम्स अस्पतालमा भर्ना भएका थिए। हृदयाघातबाट सतप्रतिशत जोगाउने “दिव्य हृदयअमृत” नामक औषधि बेच्ने व्यक्ति हुन् उनी। यस घटनालाई पतञ्जलीले खानामा विष परेको भनी प्रचार गर्ने प्रयास गरेको थियो।
३. आयुर्वेद नाफामुखी छैन
आयुर्वेदप्रति गहिरो आस्था हुनेहरुले आधुनिक औषधितन्त्रलाई ठूला औषधि कम्पनीले आफ्नो व्यापार बढाउन गरेको एक जालसाजीको रुपमा लिन्छन्। यो सत्य हो कि आधुनिक चिकित्साको क्षेत्र अर्बौं डलरको व्यापार हुने एक नाफामुखी उद्योगमा परिणत भइसकेको छ। यसको फलस्वरुप बिरामीहरुले आफ्नो उपचारको वास्तविक खर्चभन्दा धेरै बढी रकम तिर्नु परिरहेको छ। यहाँनेर बिर्सन नहुने कुरा के पनि छ भने सबैजसो नयाँ औषधिको खोज र विकासका लागि औषधि कम्पनीहरुले नै लगानी गरिरहेका हुन्छन् जसको लागत करोडौं डलरमा आउने गर्छ।
त्यसैले, भगवानको पूजा गर्न पनि पैसा चढाउनुपर्ने अहिलेको जमानामा के आयुर्वेदले नाफा नलिई परोपकारी व्यवसाय चलाइरहेको छ त? हामीले भारतका नवकुबेरहरु बाबा रामदेव र आचार्य बालकृष्णलाई कसरी बिर्सन सक्छौं? आयुर्वेदिक उत्पादनहरु बिक्री गरेर नै आचार्य बालकृष्ण अहिले भारतका १५औं ठूला धनाढ्य बनेका छन्। हालै “कोभिडको व्यवस्थापन”का लागि उनीहरुले गरेको अनुसन्धान (जसबाट “कारोनिल” नामक किट बनाइएको थियो) प्रमाणविहीन र अनुसन्धान पद्धतिका आधारभूत मानकहरु पालना नगरिएको भन्ने कुरा पुष्टि भएको थियो ।
आयुर्वेद उपरको मौजुदा विश्वास
यसका लागि हामीले प्लासिबो र रोगको आफैं प्राकृतिक रुपमा ठिक हुने प्रक्रियाबारेमा बुझ्नुपर्ने हुन्छ। प्लासिबो भनेका ती पदार्थहरु हुन् जसले खासमा रोगको उपचार गर्दैनन्, तर बिरामीलाई मनोवैज्ञानिक ढाडस दिँदै उनीहरुमा लाक्षणिक सुधार ल्याउन सक्छन्। पारम्परिक उपचारविधिमाथि मानिसहरुको गहिरो अन्धविश्वास भएको कारण लाक्षणिक राहतको झुठो अनुभूति हुन्छ तर, रोगको वास्तविक उपचारमा भने यसले सघाउँदैन।
रोगको प्राकृतिक बाटो भनेको चाहिँ हाम्रो शरीरको आन्तरिक प्रतिरक्षा प्रणालीको सहायताले लागिरहेको रोग आफैं नियन्त्रणमा आउने प्रक्रिया हो। उदाहरणका लागि, ९५ प्रतिशतभन्दा बढी कमलपित्तका बिरामीहरु केही हप्तामा आफैं ठिक हुन्छन्। अतः लाक्षणिक राहतको प्लासिबो प्रभाव वा रोगको प्राकृतिक बाटोका फलस्वरुप व्यक्तिहरु रोगव्याधिबाट आफैं निको भइरहेका हुन्छन् र त्यसको जस चाहिँ आयुर्वेदले पाउने गर्छ।
र अन्त्यमा
मैले यहाँनेर जोड दिन खोजेको के हो भने विज्ञान र प्रविधि युगको मानव भएको नाताले हामीले चिकित्साशास्त्रको प्रमाणसिद्ध, सुस्थापित र सुपरिक्षित प्रणालीलाई अपनाउनु पर्छ। हामीले जान्नुपर्ने के हो भने आधुनिक चिकित्साले जहिले पनि योग र अन्य शारीरिक व्यायामका स्वास्थ्य फाइदा, घरमा बनाइएको स्वस्थ र सन्तुलित पोषक आहारका लाभ तथा मांसाहारीको दाँजोमा साकाहारी खानाका गुणहरुलाई स्वीकार गरेकै छ। यी मानकहरु अबलम्वन गर्दा हामीलाई कुनै नोक्सान हुँदैन, बरु फाइदा नै हुन्छ। तर, अप्रमाणित एवं असिद्ध उपचारविधिको पछि लाग्नु चाहिँ नोक्सानी हुनेछ।
(लेखकका व्यक्तिगत विचार)