मुख्यतयाः शरीरको लागि सुपाच्य र हितकर खानेकुरा तथा जडीबुटीले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छन्। शरीरले कुनै पनि रोगसँग लड्ने क्षमतालाई रोग प्रतिरोधात्मक क्षमता भनिन्छ।
श्वेत रक्तकोषिकाहरु, श्वेत रक्तकोषिकाहरुले उत्पादन गर्ने प्रतिजैविक तत्व अर्थात् एन्टिबडी, शरीरमा रहेका लिम्फ्वाइड तन्तुहरु आदिले रोग प्रतिरोध गर्छन्।
रोग प्रतिरोधात्मक क्षमताको विकास हुन समय लाग्ने हुनाले नियमित रुपमा स्वस्थ र सन्तुलित खानेकुरा, जडिबुटी खाने, नियमित योग, व्यायाम गर्ने गर्नुपर्छ।
यदि कुनै पनि रोग उत्पन्न गराउने सूक्ष्म जिवाणु, विषाणु आदि शरीरमा प्रवेश गरेपछि शरीरले त्यसको प्रतिरोध गर्न रगतमा रहेको श्वेत रक्तकोषिका वा न्युट्रोफिल वा टी लिम्फोसाइट वा बी लिम्फोसाइटले बनाउने एन्टिबडीहरुलाई प्रयोग गरी तत्कालीन र भविष्यमा हुने संक्रमण समेत प्रतिरोध गर्छ। त्यस्तै मास्ट सेल, म्याक्रोफेज जस्ता तत्वहरुमार्फत पनि शरीरले रोग प्रतिरोध गर्छ। भाइरसहरुको संक्रमणको अवस्थामा इन्टरफेरोन र नेचुरल किलर सेलले पनि व्याधिक्षमत्वमा भूमिका खेल्छन्। त्यसैले शरीरलाई स्वस्थ राख्न बिहान समयमै उठ्ने र निम्न नित्यकर्म गर्यो भने फाइदा हुन्छ।
१. बिहान समयमै उठ्ने।
२. मनतातो पानीले मुख कुल्ला गर्ने।
३. बिहानको घाम ताप्ने।
४ बिहान कम्तीमा ४५ मिनेट अनुलोम विलोम, कपाल भाँती, भ्रामरी, भस्त्रिका, ध्यान, सूर्य नमस्कार आदि योग–ध्यान गर्ने।
५. बिहान खाली पेटमा १ चम्चा च्यवनप्राश मनतातो पानीसँग खाने।
६. ४÷५ वटा तुलसीको पात, सानो टुक्रा अदुवा, २ दाना मरिच, १ वटा अलैंची, एउटा सानो टुक्रा दालचिनी हालेर पकाएको चिया खाने।
७. कागती–पानी खाने।
८. तुलसी चिया, गुडुची चिया वा बुढी औंला बराबरको मोटाइ र लम्बाइ भएको गुर्जो थिचेर लगभग २ ग्लास पानीमा उमालेर आधा पारी चिया जस्तै पिउने।
९. सुन्तला, अंगुर, अमला आदि अमिलो फलफूल सिजन अनुसार खाने।
१०. थोरै ड्राइ फ्रुट्स खान सकिन्छ।
११. मनतातो पानी पटकपटक प्रयोग गर्ने।
१२. फ्रिजमा हालेको खानेकुरा नखाने।
१३. खानामा लसुन, अदुवा, धनियाँ, जिराको मसला प्रयोग गर्ने।
१४. रात्रिकालमा हल्का भोजन गर्ने।
१५. राति सुत्नुभन्दा अघि १ चम्चा बेसार हालेको मनतातो दूध खाने।
१६. ७ देखि ८ घन्टा सुत्ने।
१७. पानीको वाफ दिनको एक वा दुई पटक लिने।
१८. सुख्खा खोकी वा घाँटी खसखस भएको खन्डमा १ ग्राम ल्वाङ, सुकमेल, अदुवा चुस्ने।
१९. यष्टीमधु चुर्ण १ चम्चा (२ देखि ४ ग्राम) मनतातो पानीसँग दिनको दुई पटक सेवन गर्ने।
कोरोना संक्रमण भएका लक्षणरहित व्यक्ति वा लक्षण सहितका व्यक्तिलाई पनि आयुर्वेद औषधि गुर्जाे, यष्टीमधु र त्रिकटु दिने गरिएको छ।
आम मानिसमा पनि यी जडिबुटीको प्रयोगले कोरोना लाग्दैन वा उपचार नै भन्ने पनि परेको छ। तर यी औषधिले रोगसँग लड्ने क्षमता वृद्धि गर्छन्। हालसम्म कोरोनाको औषधि वा खोप पत्ता लागेको छैन।
पछिल्लो समयमा माथि उल्लेखित औषधिको माग पनि बढेको छ। आयुर्वेद औषधिले केही साइड इफेक्ड गर्दैन भनेर जथाभावी खाएको समेत देखिन्छ। त्यो एकदम गलत हो। सकेसम्म आयुर्वेद चिकित्सकसँग सल्लाह, परामर्श लिएर मात्र खाने गर्नुपर्छ। यी जडिबुटी सबै मानिसले खानु हुँदैन। नत्र कहिलेकाहीँ राम्रोभन्दा नराम्रो असर देखिन सक्छ।
यी औषधि कसले खाने, कति खाने?
यष्टीमधु
यष्टीमधुमा गुलियो तत्व र सिफोनिन ग्लाइकोसाइड ग्याइसिराइजिन भन्ने तत्व हुन्छ। यो चिनीभन्दा ३० देखि ५० गुणा बढी गुलियो हुन्छ।
यसलाई सामान्य मात्रामा प्रयोग गर्दा समस्या हुँदैन। धेरै मात्रामा प्रयोग गरे कमजोरी हुने, पोटासियमको मात्रा घट्ने समस्या देखिन सक्छ।
यष्टीमधुको अधिक प्रयोगले ब्लड प्रेसर बढ्ने, थकाइ लाग्ने, महिनावारीमा समस्या आउने, टाउको दुख्ने, सोडियम जम्मा भई जिउ सुन्निने, वान्ता आउन खोज्ने वा वान्ता आउने हुन्छ।
गर्भवती, स्तनपान गराइरहेका आमा, ५ बर्ष मुनिका बच्चा, प्रेसरका विरामी र दीर्घ रोगीले यो यस्टीमधुको आफै प्रयोग गर्नु हुँदैन।
खाने विधिः
१/२ चम्चा (३ देखि ६ ग्राम) वा अलि अलि कुटेको १ अंगुल एस्टीमधु २ गिलास पानीमा १ गिलास भइन्जेल उमालेर २÷३ पटक मनतातो पिउने।
घाँटी बसेको वा दुखेकोमा सानो टुक्रा चुसिराख्न पनि सकिन्छ।
सावधानीः निरन्तर खाने वा दिनमा १२ ग्रामभन्दा बढी खाने गर्नु हुन्न। उच्च रक्तचाप हुनेले र रगतमा पोटासियमको मात्रा बढी हुनेले, मिर्गौलाका समस्या भएकाले नखानु नै उपयुक्त छ।
गुर्जो
गुर्जोमा टर्पेनेस, ग्लाइकोसाइडहरू, एल्कलाइड्स, स्टेरोइड्स र फ्लाभोनोइड जस्ता तत्व पाइन्छन्। यी तत्वहरुले कलेजोको कमजोरी र विकारलाई हटाउँछन्। युरिक एसिड, बाथ र जोर्नीको दुखाइमा समेत गुर्जो लाभकारी छ। टाउको दुखेको, आँखा, पिसाब, पैताला, हात, खुट्टा तथा जिउ पोलेको र पुरानो ज्वरोलाई पनि गुर्जो अन्त्यन्तै उपयोगी छ।
पिसाब सम्बन्धी सम्पूर्ण समस्यामा लाभ पुर्याउँछ। इन्सुलिन उत्पादनमा सहयोग गरी मधुमेहमा समेत फाइदा गर्छ।
सावधानीः गुर्जो ब्लड प्रेसर कम छ भने हरियो बोक्रा फालेर मह, मिश्री, सखर वा बिरेनुन मिसाएर आधा मात्र खानु पर्छ।
गर्भवती, स्तनपान गराइरहेका आमा, ५ वर्ष मुनिका बच्चा, पखाला लागेको बिरामीले गुर्जो प्रयोग गर्नु हुँदैन। आवश्यक भन्दा बढी गुर्जाे प्रयोग गर्नाले रगत बढी पातलो बनाउन सक्छ।
त्रिकटु
त्रिकटु चुर्णमा सुठो, पिपला र मरिचको बराबर मात्रा रहेको हुन्छ। त्रिकटु मा एल्कालोइड्स, फिनोल, टेनिन, फ्लाभानोइड, स्टेरोइड्स, लिग्निन र सैपोनिन्सजस्ता तत्व हरु रहेका हुन्छन्। यो कोलेस्टेरोल, मोटोपन, रुघखोकीको उपचारमा प्रयोग गरिन्छ। यसले अलि गर्मी बढाउने गर्छ। यो कलेजो, फियो तथा प्यान्क्रियाजको लागि राम्रो हुन्छ।
खाने विधिः दैनिक गुर्जो र यस्टीमधु चुर्णमा एक जनाको लागि १ ग्रामको दरले मिसाएर खाँदा रोग प्रतिरोधात्मक क्षमता बढाउन उपयोगी हुन्छ।
खाने विधिः दैनिक गुर्जो र यष्टीमधु चुर्णमा एक जनाको लागि १ ग्रामको दरले त्रिकटु मिसाएर खाँदा रोग प्रतिरोधात्मक क्षमता बढाउन उपयोगी हुन्छ। यसले श्वास प्रश्वास र दममा अति राम्रो काम गर्छ। यसले एलर्जी कम गर्छ।
सावधानीः रगत बग्ने रोग, गर्भावस्था, जिउ पोल्ने, आँखा रातो हुने, कडा ग्यास्ट्राइटिसका बिरामीले त्रिकटु प्रयोग गर्नु हुँदैन।