विचार/ब्लग

मेरो पहिलो रजस्वला

प्रियंका बिसी


सर्वप्रथम यो ब्लग पढिरहनुभएका तमाम महिला दिदीबहिनीहरुलाई मेरो एउटा प्रश्न छ- के हामी महिनावारी हुँदा आफ्नो सुत्ने कोठा, भान्सा या कुनै मन्दिरभित्र छिर्छौं? या महिनावारी हुँदा कुनै पनि चाडपर्व मनाएका छौं?

यदि हामी महिनावारी हुँदा सुत्ने कोठा, भान्सा वा मन्दिरभित्र छिर्दैनौं वा चाडपर्व मनाउँदैनौं भने छाउपडी केवल सुदूरपश्चिम र कर्णालीमा मात्र नभएर हामी सबैको घर दैलोमै पनि छ। फरक के मात्रै छ भने उनीहरु छाउगोठमा बस्छन् भने हामी पढेलेखेका शिक्षित भनाउँदाहरु ठूलाठूला छाउ बिल्डिङमा। 

जेठो दाइ र तीन जना दिदीपछि म मेरो घरकी सानी छोरी। अलि चञ्चल र चकचके स्वभावकी। यताउता कुदिरहनुपर्ने, दाइदिदीलाई प्याट्टपुट्ट हात छोडिहाल्ने बानीले गाली भने निकै खान्थें। हुर्किंदै र बढ्दै  गर्दा मेरा आमाबुबाले छोरी  र छोरामा काखा र पाखा भने कहिल्यै गर्नुभएन।

१३ वर्षकी हुँदा मेरो पहिलो महिनावारी भयो र योनीबाट बगिरहेको त्यो रगत किन बगिरहेको छ, मलाई केही अत्तोपत्तो थिएन। होस पनि कसरी, न त महिनावारीको बारेमा मेरो घरमा नै सिकाइयो न त हामीले भन्ने शिक्षाको मन्दिरमा नै त्यो महिनावारीको कुरा सिकाइयो। जुन हामी प्रत्येक महिला लगायत पुरुष दुवैले जान्नु र बुझ्नुपर्ने कुरा हो। सायद मलाई पनि विद्यालयमा पढाइ हुने हाम्रो स्वास्थ्य विषयमा महिनावारीको बारेमा पहिला नै पूर्ण जानकारी गराइदिएको भए  मेरो पहिलो महिनावारी हुँदा ममा त्यति डर र त्रास हुने थिएन होला।

अधिकांश महिला दिदीबहिनीहरु जस्तै म पनि महिनावारी बार्ने प्रचलनबाट अछुतो भने भइनँ। जब मैले मेरो योनीबाट बगेको रगत देखें, तब म डर र त्रासले दौडिँदै, हतासिँदै आमासँग गएँ र आमालाई भनें। आमाले "छोरी  तिमी अब ठूली  भयौ" भनेर मलाई सुनाउनु भयो र त्यसै कुराबीच थाहा भयो कि मेरो पहिलो महिनावारी पो भएको रहेछ। त्यसपछि मलाई महिनावारी भएपछिका मेरा दायराहरु बुझाइयो। जस्तो कि घाम हेर्न नहुने, घरको छोरा मान्छे हेर्न नहुने,भान्साकोठा जान नपाइने, पूजा कोठा जान नपाइने आदि इत्यादि।

जन्मिएर यत्रो भएसम्म पहिलो पटक मैले आफूलाई पाखा लागाइएको महसुस गरिरहेकी थिएँI सधैं बुबाको नजिकै बसेर खाना खानुपर्ने म आज छुट्टै कोठामा एक्लै खाना खाँदै  थिएँ। दाइलाई सधैं जिस्क्याइरहने म आज यी बन्द कोठाका भित्ताहरुले मलाई जिस्क्याइरहेका थिए। सधैं साँझमा भगवानको पूजा गर्ने म आज भने मन्दिरभित्र पाइला टेक्न नमिल्ने भएकी थिएँ। विद्यालय जाने भनेपछि हुरुक्कै हुने म अबको सात दिन समाजले दिएको छुट्टीमा बसेकी थिएँ।

मंसिरको त्यो जाडो, त्यसमाथि घाम पनि हेर्न नहुने रे पहिलो पटक रजस्वला भएकी किशोरीले। यो कस्तो चलन? जब प्रत्येक मान्छेलाई घामको न्यानोपन चाहिन्छ, अझ त्यस्तो बेला बढी सरसफाइ र घामको न्यानोपन चाहिन्छ। विभिन्न किटाणुले आक्रमण नगरोस्, किटाणुहरु नष्ट हुन् भनेर पनि घामको तातोपन चाहिन्छ। यहाँ भने नारीलाई रजस्वला हुँदा घाम हेर्न दिइँदैन।

'प्रकृतिको एउटा वरदानलाई मान्छेले किन अपवित्र ठान्यो? यो कुरा बिना सृष्टिको कल्पना गर्नु असम्भव छ' झमक घिमिरेले लेखेको यो मर्मस्पर्शी वाक्य अधिकांश महिलासँग एकदमै मेल खान्छ। 

एक चोटी दसैंको बेलामा महिनावारी हुँदा सबैले रातो टीका  लगाएर आफूभन्दा ठूलाबाट आशीर्वाद लिइरहेका थिए।  म भने त्यही रातै रङको रगत बगाएर एउटा कुनामा उभिएर सबैलाई हेरिरहेकी थिएँ। उपस्थित भएर पनि उपस्थित नहुनु सायद यसलाई नै भनिन्छ।

यी सबै प्रश्नको जवाफ माग्दा मैले केवल एउटा उत्तर पाएँ। त्यो भनेको यदि महिनावारी बारिएन भने देवता रिसाउँछन्। यदि हामी महिला महिनावारी हुँदा देउता रिसाउने नै भए नारीको जन्म यो सृष्टिमा हुने नै थिएन, र नारी  बिनाको सृष्टि कल्पना गर्न सकिँदैन। हामी महिलाको रगतबाट नै जन्मिएर त्यही रगतलाई नै अपवित्र भनेर पर किन सारिन्छ? 

यसरी म ४-५ वर्ष भने हाम्रो समाजले तोकिदिएको दायरामै बसेँ। तर उच्च शिक्षा लिँदै जाँदा भने मेरो दिमागमा बसेको महिनावारीको बारेमा समाजले कोरिदिएको चित्र हट्दै नयाँ नक्सा बनिरहेको थियो। मलाई के कुराको बोध हुँदै गयो भने महिनावारी भनेको एउटा महिलाको शरीरमा हुने जैविक प्रक्रिया हो जसको हाम्रो धर्म र संस्कृतिसँग कुनै पनि तरिकाको लेखाजोखा छैन।

म आफैं पनि एउटा जनस्वास्थ्यको विद्यार्थी भएर अरुलाई महिनावारी सामान्य हो भन्दै सिकाउँदा आफू महिनावारी हुँदा भने घरमा छिर्दा भान्सामा नजानु, चाडपर्व नमनाउनु भन्ने कदापी स्वीकार्य भएन र अहिले म महिनावारी हुँदा जुनै पनि चाडपर्व मनाउँछु र समाजले तोकिदिएको दायराबाट मुक्त छु। किनकि जब कामख्य देवी अर्थात् रजस्वला भइरहेकी देवीलाई पुजिन्छ भने हामी महिला रगत बग्दा नछुने कसरी हुन्छौँ? पर कसरी सर्छौं? अपवित्र कसरी कहलिन्छौँ? 

हाम्रो घर-छिमेकमा रहेका केही महिनाबारीको बारेमा रहेका गलत धारणा र त्यसको सत्यतथ्य यस प्रकारका छन्:

गलत धारणा 
  
•    महिनावारी हुँदा बग्ने रगत फोहर र अपवित्र हुन्छ |

•    महिनावारी हुँदा भान्सा छिर्नु हुँदैन |

•    महिनावारी हुँदा मन्दिरभित्र पस्दा अशुभ हुन्छ।

•    महिनावारी हुँदा छुइछाई भयो भने घरको पुरुष व्यक्तिलाई ऐठन हुन्छ।

•    महिनावारी हुँदा यौन सम्पर्क भयो भने संक्रमणको जोखिम  बढ्न सक्छ।

सत्य-तथ्य
    
•    महिनावारी हुँदा बग्ने रगत अरु बेला निस्केको रगत झै सामान्य नै हुन्छ। 

•    महिनावारी हुँदा भान्सामा नछिर्नको कारण केही दिन काम नगरी  शरीरलाई विश्राम दिनको निम्ति मात्र हो |

•    महिनावारी हुँदा मन्दिरभित्र पस्नु हुँदैन भनेर कुनै पनि धर्म या ग्रन्थमा लेखिएको छैन |

•    ऐठन भनेको छुइछाईका कारणले नभई सुताई नमिल्नु या अफ्ट्यारोको कारणले हुन्छ जसलाई अङ्ग्रेजीमा sleeping paralysis भनिन्छ।

•    महिनाबारीमा यौन सम्पर्क हुँदा कुनै पनि प्रकारको जोखिम या संक्रमण हुँदैन| 


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने