काठमाडौं- नेपालमा हालसम्म ५ सय बढी कोरोना संक्रमित व्यक्तिलाई कन्भ्यालिसेन्ट प्लाज्मा थेरापी (कोरोना संक्रमणमुक्त भएका व्यक्तिको रगतबाट निकालिएको रक्ततत्व) दिइएको छ।
धेरै संक्रमित निको भएको पनि प्रारम्भिक नतिजाले देखाइरहेका छन्। तर क्लिनिकल ट्रायलका रुपमा कोभिडका बिरामीलाई निको भएका संक्रमितबाट प्लाज्मा लिई उपचार गर्न थालिएको छ। जुन नेपालमा पनि गत साउनदेखि क्लिनिकल ट्रायलका रुपमा यो विधिबाट उपचार भइरहेको छ।
पहिले संक्रमित भएर निको भएका व्यक्तिबाट झिकिएको रगतबाट प्लाज्मा बनाएर संक्रमित व्यक्तिलाई उक्त प्लाज्मा दिइने विधिलाई कन्भ्यालिसेन्ट प्लाज्मा थेरापी भनिन्छ।
कोरोना संक्रमितको उपचारमा नेपालमा क्लिनिकल ट्रायलका रुपमा प्लाज्मा थेरापी विधिबाट उपचार हुन थालेपछि निको भएका संक्रमितले प्लाज्मा दान गर्ने क्रम पनि बढको छ।
तर, सरकारले लक्षण नभएका संक्रमितहरु संक्रमण पुष्टि भएदेखि १४ दिन आइसोलेसनमा बसेपछि स्वतः डिस्चार्ज हुन निर्देशन दिएपछि भने प्लाज्मा दान गर्ने विषयमा निको भएका व्यक्ति द्विविधामा परेका छन्।
१४ दिनपछि कोरोना परीक्षण नगरी स्वतः डिस्चार्ज भएका व्यक्तिले प्लाज्मा दान गर्न मिल्छ कि मिल्दैन वा कस्तो अवस्थामा दान गर्न सकिन्छ भन्ने विषयबारे जानकारी नहुँदा धेरैमा अलमल भएको हो।
ब्लड ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञ डा विपिन नेपालले कुनै पनि संक्रमितको १४ दिनमा पिसिआर परीक्षण गरेको छैन भने ती संक्रमितले २८ दिनपछि मात्र प्लाज्मा दान गर्न सक्ने बताए।
‘जब सरकारले १४ दिनपछि लक्षण नभएका संक्रमितलाई पिसिआर नगरी डिस्चार्ज गर्ने भन्यो त्यसपछि हामीले प्रोटोकल परिमार्जन ग¥यौँ,’ उनले भने, ‘प्रोटोकलमा पिसिआर गराएर नेगेटिभ आएकाको हकमा नेगेटिभ रिपोर्ट आएको १४ दिनपछि र यदि पोजेटिभ आएको १४ दिनमा परीक्षण नगरी डिस्चार्ज भएको छ भने २८ दिनपछि प्लाज्मा दान गर्न सकिने व्यवस्था गरेका छौँ।’
प्रोटोकल अनुसार कुुनै संक्रमित १४ दिनमा पिसिआर परीक्षण नगरी डिस्चार्ज भएमा उनले २८ दिनपछि प्लाज्मा दान गर्न सक्नेछन्। तर प्लाज्मा दान गर्दा पोजेटिभ आएको अन्तिम पटकको रिपोर्ट आवश्यक पर्छ।
‘यदि कुनै संक्रमितको पोजिटिभ आएको केही दिनमा पिसिआर गर्दा पुनः पोजिटिभ आयो भने पछिल्लो रिपोर्टलाई आधार मानेर प्लाज्मा दान गर्न मिल्ने वा नमिल्ले समय गणना गरिन्छ,’ डा नेपालले भने।
पछिल्लो समय भने प्लाज्मा दान गर्दा निको भएको बिरामीको शरीरमा एन्टिबढी टाइटल विकास भएको छ, छैन हेर्न थालिएको छ।
हरेक एक हप्तामा निको भएको व्यक्तिले रगत दान गर्न सक्छ। तर एक पटक दान गरेको ३ महिनापछि मात्र रगत दान गर्न सक्ने व्यवस्था सरकारले गरेको छ।
ब्लड ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञ डा नेपाल भन्छन्, ‘पछिल्लो एक महिनादेखि हामीले निको भएको व्यक्तिमा एन्टिबडी टाइटल हेरेर मात्र प्लाज्माथेरापी गर्ने गरेका छौँ,’ उनले थपे, ‘सुरुवातमा हामीले एन्टिबडी टाइटल हेर्ने गरेका थिएनौं। त्यसले के देखायो भने लक्षण नभएका १०० मध्ये ५० प्रतिशतको त एन्टिबडी बनेकै रहेन छ। जसको कारण प्लाज्मा चढाएको बालुवामा पानी खन्याएजस्तै भयो। त्यो भएर अहिले एन्टिबडी टाइटल राम्रो छ भने मात्र दिने गरेका छौँ।
उनले नेपालमा प्लाज्मा थेरापी क्लिनिकल ट्रायलले ५० प्रतिशत प्रभाव देखाएको बताए।
गम्भीर कोभिड–१९ बिरामीलाई प्लाज्मा थेरापी र रेम्डिसिभिर चलाउँदा फाइदा भएको तर केही केसमा काम नगरेको देखिएको उनको भनाइ छ।
प्लाज्माथेरापी कत्तिको प्रभावकारी भइरहेको छ कोभिड–१० का बिरामीको उपचारमा भन्ने अन्तिम रिपोर्ट तयार भइरहेको भन्दै अबको केही दिनमा जानकारी हुने उनले बताए।
हरेक एक हप्तामा निको भएको व्यक्तिले रगत दान गर्न सक्छ। तर एक पटक दान गरेको ३ महिनापछि मात्र रगत दान गर्न सक्ने व्यवस्था सरकारले गरेको छ।
तर, स्तनपान गराइरहेका महिला, गर्भवती, सुत्केरीले भने प्लाज्मा दान गर्न मिल्दैन। त्यसबाहेक महिनावारी भएका समयमा पनि प्लाज्मा दान नगर्न चिकित्सकले सुझाव दिएका छन्।
डा नेपाल भन्छन्, ‘महिनावारी भएका महिलाले प्लाज्मा वा रगत दान गर्न नमिल्ने होइन। अन्तर्राष्ट्रिय गाइडलाइनमा महिनावारी भएपछि दान गर्न फरक पर्दैन तर नेपालका अधिकांश महिलामा आइरस डिफेसेन्सी हुने धेरै समस्या छ। दान गर्दा झन् कमजोरी हुनसक्ने भएकाले कम्तीमा ५ दिन नगर्न सल्लाह दिइएको हो।’