फिचर

अर्को बेडको संक्रमित छट्पटाएको देख्दा छोरालाई दिएको वचन पूरा गर्न सकिँदैन कि भन्ने लाग्यो

डा कमल नेपाल  

कोरोना भाइरस संक्रमण फैलिएको एक वर्ष पुगेको छ। विश्व नै कोरोनाबाट त्राहिमाम भएका बेला पछिल्लो समय कोराना भाइरस नियन्त्रणका लागि खोपको विकास सफलता उन्मुख भइरहेका सुखद समाचार पनि सार्वजनिक भइरहेका छन्।

तर, खोप आम नागरिकको पहुँचमा कहिले आउँछ, त्यसको टुंगो छैन। त्यसकारण पनि खोपले आशा जगाए पनि कोरोनाको त्रास भने उस्तै छ। 

यो विषम परिस्थितिमा कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका स्वाथ्यकर्मी तथा सुरक्षाकर्मी झनै  जोखिममा छन्। नेपालमा पनि कोरोना संक्रमितको उपचारमा खटिएका कयौं नर्स, चिकित्सक, स्वास्थ्यकर्मी संक्रमित भएका छन्। 

सुरुदेखि नै कोरोना संक्रमितको उपचारमा खटिएका सशस्त्र प्रहरी बल अस्पतालमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक डा कमलराज नेपाल पनि दसैंमा कोरोना संक्रमितको उपचारमा खटिँदा आफैं संक्रमित हुन पुगे। 

अहिले उनी अस्पतालमा उपचारत छन्। डा नेपालले आफू संक्रमित हुँदाको क्षण स्वास्थ्य खबरपत्रिकालाई यसरी सुनाएः 

मेरो परिवारमा श्रीमती, दुई वर्षको छोरो र वृद्ध बुबाआमा हुनुहुन्छ। नेपालमा कोरोना संक्रमितको उपचार सशस्त्र प्रहरी बल अस्पतालले सुरु गरेदेखि नै म संक्रमितको उपचारमा खटिएको छु। त्यो बेलादेखि नै धेरैजसो समय अस्पतालमा नै बिताउँदै आएको छु। दसैंमा ड्यूटी परेको थियो। म ड्युटी आउने दिनमा दुई वर्षे छोरोले ढोकामा बसेर तोतेबोलीले छिटो आउनु बाबा भनेर रोइरहेको थियो।

छोरालाई ड्युटी सकिने बित्तिकै घर फर्किने वचन दिएर घरबाट निस्किएँ तर हालसम्म प्रत्यक्ष रूपमा भेट्न पाएको छैन। दसैंसँगै म तेस्रो पटक कोरोना संक्रमितको सेवामा खटिएको थिएँ। यो अवधिमा धेरै जना संक्रमितलाई निको बनाएर घर पठाइएको अनुभव मसँग छ। 

हरेक पटक ड्युटी  सिद्धिएपश्चात् नियमानुसार १४ दिन क्वारेन्टाइन बस्नुपर्ने हुन्छ। तेस्रो पटकको ड्युटी सकेर क्वारेन्टाइनमा बसेको थिएँ। त्यही बेलामा एक्कासि मलाई सुक्खा खोकी, मांसपेसी दुख्ने, ज्वरो आउने समस्या देखियो। पिसिआर परीक्षण गर्न स्वाब दिएँ।  रिपोर्टमा कोरोना पोजेटिभ आयो। 

कोरोना पोजेटिभ र लक्षण देखिएको हुनाले मलाई तुरुन्त सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा भर्ना गरियो। 

पहिलो दिन 
केही समय अगाडि पिपिई लगाएर छिरेको वार्डमा आज म स्वयं संक्रमित भएर आइसोलेसन बेडमा बसेको छु। भर्ना भएको पहिलो दिनमा आफ्नो बेडको साइडको अर्को बिरामी शरीरमा अक्सिजनको मात्रा नपुगेर छट्पटाइरहेको देख्दा निकै नरमाइलो लाग्यो। कतै मैले छोरालाई दिएको वचन पूरा गर्न नसक्ने पो हुँ कि भनेर त्रासको भावना सिर्जना भयो।

बिरामीको सेवा गर्न भनेर मैले गरेको अथाह मिहिनेत कतै टुट्ने हो कि भन्ने डर लाग्यो। तर मन दह्रो बनाएँ। आत्मविश्वास कमजोर हुन दिइनँ। मभित्र देश र जनताको सेवा गर्ने ढुकढुकी बाँकी नै छ भन्ने सोचें। आफैंले उपचार गरेर धेरै व्यक्ति निको भएर घर फर्किंदा उनीहरुले मलाई आशिर्वाद दिएका थिए। त्यो आशिर्वाद मलाई लाग्छ भन्ने सोचें। सोच्दासोच्दै निदाएछु। 

सुरुको केही दिन त रुघाखोकी, ज्वरोले थला नै पार्‍यो । रगत परीक्षण, छातीको एक्स–रे, सिटी स्क्यान गर्दा सामान्य निमोनिया देखियो। त्यसपछि अस्पतालका अनुभवी डाक्टरहरुको सल्लाह अनुसार नशाबाट आवश्यक औषधि सुरु गरियो। औषधि सुरु गरेको केही दिनमै शरीरमा अलि सहजता महसुस हुन थाल्यो। मन अलिकति ढुक्क भयो। मनमा आशाका लहराहरु सल्बलाउन थाले। मलिन भएको मेरो अनुहारमा केही चम्किला किरण थपिएको अनुभूति हुन थाल्यो।  

आज अस्पतालको शय्यामा बसेको पनि १३ दिन भयो, अहिले मेरो स्वास्थ्य सुधार उन्मुख छ। घरपरिवारबाट टाढा भएको त महिनौं कटिसकेछ। देशमा म लगायत सबै स्वास्थ्यकर्मीको अवस्था यस्तै नै छ। न त दसैं छ, न तिहार। न त परिवारसँग साथमा बस्ने अवसर नै। तैपनि बिरामी देश र जनतालाई निको पार्ने जिम्मेवारी हामीमा छ। र, हामी त्यसमा दृढ छौं। 

अहिले अस्पतालको बेडबाट मलाई माया गरेर स्वास्थ्य लाभको कामना गर्नुहुने आमाबुबा लगायत सम्पूर्णलाई सम्झन चाहन्छु।

यस्तो अवस्थामा कत्ति पनि विचलित नभई छोराको देखभाल गर्दै बारम्बार मलाई हौसला र माया प्रदान गरिरहेकी जीवन संगिनीलाई सम्मान गर्न चाहन्छु।

मेरो उपचारमा प्रत्यक्ष रुपमा संलग्न यसै अस्पतालका वरिष्ठ फिसिसियन डा रोशनकुमार झा लगायत सम्पूर्ण टिमप्रति आभारी छु। 

अब केही दिनको हस्पिटल बसाइपछि पिसिआर टेस्ट गरेर नेगेटिभ आएपछि घर जानेछु। घरमा गएपछि पनि स्वास्थ्य सम्बन्धी सावधानी अपनाउने छु। घरमा केही दिन आराम गरेर नयाँ ऊर्जाका साथ पुनः बिरामीको सेवामा फर्कने योजना बनाएको छु। 

म सम्पूर्ण आमनागरिकलाई अपिल गर्छु कि, कोरोनालाई हेलचेक्र्याईं नगर्नूस्। आवश्यक सावधानी अपनाउनूस्। रोग नै लाग्न नदिनु नै बुद्धिमानी हुन्छ। यदि कोरोनाको लक्षण देखा परिहालेमा स्वस्थ्यकर्मीसँग तुरुन्त सल्लाह, सुझाव लिनुहोला। आत्मबल दह्रो बनाउनुहोला। हामी सबै मिलेर कोरोनालाई पराजित गर्नु छ। 

प्रस्तुतिः सिर्जना खत्री
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने