काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम र व्यवस्थापनका लागि स्थानीय तहलाई सहभागी गराउन ‘कोरोना रोकथाममा, समूह टोलटोलमा’ समुदायस्तरमा कोभिड सहजीकरण समूह परिचालन सम्बन्धी मार्गनिर्देशन जारी गरेको छ।
मन्त्रालयले काठमाडौं उपत्यका लगायत अन्य प्रमुख व्यापारिक केन्द्रहरु रहेका जिल्लामा संक्रमण उच्च स्तर फैलिएको भन्दै संक्रमण नियन्त्रणमा समुदायको सहभागिता बढाउन मार्ग निर्देशन ल्याइएको स्पष्ट पारेको छ।
मन्त्रालयले संक्रमण अन्य जिल्लामा समेत फैलन सक्ने भन्दै समुदायको सहभागितामा रोग रोकथाम तथा नियन्त्रणका क्रियाकलाप गर्न अत्यावश्यक भएको जनाएको छ।
समुदाय स्तरमा क्वारेन्टिन तथा आइसोलेसनमा बस्ने व्यक्तिहरुले मापदण्डको पालना गर्न उत्प्रेरित तथा निगरानी गर्नु र कोभिड–१९ का बारेमा जनचेतना फैलाएर समुदायस्तरमा जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न सहजीकरण गर्ने उद्देश्यले मार्ग निर्देशन जारी गरेको पनि जनाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले कोरोना संक्रमण भई होम आइसोलेसनमा बसेका संक्रमितको निगरानी, अन्य आइसोलेसनमा बसेका व्यक्तिको व्यवस्थापन गर्न असहज भएपछि स्थानीय तहलाई सहभागी बनाई हरेक वडामा कोभिड सहजीकरण समूह गठन गर्ने नीति लिइएको बताए।
प्रमुख विशेषज्ञ श्रेष्ठको संयोजकत्वमा बनेको कार्यदलले पहिलो चरणमा काठमाडौं उपत्यका पालिकाहरुमा समूह गठनको कार्य भइरहेको छ।
उनले भने, ‘हरेक दिन कोरोना संक्रमितको सख्ंया बढिरहेको छ। होम आइसोलेसनमा बस्ने संक्रमितको स्वास्थ्य कस्तो भन्ने थाहा हुन सकेको छैन। त्यसको निगरानी र व्यवस्थापनमा स्थानीय पालिकाको भूमिका महत्वपूर्ण हुने भएकाले यस्तो कार्य गर्न लागिएको हो।’
निर्देशिकामा उल्लेख भएअनुसार हरेक टोलमा कम्तीमा एउटा समूह गठन गरिने छ। एक समूहले बढीमा ५० घरको निगरानी गर्नुपर्ने छ। सोभन्दा बढी भएमा हरेक ५० घरका लागि अर्को समूह गठन गरिने छ।
समूह टोल विकास/सुधार समितिमार्फत परिचालन गरिने छ भने उक्त समिति नभएको अवस्थामा अन्य संगठित संस्थाहरु (क्लब, उपभोक्ता समितिहरु, गुठी) मार्फत परिचालन गरिने छ।
आवश्यता अनुसार महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक परिचालक, शिक्षक, स्वास्थ्यकर्मी, स्थानीय क्लब, आमा समूह तथा गुठीका सदस्यहरु प्राथमिकताका आधारमा समावेश गर्नुपर्ने छ।
हरेक समूहमा कम्तीमा ५ जना स्थानीय सदस्य रहने छन्। आवश्यकता अनुसार समूहमा थप परिचालन गर्न सकिने छ। त्यसैगरी, यी समूहको गठन, परिचालन तथा निगरानी टोल विकास÷सुधार समिति वा सम्बन्धित संस्थाले वडा अध्यक्षको प्रत्यक्ष निर्देशन तथा अनुगमनमा गर्नुपर्ने छ।
समूहको जिम्मेवारी
- कोभिड–१९ संक्रमित तथा निजहरुको निकट सम्पर्कमा आएका व्यक्तिहरुको अद्यावधिक विवरण राखी उनीहरुलाई आवश्यकता अनुसार स्वास्थ्य परामर्श दिने, आवश्यक सहयोग उपलब्ध गराउने, स्थानीय तह तथा परीक्षण केन्द्रहरुमा सम्पर्क गर्न आवश्यक सहयोग गर्ने।
- क्वारेन्टाइन/आइसोलेसनमा बसे–नबसेको अनुगमन गर्ने, स्वक्वारेन्टाइन, होम÷होटल आइसोलेसनमा बसेका व्यक्तिहरुलाई आवश्यकता अनुसार स्वास्थ्य सम्बन्धी जानकारी उपलब्ध गराउने तथा परामर्श दिने कार्य गर्नुपर्ने छ।
- संस्था क्वारेन्टाइन/आइसोलेसन आवश्यक पर्ने व्यक्तिहरुको पहिचान गरी नगरपालिकासँग समन्वय गर्ने, स्वक्वारेन्टाइन, होम÷होटल आइसोलेसनमा बसेका व्यक्तिहरुलाई तोके बमोजिमको अन्तरालमा फलोअप गर्ने र तोकिएका फारामहरुमा सूचना अद्यावधिक गर्न कन्ट्याक्ट टे«सिङ समूहलाई सहयोग गर्ने।
- महामारी विरुद्धको अभियानमा स्थानीय संघसंस्था, क्लब शिक्षकहरु, गुठी–टोल सदस्यहरु तथा स्वयंसेवक पहिचान गरी परिचालन गर्ने।
- टोलमा कोभिड–१९ सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, भौतिक दूरी, घर बाहिर मास्कको अनिवार्य प्रयोग, सार्वजनिक स्थानमा हातको सरसफाइ लगायत सरकारले तोकेका जनस्वास्थ्यका मापदण्ड पालन भए–नभएको अनुगमन गर्ने र कार्यान्वयनमा लागि अवाश्यक प्रबन्ध मिलाउने।
- टोलमा अनावश्यक भीडभाड र भेला नगर्न सचेत गराउने, बढी भीडभाड हुने स्थान र समयमा अनुगमन गर्ने।
६० वर्ष माथिका जेष्ठ नागरिक, दीर्घरोगीहरु (दम, क्यान्सर, मुटु, श्वासप्रश्वास सम्बन्धी समस्या) भएका व्यक्तिलाई घर बाहिर नजान र जानैपर्ने भएमा अनिवार्य मेडिकल मास्क प्रयोग गर्ने र आवश्यकता अनुसार सहजीकरण गर्ने कार्य गर्नुपर्ने छ।
जिम्मेवारी तथा अनुगमन
समूहको क्रियाकलापको गतिविधि तथा अन्य चुनौतीको नियमित प्रतिवेदन सम्बन्धित वडा अध्यक्षलाई गर्नुपर्ने छ।
समूहले स्थानीय तहमा समाधान गर्न नसकिने विषयहरु वडाअध्यक्ष वा सम्बन्धित पालिकाले स्वास्थ्य संयोजकसँग समन्वय गर्नुपर्ने छ।
समूहको गठन तथा परिचालनका लागि आवश्यक सहजीकरण गर्ने जिम्मेवारी स्थानीय तहको हुनेछ।
स्थानीय तहले वडा अध्यक्षको सहयोगमा कार्य प्रगतिको निमित अनुगमन गर्नुपर्ने छ।
स्थानीय तहले वडा अध्यक्षको सहयोगमा कार्य प्रगतिको नियमित अनुगमन गर्नुपर्ने छ।
वडा अध्यक्षहरुले कार्य प्रगति तथा अन्य चुनौतीहरुको नियमित समीक्षा गरी स्थानीय र पालिका स्तरमा समाधान गर्ने। विषयहरु पालिका प्रमुख र स्वास्थ्य संयोजकलाई जानकारी गराउने।
प्राविधिक जानकारी सम्बन्धमा
स्वास्थ्य मन्त्रालयले प्रदेश सरकार तथा स्थानीय पालिकाबाट प्राविधिक जनशक्तिले तालिम तथा अन्य आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने छ।
यसका अतिरिक्त कोभिड–१९ का लागि तोकिएका ११३३ र १११५ टोल फ्री लगायत अन्य कल सेन्टरमा सम्पर्क गरी थप जानकारी वा व्यस्थापकीय पक्षहरुमा सहयोग लिन सकिने व्यवस्था मन्त्रालयले गरेको छ।